हिउँद भर्खरै शुरू भएको छ। मानिस खेतबारीको काम सकेर केही फुर्सदिला भएका छन्। कोरोनाको डर बाँकी नै छ तर थोरै मानिस मात्र डराए झैं गर्दछन्।
पारि उहिले राजा महेन्द्रले फोटो खिचेर एक रुपैयाँ राखेको अजङ्गको चङ्खेली देखिन्छ। तल निलो मुगु कर्णाली बगिरहेको छ। वागमतीमा फोहोर गर्ने हामीलाई यस्तो दृश्यले चाहिं धेरै मन तान्छ।
बिहान करीब १० बजे गमगढीबाट खाना खााएर हामी ओरालो लाग्यौं। खोला हुँदै बजारसम्म आउने फराकिला सडकहरू भर्खरै खनिएका छन्। तलबाट आउँदै गरेको एउटा जीपले उडाएको धूलोले सडक छेउमा खेल्दै गरेका बच्चाहरूलाई छपक्कै छोपेर गयो। हामी नजिकै पुग्दा उनीहरू लजाउँदै धूलो पुछ्दै हामीलाई नियाल्दै थिए।
अलि अगाडि पुगेपछि एउटा मोडबाट माथि गमगढी बजारको लागि ढलान गरेको ढल निकास तल खोलासम्म लगेको भेटिन्छ। अब यही बाटो भएर गमगढीवासीले छिट्टै आˆनो फोहोर खोलातिर बगाउने छन्। मनमा कता कता बिझाउँछ ! नयाँ र आधुनिक भनिने समयमा पनि हामीले यस्तो विकास किन पछ्याउँदैछौं ?