गण्डकी क्षेत्रमा फेरि फैलियो सेतो पुतली आतङ्क (भिडियो)

गण्डकी प्रदेश र आसपासका जिल्लामा सेतो पुतलीको झुस आँखामा परेपछि पीप जमेर आँखाको ज्योति नै गुम्न सक्ने डरलाग्दो यो रोगको त्राश यस वर्ष पनि फेरि फैलिएको छ।

हरेक दुई वर्षको अन्तरमा देखिँदैआएको उक्त रोगलाई डाक्टरहरुले चिन्ने गर्छन्– ‘सापु’का बिरामी भनेर।

कास्की, म्याग्दी र बागलुङ लगायतका क्षेत्रमा अहिले सेतो पुतली आंतक बढेको हो। अहिलेसम्म सापु के कारण हुन्छ ठ्याक्कै पत्ता नलागे पनि सेतो पुतली नै मुख्य कारण देखिएको छ। बिजुली बत्ति अघि झुम्मिने सेतो पुतलीको झुस आँखामा पसेपछि बिस्तारै पीप जम्न थाल्छ। २४ घण्टा भित्रमा उपचार नपाए बिस्तारै आँखाको ज्योति नै गुम्छ। 

हिमालयन आँखा अस्पतालकी डाक्टर इलिया श्रेष्ठले केही दिनयता सापुका बिरामी बढेको जानकारी दिइन्। अस्पतालमा अहिलेसम्म ३० जना सेतो पुतलीका बिरामी आएकोमा ४ जनाले आँखाको ज्योति नै गुमाएको उनले सुनाइन्।

‘अगस्ट २९ मा बेनीबाट राती ११ बजे एक जना भाईलाइ लिएर आउनुभएको थियो। पहिलो बिरामी। सेतो पुतलीको झुस पसेको ४ दिनपछि, एकदमै दुखाई लिएर आउनु भएको थियो,’ उनले भनिन्, ‘आँखा एकदम रातो भएको थियो, मैले नै उहाँको ट्रिटमेन्ट गरेको थिएँ। तर, उहाँको आँखाको ज्योती फर्काउन सकेनौँ।’ 

पछि ति बिरामी थप उपचारका लागि काठमाडौं पुगेको उनले सुनाइन्। सेतो पुतलीको झुस पसेको २४ घण्टा भित्रमा उपचार नगरे कही गए पनि उपचार सम्भव नहुने उनले सुनाइन्। यो सिजनमा मात्रै ४ जना ढिला गरि आउने बिरामीले आँखाको ज्योती गुमाएको अस्पतालको रेकर्डमा छ।

अस्पतालकी कार्यवाहक मेडिकल निर्देशकसमेत रहेकी श्रेष्ठ सेतो पुतलीको झुस आँखामा पर्नेबित्तिकै उपचार पाए सापुबाट जोगिने बताउँछिन्। ‘सेतो पुतलीसँगै यो रोग देखिने भएकाले हामीलाई यो सेतो पुतलीले नै गर्दा यो रोग भएको हो कि भन्ने भान हुन्छ। तर, यो वर्ष सेतो पुतलीको झुस आँखामा परेको तर, सापु नभएको बिरामी पनि हामीकहाँ आएको छ,’ उनले भनिन्।

 सापु हुँदा के हुन्छ ?

आँखा रातो हुने, आँखा सुक्ने, उज्यालोमा हेर्न कठिन हुन्छ। सुरुमा दुखाइ हुँदैन। उपचारमा ढिला हुदा आँखामा पीप जम्ने अनि आँखा सुक्ने गर्छ। समयमा उपचार नभए आँखाको दृष्टिसमेत गुम्छ।

सापुको समयमै उपचार पाए निको हुने भए पनि ढिलाई गरेर आउनेहरु पनि छन्। हरेक दुई दुई वर्षमा सापुका बिरामी भेटिए पनि पछिल्लो केही वर्ष यता भने लगातार सापुका बिरामी देखिएका छन्। भदौ, असोज, कात्तिकदेखि मंसिरसम्म बिजुली बत्तिको बल्बअघि आउने सेतो पुतलीले देखिन्छन्। तीनै पुतलीको झुस आँखामा पस्दा सापु हुने खतरा बढ्छ।

कम उमेरका देखि ६५ वर्ष उमेरका बिरामी सेतो पुतलीको समस्या लिएर अस्पताल आएका छन्। सेतो पुतलीको झुस आँखामा पसेको २४ घण्टा भित्रमा उपचार पाए पूरै निको हुन्छ भने थाहा पाएको बढीमा ४८ घण्टाभित्र अस्पताल पुग्नुपर्छ। सिधै आँखामा पुतली नबसे पनि पुतलीको झुस खसेको कपडाबाट वा हातले छोइएर आँखामा सापु लाग्न सक्छ।

यो रोगले मानिसको एउटा आँखामा मात्र लाग्छ। दायाँ अथवा दायाँ जुनसुकै आँखाको ज्योती यो रोगका कारण गुम्न सक्छ।

४४ वर्षअघि पोखराको लामाचौरबाट भेटिएको रोग गण्डकी र आसपासका जिल्लामा देखिने गर्छ। लुम्बिनी प्रदेशको गुल्मी र सुदुरपश्चिमका केही जिल्लामा पनि यो रोगका केही मात्रामा बिरामी देखिए पनि यो रोगका बिरामी बढी मात्रामा गण्डकी प्रदेशमै देखिने गर्छन्।  ०३२ मा पहिले पटक १६ वर्षमुनिका बालबालिकामा यो रोग देखिएको सबै सेतो पुतलीको झुसले सापु नहुने भए पनि सेतो पुतलीको झुसबाट सापु हुने चिकित्सकहरु बताउँछन्। ३ सय भन्दा बढी प्रजातीका सेतो पुतलीमध्ये सेतो पुतली हुन्छन्। बिजुली बत्तिको सेतो बल्ब नजिक यि बढी झुम्मिन्छन्। 

प्रकाशित मिति: : 2021-09-14 18:54:00

प्रतिकृया दिनुहोस्