विभूषण वितरणमा विकृति : यो वर्ष पनि पाँच सयभन्दा बढीको सूची

विभूषण वितरणमा हुँदै आएको विकृतिले यो वर्ष पनि निरन्तरता पाउने भएको छ।

संविधान दिवसको अवसरमा घोषणा हुने राज्यकै ठूलो सम्मान विभूषण सरकारले तजबिजीकै आधारमा ठूलो संख्यामा वितरणको तयारी गरेको हो। गृह मन्त्रालय स्रोतका अनुसार विभूषण पाउने व्यक्ति छनोट अन्तिम चरणमा पुग्दा सूची पाँच सयबाट नाघेको छ। निश्चित मापदण्डभन्दा सत्तानिकट व्यक्तिको पहुँचकै आधारमा विभूषण वितरणको तयारी भइरहेको छ।

हरेक वर्ष ठूलो संख्यामा विभूषण वितरण हुँदा एकातर्फ यसको ओज घट्दो छ भने अर्काेतर्फ राज्यमाथि आर्थिक भार थपिँदै गएको छ। गत वर्ष पाँच सय ९४ जनालाई विभूषण वितरण हुँदा करिब १२ करोड रुपैयाँ खर्च भएको थियो।

पछिल्लो चार वर्षयता हरेक वर्ष पाँच सयभन्दा धेरैलाई विभूषण वितरण हुँदै आएको छ। यो वर्ष पनि पाँच सयभन्दा धेरैलाई विभूषण दिने गृहको तयारी छ। सिफारिस समितिले त्यसबारे छलफल गरिरहेको र कति संख्यामा दिनेबारे आफूलाई जानकारी नभएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल बताउँछन्।

सरकारका वरिष्ठ मन्त्री गृहमन्त्री बालकृष्ण खाणको नेतृत्वमा विभूषण सिफारिस समिति छ। दुई साताअघि बसेको मन्त्रिपरिषद्को बैठकले समितिमा ६ जना स्वतन्त्र सदस्य नियुक्त गरेको थियो।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति भूषण श्रेष्ठ, त्रिभुवन विश्वविद्यालयका पूर्वरजिस्ट्रार गोविन्दप्रसाद शर्मा, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, उद्योगी कुशप्रसाद मल्मी, नेपाली सेनाका अवकाशप्राप्त उपरथी नरबहादुर कँडेल र इन्जिनियर ओमप्रकाश महतो समितिका सदस्य छन्। समितिको सदस्यसचिवमा गृह मन्त्रालयका सचिव रहने प्रावधान छ।

प्रकाशित मिति: : 2021-09-14 09:51:00

प्रतिकृया दिनुहोस्