टिकटकलाई ठिकठाक

नागरिक दैनिक

गुणराज लुइँटेल

अचेल छोटा भिडियो प्रस्तुत गर्ने सामाजिक सञ्जाल टिकटकले हाम्रा नेताको बोली र व्यवहारको समेत खुलासा गरिरहेका छन्। विशेष गरी युवा पुस्ता यसैमार्फत तिनका बोली र व्यवहार बुझिरहेका छन्।  

पूर्ववर्ती प्रधानमन्त्री केपी शर्मा ओलीका तत्कालीन सल्लाहकारको एउटा अन्तर्वार्ता अहिले ‘भाइरल’ भइरहेको छ। उनले त्यसमा भनेका छन्– एमसिसी (अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन) बाट कसरी राष्ट्रघात हुन्छ ?... के बिजुलीको तारबाट झुण्डिएर अमेरिकी सेना आउँछ ?’  

अमेरिकी सहयोगमात्र होइन, चिनियाँ, भारतीय र अन्य सहयोग पनि यसै गरी लिने गरेको उनले बताएका छन्। यी त भए सल्लाहकारका कुरा। प्रधानमन्त्री भएकै बेला ओलीले निरन्तर एमसिसी पारित गर्नुपर्ने बताएका थिए। त्यतिमात्र होइन, तत्कालीन सभामुख कृष्णबहादुर महरा र वर्तमान सभामुख अग्निप्रसाद सापकोटाका कारण यो संसद्मा टेबुल हुन नसकेको उनले सार्वजनिक गरिसकेका छन्।  

एमसिसी परियोजना संसद्बाट पारित गर्नुपर्छ र पर्दैन भन्ने विवादमा मुलुक गुज्रिरहेको छ। त्यसमा पनि यसका उपाध्यक्ष फतिमा सुमारको बिहीबारदेखि भइरहेको नेपाल भ्रमणले यसलाई थप चर्चामा ल्याएको छ। उनले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा (एस) अध्यक्ष माधवकुमार नेपाललगायतका नेतालाई भेटिसकेकी छन्।  

प्रकाशित मिति: : 2021-09-12 09:19:00

प्रतिकृया दिनुहोस्