दुई वर्ष पुग्न आँट्यो, संसारभरका मान्छे उकुसमुकुसिएको। मानिसले खुल्लमखुला घुमफिर र चाहेजसो गर्न नपाएको। अर्थात्, मान्छेले वास्तविक स्वतन्त्रताको पूर्ण उपभोग गर्न नपाई संकुचित घेरामा बस्नुपरेको। विश्वव्यापी महामारी कोरोनाभाइरस (कोभिड–१९) यसको कारण।
‘मै हुँ’ भन्ने यो प्राणी मनलागी गर्न र आफूखुसी हिँडडुल गर्न नपाएका कारण पखेटा काटिएको चराझैँ भएको छ। र, एक प्रकारले भन्नुपर्दा आफ्नो सेखी झरेको महसुस गरिरहेको छ।
त्यसो त हिँड्ने, डुल्ने, खाने, पिउनेहरू हिँडेका, डुलेका र खाइपिई रमाएका नै छन्। तिनमा कुनै प्रभाव परेको छैन। देश–विदेश सयर पनि चलेकै छ।
तर, डराउने डराएकै छन्। खुम्चिएकै छन्। गुम्सिएकै छन् !
मान्छेसँगै टाढा रहनुपर्ने र आफ्नो ज्यानको लागि आफूजस्तै मान्छेबाट पर रहनुपर्ने यस्तो दिन पनि आउला भन्ने कसले पो सोचेको थियो र ?