बेलका नगर यातायात– राजधानीको चक्रपथ परिक्रमा गर्ने बसको नाम हो यो। बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म चक्रपथमा गुड्ने यो बसको ढोकामा महिला सहचालक (‘कन्डक्टर’) उभिएकी हुन्छिन्। उनी यात्रु चढाउँछिन्। उत्रनेसँग भाडा उठाउँछिन्।
बस जहाँ रोकिन्छ उनी यात्रु डाक्छिन्– चाबहिल–गौशाला–एयरपोर्ट, कोटेश्वर, सातदोबाटो.....। उनको ड्युटी नै हो यो। उनको बोलाउने नाम हो– सम्झना। खासमा उनी ३४ वर्षीया स्यानम्याङ शेर्पा हुन।
खासमा सार्वजनिक बसमा सहचालकको काम केहीअघिसम्म पुरुषहरुको मात्र थियो तर अहिले महिलाहरुले पनि यो काम गर्न थालेका छन्। सम्झनाका पति उक्त बसका ‘डाइभर’ हुन्– तेरी मगर। पति सम्झनाभन्दा १० वर्ष जेठा छन्।
पति तेरी मगर गाडी हाँक्छन्, पत्नी सम्झना भाडा उठाउँछिन्। पति तेरीको घर सुदूरपश्चिमको डोटी हो भने पत्नी सम्झनाको माइती चाहिँ सुदूर पूर्वको ताप्लेजुङ।
तेरी र सम्झनाबीच विवाह भएको चार वर्ष मात्र भयो। अनि उक्त बस उनीहरुले किनेको दुई वर्ष भयो। चक्रपथ परिक्रमा गर्ने बा ‘ख’ ५ (९२४) नम्बरको उक्त बसमै उक्त जोडी दिनभरि काठमाडौंमा फन्को मारिरहन्छ।
सम्झना घरकी जेठी सन्तान हुन्। उनका नौ जना भाइबहिनी छन्। १५ वर्षको उमेरमा पहिलोपल्ट काठमाडौ भित्रिएकी थिइन् उनी। त्यसपछि उनी निरन्तर काठमाडौंमै छिन्। ‘सुरुमा अरुको घरमा सहयोगी भएर बसेँ। बच्चा हेर्ने, घर सफा गर्ने, लुगा धुने, भाँडा माझ्ने सबै काम गर्नुपथ्र्यो। धेरै दुःख भयो। त्यो राम्रो लागेन र छाडी दिएँ। अनि गाडीमा काम गर्ने थालेँ,’ उनले भनिन्।
पतिपत्नी एकसाथ काम गर्छन्– दिनभर। एउटै पेशामा काम गर्न पाएकोमा खुशी छिन्– सम्झना। उनी दैनिक १३ घण्टा एकैनाशले गाडीमा यात्रु बोलाउँछिनु, अफ्नो गाडीको ‘रुट’ बताउँछिन्– बिहान ६ बजे ८ बजेसम्म। त्यसपछि विश्राम हुन्छ। दिनभरिमा छ पटकसम्म चक्रपथ परिक्रमा गर्ने उनले बताइन्।
तेरी चाहिँ १८ वर्षको उमेरमा भारत प्रस्थान गरेका थिए। उनले नेपालमै हुँदा गाडी चलाउन जानिसकेका थिए। भारतमा रहँदा दिन रात नभनी काम गर्थे।
आठ वर्षअघि नेपाल फर्के अनि फेरि काठमाडौंमा गाडी चलाउन थाले। गाडी चलाउने क्रममै उनको सम्झनासँग भेट भयो जो छोटो समयमै वैवाहिक सम्बन्धमा परिणत भयो।
‘पहिला भारतमा काम गर्न गएको थिएँ। समय त बित्यो तर कमाई हुन सकेन। त्यसैले बरु नेपालमै केही गर्नुपर्छ भन्ने लाग्यो र नेपाल फर्किएँ’, तेरी सम्झन्छन्, ‘नेपाल त आएँ तर आफूसँग कुनै सीप छैन। धेरै पढेको पनि छैन। त्यसैले किस्ताबन्दीमा गाडी किनेँ र चलाउन सुरु गरेँ।’
तेरीलाई पढ्न नपाएकोमा भने गुनासो छ। ‘मैले आठ कक्षापछि पढेको छैन, गाउँमा कहाँ स्कुल हुन्न्थ्यो र ! स्कुल जान त दुई घण्टा लाग्थ्यो। घरको काम पनि गर्नुपर्ने भएपछि पढ्न नै छाडिदिएँ।’
उता सम्झनाको पीडा पनि उस्तै छ। परिवारको कमजोर आर्थिक स्थिति र बाआमालाई पनि पढाउनुपर्छ भन्ने ज्ञान नहुदा उनले पढ्न पाइनन्। ‘आमाले साना–साना भाइबहिनी मेरो जिम्मामा छाडेर काम गर्न जानुहुन्थ्यो, बिहानदेखि काम गरेर बेलुका घर फर्किंदा मेलामा अरुले खान दिएको खाजा ल्याएर हामीलाई दिनुहुन्थो। कहाँ कसरी पढ्नु मैले?’, पुराना दिन सम्झँदा उनी दुःखी भइन्।
सम्झनालाई लाग्छ– आफ्ना आमाबालाई पढनुपर्छ भन्ने ज्ञान भएको भए पनि आफूहरुले पढ्न पाउँथ्यौँ होला। भन्छिन्, ‘तर बाआमा आफैँले पनि त पढ्नुभएको थिएन।’
आफूलाई पढ्ने इच्छा हुँदाहुँदै पनि पढ्न नपाएकोमा भने उनलाई गुनासो छ। उनले भनिन्,‘के गर्नु, बाआमाले काम नगरे हामीले खान त पाइँदैनथ्यो। अनि कसरी पढ्नु ?’
आफू नपढे पनि भाइबहिनी पढाउनुपर्छ भन्ने थाहा थियो। त्यसैले उनी सानै भए पनि बाआमासँगै अरुको खेतबारीमा काम गर्न थालिन्। भाइबहिनीहरुको पढाइ खर्च जुटाउन थालिन्। यसले भाइबहिनी पढाउन सहज भयो।
पति–पत्नी दुवै जनाको पेशा एउटै छ। कोरोना भाइरस संक्रमणपछि भने उनीहरुको बस पनि सरकारी निर्णयबाट प्रभावित भएको छ। ‘पहिला त कति यात्री हुन्थे, गाडीमा अटाउन पनि हम्मे–हम्मे थियो। अहिले सीट भर्न त गाह्राे हुन्छ’, सम्झनाले भनिन्, ‘दिनभरि घाँटी दुख्ने गरी करायो, आम्दानी छैन। कसरी घरभाडा तिर्नु ?’, सम्झनाले भनिन्।
सम्झनाले अहिले त गाडीमा तेल हाल्न पनि मुस्किल पर्ने अवस्था आएको बताइन्। उनले भनिन्, ‘ट्राफिक पुलिसले यात्रु चढ्न गाडी रोक्दा त चिट काट्छ। पेट्रोल हाल्न पनि मुस्किल हुन्छ।’
गाडीको चालक सीटमा बसेका उनका पनि तेरीले थपे, ‘सरकारको निषेधाज्ञाले मारमा परेका छौँ। बिहानदेखि काम गरिन्छ तर रातमा घर जादा भने रित्तै जानुपर्छ, दिनभरिको कमाइले गाडीमा पेट्रोल हाल्न ठिक्क हुन्छ। गाडीको ऋणको किस्ता तिर्नैपर्याे। कहाँबाट तिर्नु? कमाइ त हुँदैन आजभोलि!’