'कहाँ गए म सचिव हुँदा दिनमा तीनचोटि नमस्कार गर्नेहरू?'

सेतोपाटी

कान्ति न्यौपाने

एकदिन काम विशेषले म मेरा आफन्तको घर पुगेकी थिएँ। सधैं जागिरको तनाव, कुदाकुद दौडधुपले कहिल्यै पनि बस्नै नभ्याउने। घरमा कुनै कार्यक्रम हुँदा आफन्तहरू जमघट भएका बेला पनि अफिस भन्दै खाना समेत राम्रोसँग नखाइ दौडिनुपर्ने। कुरा गर्ने, नजिक बस्ने त सम्भावनै नहुने।

यसरी कोहीसँग बोल्न कुरा गर्न नभ्याएपछि त आफन्तहरूलाई पनि मैले हेला गरेको, वा चासो नदिएको लाग्छ भन्ने लागेर अफिस नै बिदा लिएर म मेरी फुपूको घर गएँ।

पुस माघको जाडो महिना, बाहिर तुँवालो लागिरहेको थियो। चिसो सिरेटोले बाहिर निस्कनै मन नलाग्ने थियो। बिहान करिब ८ बजेतिर म फुपूको घर अर्थात् चाबहिलको मैजुबहाल पुगेकी थिएँ।

घरमा जम्मा दुई जना हुनु हुन्थ्यो- मेरो फुपू र ८४ वर्षीय फुपाजु। उहाँहरूका दुई छोरा र दुई छोरी नै युरोपियन देशमा हुनु हुन्थ्यो। छोराछोरी पनि कोही नभएर होला उहाँहरू दुवै जना मेरो औधी खोजी गर्नु हुन्थ्यो।

म पुगेपछि फुपूले हँसिलो मुद्रामा भन्नुभयो, 'कान्छी आज बल्ल बिदा मिल्यो है तिम्रो? कहिले नि भेट नहुने, कुरा गर्न नपाउने कस्तो जागिर गरेको! सानी अलिक सजिलो जागिर खोज। बरु मरेर पढ, सरकारी जागिर खाऊ। यो त भएन नि कान्छी। अलि ज्यानलाई पनि सुविधा हुन्छ।'

मैले थोरै मुस्कुराउँदै भनेँ, 'हो दिदी, तर मैले गरिरहेको पेसाप्रति मलाई गर्व छ। म छोड्न सक्दिनँ, नशा लागेको छ यो पेसाको। फेरि अर्को कुरा, चुनौतीका बीच गरेको कामबाट प्राप्त सफलताको मजा छुट्टै छ नि दिदी।'

तर उहाँको मन राख्दिन भनेँ, 'छिट्टै सजिलो जागिर खोज्छु दिदी।'

उहाँ मुसुक्क हाँस्दै किचनतिर छिर्नुभयो। म फुपाजुसँग कुरा गर्न थालेँ।

प्रकाशित मिति: : 2021-09-06 16:21:00

प्रतिकृया दिनुहोस्