कलम भनेर टिपेको चीज बम बनेर पड्किएला भनेर अनिताले सोचेकै थिइनन्। माघी पर्व मनाउन अघिलो दिन २०६३ पुष ३० गते दाङका थारू समुदायले सुंगुर काट्न थालेका थिए। अनिता सानो भाइलाई लिएर सुंगुर काटेको हेर्न गइन्। उनले बाटोमा एउटा कलमजस्तो चिज भेटाइन्। लेख्छ कि भनेर यसो हातमा कोरिन्। तर लेखेन। त्यतिबेला अनिता ६ वर्षकी थिइन्, कक्षा ३ मा पढ्थिन्।
बाटोमा भेटिएको डटपेनको मसी चिसोले जमेर नलेखेको हुन सक्ने उनले ठानिन्। अनिता डटपेन लिएर लमही नगरापलिका-२ बनकट्टास्थित घर गइन्। बाटोमा भेटिएको कमलको मसी पगाल्न अगेनामा राखेर तताउन थालिन्। कलम भए पो मसी पग्लनु। आगोले टिपेर कलम झ्यारझ्यार गर्न थाल्यो। अनिताले निभाउन खोजिन्, अचानक बिष्फोट भयो। बल्ल थाहा भयो, अनिताले बाटोमा भेटेको कलम रहेनछ, बम रहेछ।
बम पड्केर अनिताले दाहिने हात गुमाइन्। अगेनानजिकै उनका बाजे, बज्यै र दाइ पनि आगो ताप्दै थिए। बमको आवाजले उनका बाजे र बज्यै कान नसुन्ने भए। बाजे, बज्यै र दाइलाई पनि बमको छर्राले लाग्यो। त्यतिबेला अनिताको हातमा हड्डीमात्र बाँकी थियो। उनलाई कोहलपुर अस्पताल लगियो। क्यान्सर हुन सक्ने भन्दै पछि नेपालगञ्जमा उनको दाहिने हात काटियो। अहिले पोखरास्थित हरियो खर्क अस्पतालमा कृत्रिम हात राख्न लागेकी छिन्।