नेपालको भोजपुरी भाषी क्षेत्रलाई अन्न भण्डारको रुपमा आत्मसात् गर्न कुनै अतिशयोक्ति परोइन। वस्तुतः यस क्षेत्रको माटो मलिलो तथा उब्जाउ भएको कारणले धान, गहुँ, मकैजस्ता प्रमुख खाद्यान्न अत्यधिक उब्जनी हुन्छ। त्यसबाहेक मसुरो, केराउ, खेसरी, बकुल्ला, चना जस्ता दलहन खाद्यान्न र सस्र्यू, तोरी, आलस जस्ता तेलहन पनि प्रशस्त फल्छ।
आलु, प्याज, सिमी, मटरकोसा, बन्दा, काउली, भण्टा,मूला, विभिन्न खाले साग–सब्जी तथा फर्सी, लौका, घिरौँला, बोडी, झिँगुनी, परवल, खीरा (काँक्रो) जस्ता लहरामा फल्ने तरकारीहरु पनि प्रशस्त फल्ने गरेको पाइन्छ। यी जम्मै खाद्यान्न तथा तरकारीहरु मुख्यतः नेपालको प्रत्येक जिल्लाहरुमा वितरण हुन्छ।
हुन त यस क्षेत्रमा उखुको पनि राम्रो खेती हुने गर्दछ तर हालका दिनहरुमा यस क्षेत्रमा रहेको वीरगञ्जको सुप्रसिद्ध चिनी मील– वीरगञ्ज चिनी कारखाना नेताहरुको गलत नीति तथा ब्रह्मलूटको कारणले धाराशायी भई बन्द हुन पुगेकोले उखु खेती त्यति साह्रो हुँदैन। उखु खेतीको मात्रा दिनानुदिन न्यून हुँदै गइरहेको छ। विभिन्न ठाउँमा रहेका निजी खाँडसारी मीलहरुलाई आवश्यक पर्ने मात्राको मात्र उखु खेती गर्ने गरिएको पाइन्छ।
याे क्षेत्रको विशेष गरेर पर्सा जिल्ला गाँजा खेतीको लागि बदनाम हुनुमा प्रत्यक्ष रुपमा चिनी मील बन्द हुनु पनि एउटा मुख्य कारणको रुपमा लिन सकिन्छ। (पछिल्लो तीन दशक देखि यस क्षेत्रमा गाँजा खेती शून्यप्रायः छ)।
यस भेगका किसानहरुको लागि चिनी मील बरदानकै रुपमा रहेको थियो। किसानहरुको मुख्य समस्या खाद्यान्न उत्पादन मात्र नभई छोराछोरीको शिक्षादीक्षा, विवाह, व्रतबन्ध, मरण–हरणजस्ता सामाजिक, धार्मिक कामहरुको खर्च टार्नु थियो। यस्ता जिम्मेवारी सुगम सम्पादनका लागि नगदेबालीको रुपमा पहिले उखु खेती थियो।
उखु खेतीको विकल्पमा किसानले अन्य नगदेबालीको अपेक्षानुसार नै गा“जा खेतीतिर किसानहरु आकर्षित भए। अनि त्यस गाँजा खेती फस्टाएको, मौलाएको थियो भन्न सकिन्छ।
हिजो आज यस भेगका विशेष गरी विश्रामपुर, नगरदाँहा, भँवराटाड आदि गाउँपालिकाका किसानहरु नगदेबालीको विकल्पको रुपमा तरकारी बाली लगाउनेतर्फ हौसिएको देखेर अपार हर्षको अनुभव हुन्छ।
पुराना दिनहरुमा यस क्षेत्रमा जमिन्दारी प्रथा व्याप्त थियो। गाउँमा जमिन्दारहरु हुन्थे। गाउँ क्षेत्रको प्रायः जम्मै खेतीयोग्य भूमि उनीहरुकै स्वामित्वमा हुने गर्दथ्यो। वरिपरिका किसानहरु साली (वर्षको) को प्रारम्भदेखि नै कर्जामा धान लिन्थे जुन नयाँ बाली आउँने बेलामा सवा–गुणा थपिएर फिर्ता आउँथ्यो।
यस्तो स्थितिमा धानको ठूलो राश राख्नको लागि काठले बनेको धनसार बनाउनुपर्दथ्यो। हालका दिनहरुमा कोही पनि जमिन्दार छैन। कोहिसित पनि अब पुराना दिनहरुमा जस्तै धान वा अन्य अन्नको ठूलो राश पनि हुँदैन।
जनसंख्या बढ्दै गएपछि जग्गा पनि सोही अनुसार वितरण हुँदै गए। फलतः धानको राश पनि घट्दै गएर सानाका हुँदै गए। तिनीहरुको भण्डारणको लागि यस क्षेत्रमा बिहेरी (भकारी) को प्रचलन बढदै गयो।
भखारी बाँसको बातीले गोलो आकारको बन्दछ। छाना खर, बासले बनाइएको झुपडीको रुपमा रहेको हुन्छ। भखारीमा धान वा अन्य अनाज राख्नसानो ढोका बनाइएको हुन्छ जसमा ढोकामा लगाइने काष्टनिर्मित पल्लाहरु झुण्ड्याइएको हुन्छ।
तिनै पल्लाहरु खोलेर धान वा अन्य अन्नहरु राखिन्छ तथा झिक्नको लागि मान्छे नै भखारी भित्र पसेर धान झिक्दछ। भखारी प्रायः गृहस्थको घर अगाडि खुल्ला ठाउँमा अवस्थित रहेको हुन्छ। जुन गृहस्थको घरअगाडि जति धेरै भखारीहरु रहन्छन्, त्यसै अनुपातमा त्यस गृहस्थको सामाजिक प्रतिष्ठा पनि रहन्छ।
भखारीमा पनि धेरै अन्न अँट्न सक्दछ। गाउँका साना किसान तथा मजदुरी (ज्यामी काम) गरी जीवन निर्वाह गरी बस्ने मानिस सित भखारीको आवश्यकता नै न परे पनि उनीहरुसित भएका थोरै अन्नहरुको भण्डारण गर्नुपर्ने आवश्यक रहेको हुन्छ। यसका लागि माटोको एउटा विशेष किसिमको उपकरण बनाइन्छ जसलाइ भोजपुरी भाषामा ‘डेहरी’ भन्दछन।
डेहरी माटो, धानको भुस तथा गोबर पानीका साथमा मुछेर पटक–पटक गरी बनाइन्छ। यसको निर्माण तथा अवस्थिति घरभित्र नै हुने गर्दछ किनकि डेहरीमा छानो भने हुँदैन तथा यसलाई बन्द गर्नको लागि माटोकै विशेष किसिमको आकारको संरचना बनेको हुन्छ, जसलाई भोजपुरी भाषामा ‘पेहान’ भन्दछन्।
डेहरीमा राखेको अन्न झिक्नको लागि डेहरीको तलतिर सानो प्वाल पारिएको हुन्छ जसलाई भोजपुरी भाषामा ‘आन’ भन्दछन्। अन्नको सानो मात्रा यसभित्र राख्न उपयुक्त हुन्छ। डेहरी सानो तथा ठूलो आकारका हुन्छन्। अन्नको मात्रा तथा प्रकारहरु बेग्ला–बेग्लै रुपमा राख्नको निम्ति डेहरी अत्यन्त उपयुक्त संरचना हो।
डेहरीको माथिलो भागमा सानो खाल्टो खनेर त्यसमा किमति तथ बहुमुल्य सुन चा“दीका गहनाहरु पोको पारेर राखी माटोले लिपिदिएपछि सेन्हमारी गरेर चोरी गर्ने चोरहरुले त्यसको भेउ पाउँदैनन्।
यस प्रकारले गृहस्थको बहुमुल्य गरगहनाहरु सुरक्षित हुन्छन्। त्यसै कारणले होला– किसानहरुले यसभित्र अन्न राख्ने तथा झिक्ने बेलामा लक्ष्मीजीको रुपमा यसको पूजा गर्ने गरेको पाइन्छ।
डेहरी यस क्षेत्रका महिलाले बनाउँथ्ये। हालका दिनहरुमा डेहरीको आवश्यकता पनि न्यून हुँदै गइरहेको अवस्था विद्यमान छ किनकि गृहस्थहरुको दैन्निदन जीवनमा अन्न जोगाएर भविष्यका लागि सा“ची राख्न अवसर तथा आवश्यकता दुइटै नरहेको स्थिति छ । त्यसै कारणले नवगृहिणीहरुमा डेहरी निर्माणको सीप तथा ज्ञान शुन्यप्रायः भइसकेको छ।
कलियुगमा जुन गृहस्थको घरमा अन्नले भरिएको घैँटो रहन्छ, त्यो गृहस्थ नै ‘घटेश्वर राजा’को रुपमा समाजमा आदर पाउने छ भन्ने भोजपुरी लोक–मानसमा व्याप्त रहेको प्रसिद्ध जनश्रूति अनुसार लोक–व्यवहार बदलिँदै जानेछ।
यसका लागि टाउकोदुखाइको खासै आवश्यकता नरहे पनि भोजपुरी लोक व्यवहारमा प्रचलित रहेका यस्ता डेहरी, भकारीजस्ता लोक–सांस्कृतिक धरोहरहरुको लोप हुँदै जानु यस क्षेत्रको लागि अपूरणीय क्षति हो भन्ने कुरा मान्न दुःखद् बाध्यता नै हो।