हाम्रो देश नेपाल, सुन्दर शान्त विशाल !
महाकवि लक्ष्मीप्रसाद देवकोटाको उक्त कथन तथाकथित नेपालको सामन्ती कालको लेखमा थियो क्यार ! अब हाम्रो देश संघीयतामा गएर गणतान्त्रिक व्यवस्था अनुरूप परिचालित रहेको तथाकथित सुखद् स्थितिमा छ।
यस्तो बेलामा हामी नेपालीहरुले आफ्नो ढक्क..ढुक्क.. गरिरहेको छातीमा इमान्दारी पूर्वक हात राखेर गमौं त ? के हाम्रो देश अबको अवस्थामा सुन्दर, शान्त वा विशाल छ त ?
मेरो ब्रह्मले ‘नाइँ’ पारामा मुण्टो हल्लाईो त बाबै ! मेरो अन्तरआत्माले गरेको स्पष्टोक्ति गलत हो ? देशभक्त तथा देशलार्ई माया गर्ने जनमानसको अन्तरआत्माले त्यसमा सही थप्दछ कि नकार्छ त ? यसको जवाफ सुधी पाठकहरुको ह्दय तथा ज्ञानचक्षुमा हुनुपर्दछ।
यस पंक्तिकारले त भावुक भएर आफ्नो प्यारो मातृभूमि नेपाल आमाको बारेमा यसो बसिबियालो गर्ने जमर्को मात्र गरेको छ– ए मेरा देशका सम्माननीय नेताहरु हो, भन्न मन लाग्छ भने भन मलार्ई, स्वदेशनिन्दक वा घृणाचिन्तक , तर यो देश तिम्रो जतिकै मेरो पनि देश हो। अंशैवण्डा गर्ने हो भने पनि यो देशका एक करोड (तत्कालीन नेपालको जनसंख्या), टुक्राहरुमध्ये एउटा टुक्रामाथि, मेरो पनि छाप्रो हुनेछ, र यो देशको असंख्य बगरहरुमध्ये एउटा बगरमाथि, मेरो पनि चिता हुनेछ।(भूपी शेरचनको यो हल्लै हल्लाको देश हो कविताबाट साभार)।
मुख्य प्रश्नतर्फ लागौँ– महाकवि देवकोटाको भनाइअनुसार के नेपाल अब पुरानै नेपाल हो त ? समय परिवर्तनशील रहेको कुरा निर्विवाद सत्य हो। पुरानो नेपालमा तराइको हरियो फाँटबाट मिर्मिरे बिहानी समयमा उत्तरी क्षितिजमा हिमालय श्रृङ्खला सुनको टलक छर्दै स्वर्णिम बिहानीको निमन्त्रण दिएर तराईबासीहरुलार्ई मनोमुग्ध पार्दथ्यो।
यहाँको फाँटमा ‘शेली’ गाई चराउदथे, ‘गेटे’ बिरहा गाउदथे, ‘वर्डस्वर्थ’ धान काटने युवतीको हसिलो मुहार हेरेर मनोमुग्ध हुन्थे।(लक्ष्मी निबन्ध संग्रहबाट साभार), त्यस्तै पहाड़को उकाली–ओरालीमा हिँडदै गर्दा तृषित बटुवा पधेरोमा ठिङ्ग उभिएको हेरेर पधेर्नीहरुले माया तथा उमङ्गले उत्साहित भएर मूल वा झरनाको सुस्वादु शीतल जल अर्पण गरेर ग्रहण गर्न निमन्त्रित गर्दथिन्।
उकालो बाटो हिँडेर थकित भई चौतारीमा बसे पछि टाकुरामा बग्ने चञ्चल बतास बटुवाको अनुहारमा दायाबाट बायाँ र बायाँबाट दायाँतर्फ पम्खा हम्केझै गरेर अञ्जान बटुवाको बाटो हिँड़ेको श्रम शोषण गरी स्वस्थ्यचित्त हुन मद्दत गर्दथिन्। ओरालो वा तेर्सो बाटो हिँड्दै गर्दा वनचखेवा, वनढुकुर वा कहिलेकाहीँ त यौवनावेगित मृगिणीहरुले पनि मधुर कण्ठले बोलेर वा ब्रुकुशी मारेर गन्तव्यको बाटो देखाउने सदाचार पनि प्रकट गर्ने गर्दथे। अब भने दुर्भाग्यवस त्यो स्थिति वर्तमान नेपालको चिनारी रहेन !
दोश्रो कुरा– सुन्दर ! यो पंक्तिकार यसबारे कुनै टिपणी गर्न इच्छुक छैन किनभने नेपाल हाम्री आमा हुन्। आमाको सुन्दरताको चर्चा गर्न बालक (हामी नेपाली) लार्ई आवश्यक पनि छैन किनकि आमा सुन्दर/असुन्दर जस्तो भए पनि उनकै पियुषपान गरेर बालक तङ्ग्रिएर मानव बनेको हुन्छ। उनको कृपाले नै मानवले संसार हेर्न पाएको हुन्छ तथा उनकै कृपाले जीवनमा नानाथरि सुख–शयल, हास–परिहास, उत्साह–उमङ्ग पाएको हुन्छ।
आमाप्रति बालकको कर्तव्य हुन्छ उनलाई आफ्नो श्रम, शीप, माधुर्य, ममत्व तथा प्रतापले प्रफुल्लित पार्ने, हँसाउने, उजिल्याउने काम गर्नु। राष्ट्रभक्त नेपाली कृपया छातीमा हात राखेर यसको जवाफ दियौँ। हो त ?
वर्तमान समयमा हाम्रो देशमा विभित्र खाले दूषित वातावरण विद्यमान रहेको अवस्था छ–तँ पहडि़या, तँ मधेशिया, तँ गुरूङ्ग, तँ मगर, राई, बाहुन, क्षेत्री, ठकुरी आदि फलाना, ढिस्काना..अनि के–के..कुत्रि..कुत्रि..! अनि यहां बस्ने नेपालीले नेपाललाई प्रफुल्लित पार्ने, हँसाउने, उजिल्याउने कसरी हो बाबै बुझि पो सक्नु छैन!
पहिलो यो देश चार वर्ण छतीस जातिको फूलबारी थियो अरे ! अनि पछि (पञ्चायत कालमा) चौध अञ्चल पचहत्तरी जिल्लाको भयो अरे ! अनि अब यस गणतान्त्रिक कालमा सात प्रदेश अरे अनि जिल्ला सतहत्तरी ! पचहत्तरी जिल्लाको नाम रटेर याद गरेको यस बुढ़ो पंत्तिकारलाई कुन जिल्ला बढ्यो, कुन जिल्ला घट्याे वा नेपालमा के भयो भन्ने कुरासम्म पनि थाह भएन।
यो पंत्तिकार आत्रनो तङ्गेरी अवस्थामा सरकारी जागिरे भएर हाम्रो देशको प्रत्येक भूभागको उतिबेलाको छयासट्ठी जिल्ला डुलेको अनुभव छ। मलाई त्यो हिमाली प्रदेश, पहाड़ी प्रदेश, थरूहट तथा भित्री मदेश चारैतिर डुल्ने सौभाग्य प्राप्त भएको थियो। त्यति बेला म सरकारी कामले ती जिल्लामा डुल्दै गर्दा यो मेरो देश हो भने भान पर्दथ्यो, धुप्पी सल्लाको लामो भूवा झुण्डिी रहेको हेरेर म दङ्ग पर्दथे, मेरो गाँउको साधूबाबाको दाह्रीजस्तै हावा मग्नभै झुलिरहेको धुपीसल्लाको सेताम्य वानस्पतिक जराहरु !
यो हाम्रो वा अझ मेरो प्यारो देशको प्राकृतिक सौन्दर्यको झलक थियो, त्यो सौन्दर्य झलक अझै पनि कायमै छ तर मन कहिले काही अमिलो भएर झुसिलो डकार झार्न विवस हुने गर्दछ। प्रकृतिको स्वभाववस यस भूगोलको कुनै पनि स्थान विशेषमा कुनै पनि जनजाति, विशेष जाति वा तथाकथित उच्चजातिको बसोवास गर्ने नैसर्गिक अधिकार छ तर त्यसकोलागि एउटा प्राकृतिक शर्त पनि छ–आफ्नो मातृभूमीलाई मातृवत् व्यवहार गर्ने तथा त्यसकोलागि विकाश, उत्रएनको प्रयत्न तथा सभक्तिपूर्वक कृतज्ञता ज्ञापन गर्नु पर्ने तथ्य।
सर वाल्टर स्कटको अंग्रेजी कविता–‘patriotism’ को कविताको हरफ सम्झौं–breath there the man with soul so dead which heart hath never been burned that this is my own motherland. देशभक्तिको बारेमा हाम्रा अन्य नेपाली साहित्यकार तथा विद्वानहरुले पनि अनेको उद्धरणहरु उधृत गरेको लेखहरु प्रशस्त रहेका छन। अझै रामचरितमानसमा पनि भक्तकवि गोस्वामी तुलसी दासले पनि प्रष्ट भनेका छन–जहां बसहूं तह सुन्दर देशा !
अतः हामी जहाँ बसेका छौँ त्यही सुन्दर देश हो–हाम्रो प्यारो नेपाल, राम्रो नेपाल..अभिनन्दन माता नेपाल ! कृत्य कृत्य छौं हामी !