'विद्यालयमा पार्टीका कार्यकर्ताहरू भेटिन्छन्, शिक्षक भेट्न गाह्रो छ' (भिडियोसहित)

राेल्पाकाे लिवाङस्थित बाल कल्याण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन्, महेश न्यौपाने।

राेल्पाकाे शैक्षिक इतिहास खासै पुरानाे छैन। विसं २०२३ मा स्थापना भएकाे बाल काल्याणले विभिन्न आराेह-अवराेह पार गरेर आज नमुना विद्यालयकाे रुपमा स्थापित छ।

विद्यालय स्थापनाको लागि तत्कालिन समासेवी खडानन्द सुवेदीले ठूलो योगदान गरे। सुवेदी नै विद्यालय व्यवस्थापन समितिको पहिलो अध्यक्ष बने। सुवेदीले रोल्पाका अन्य विभिन्न ठाउँहरुमा पनि विद्यालय स्थापना गरे।

हालका विद्यालय व्यवस्थापन समिति अध्यक्ष न्यौपानेले विद्यालयको नेतृत्व गरेकाे करिब १३ वर्ष भयाे। ०५६ सालकाे असार ५ गतेबाट उनी विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष बने।

उनले नेतृत्व गर्नुपूर्व १३ वर्षअघिकाे बाल कल्याण र हालकाे बाल कल्याणलाई तुलना र मुल्यांकन गर्ने हाे भने धेरै परिवर्तन आएकाे छ। हरेक क्षेत्रमा विद्यालयले सकारात्मक गति लिएकाे पाइन्छ।

'सुरुमा मैले नेतृत्व गर्दा स्राेतसाधनकाे अभाव थियाे। विद्यालयलाई परिमार्जन गर्न कठिन भयाे। तर हामीले विस्तारै सिमित स्राेधसाधनलाई नै प्रयाेग गरेर नयाँ याेजना बनाएर काम गर्न थाल्याैँ', न्याैपानेले भने।

विद्यालयकाे स्तर निर्माणमा प्रधानाध्यापककाे पहिलाे र ठूलाे साथ चाहिने उनकाे विश्वास छ। हालका सिर्जनशील प्रधानाध्यपक मधुसुधन पोख्रेलसँग काम गर्न पाउँदा आफूलाई पनि याेजनाहरु पुरा गर्न राहत भएकाे न्याैपानेले बताए।

'०६५ सालमा हामीले सँगै नेतृत्व सम्हाल्दा विद्यार्थी संख्या करिब साढेँ सात सय मात्रै थिए। अहिले त्यो संख्या २८ सय पुगेको छ', उनले भने। विद्यार्थीको अवस्था सुधार गर्न पहिले विद्यालयको अवस्था सुधार्नुपर्ने उनकाे कथन छ।

'पहिले-पहिले त हाम्रै विद्यालयकाे गेटकाे बाटाे भएर विद्यार्थीहरु बोर्डिङ जान्थे। त्यस कुराले हामीलाई धेरै कुरा सिकायाे। हामीले विस्तारै अभिभावकहरुमा पनि सचेतना बढाउने गतिविधिहरु गर्याै', उनले पुराना चुनाैतीहरूलाई सम्झिए,' महिनामा अभिभावकहरुसँग दुई वटा बैठक गर्न थालियो। बैठक बनाउँदै  योजना बनाउँदै काम गर्न थालियो। कामको समिक्षा गर्न थालियो। जसले गर्दा विद्यालयलाई स्थापित गर्न ठूलाे सहयाेग मिल्याे।'

विद्यालयकाे अवस्था सुधार्न राम्रो शिक्षकहरुसमेत खोजेर ल्याउनु परेकाे उनले बताए। प्रत्यक्ष रूपमा राजनैतिक प्रभाव परेका सामुदायिक विद्यालयहरूले कहिल्यै मुहार फेर्न नसक्ने उनकाे ठाेकुवा छ।

'सामुदायिक विद्यालयमा शिक्षकभन्दा पनि कांग्रेस, एमालेका, माओवादी, राप्रपा, मधेशवादी पार्टीका विभिन्न कार्यकर्ताहरुकाे उपस्थिति देखिन्छ', उनले जिकिर गरे, 'त्यस्ताे विद्यालयले मुहार फेर्न सक्दैन।'

राजनैतिक स्वार्थकाे लागि विद्यार्थीमाथि ठूलो अन्याय र अपराध गर्ने विद्यालयहरु प्रशस्तै भएकाे उनकाे अनुभव छ।

बाल कल्याणमा भने पार्टीको जुत्ता लगाएर विद्यालय पुग्नेहरुलाई बाहिरै खोलेर मात्र विद्यालयमा प्रवेश दिइने वातावरण निर्माण भएकाे उनले जानकारी दिए। 'पार्टीकाे जुत्ता लगाएर विद्यालय आउनेहरुलाई गेटबाहिरै खाेल्नुस् भन्छाैँ', उनले सुनाए।

त्यसाे त विद्यालयको गुणस्तर वृद्धिको लागि भौतिक सुधार मात्रै सबथाेक नभएकाे उनकाेे तर्क छ। 'भाैतिक संरचना पनि महत्वपुर्ण छ। तर सबथाेक भने हाेइन्', उनले विद्यालयकाे संरचनाबारे भने, 'हाम्राे विद्यालयमा हाल सात वटा नयाँ भवनमा ७२ वटा कोठा छन्। अंग्रेजी माध्यमबाट पनि हामीले पढाउने गरेको छौँ। पाँच कक्षासम्म अंग्रेजी अनिवार्य बनाएका छौँ।'

यसै शैक्षिक सत्रबाट विद्यालयले बसहरु पनि सञ्चालनमा ल्याएकाे उनले बताए। हाेस्टेल पनि व्यवस्थित गरिएकाे उनले बताए।

पछिल्लाे समय काेराेना महामारी फैलिएसँगै आफूहरुलाई पनि प्रविधिकाे ज्ञान बढेकाे उनकाे स्वीकाराेक्ति छ। उनले थपे, 'सुरूमा कोरोना महामारीले हामी आत्तिएका थियाैँ। तर हामी विस्तारै प्रविधिमैत्री भयाैँ। अहिले पनि प्रविधिको प्रयोगबाट शैक्षिक गतिविधि गरिरहेका छौँ। यसले हामीलाई राम्रो पाठ सिकाएको छ।'

प्रकाशित मिति: : 2021-09-20 14:04:00

प्रतिकृया दिनुहोस्