कांग्रेसलाई 'असंवैधानिक' पार्टी बनाउने नेतृत्वविरुद्ध जुर्मुराउँदै नयाँ पुस्ता

तेजन खड्का

काठमाडौं

नेपाली कांग्रेसको विधानमा चार वर्षभित्र महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्ने व्यवस्था गरी सपथ खाएको वर्तमान नेतृत्व संविधानले दिएको अधिकतम सीमा साढे पाँच वर्षमा पनि महाधिवेशन गर्न विफल भएको छ। पार्टीलाई 'असंवैधानिक' अवस्थामा पुर्याउने नेतृत्वलाई चुनौती दिन नातिपुस्ताले साहस देखाउने संकेत गरेको छ। 

सभापति शेरबहादुर देउवालाई यसअघि केन्द्रीय सदस्य मात्र भएका शेखर कोइरालाले सभापतिमा चुनौती दिने घोषणा गरिसकेका छन्। उमेरले ६५ नाघे पनि दिवंगत नेताहरु पूर्व सभापति गिरिजाप्रसाद कोइरालाका भतिजा एवम् नोना कोइरालाका सुपुत्र शेखर विपक्षी क्याम्पका सबैभन्दा प्रवल उम्मेदवार हुन्। उनी कोइराला परिवारका नेताहरु सशांक, सुजाता मध्ये सबैभन्दा राजनीतिक प्राणी हुन्।

शेखर उम्मेद्वार भएमा उनको टीमबाट महामन्त्रीको उम्मेद्वार गगन थापा हुने छन् जसले यसअघि नै उम्मेद्वारी घोषणा गरिसकेका छन्। आफू चुनाव लडेको काठमाडौं क्षेत्र नं ४ को एउटा वडास्तरीय कार्यक्रममा १४ भदौमा उनले महाधिवेशनमा आफू महामन्त्रीको उम्मेदवार हुने बताएका थिए।

गगनले महामन्त्रीको उम्मेदवारी घोषणा गरेको दुई दिनपछि १६ भदौमा कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले सभापति उठ्ने घोषणा गरे। सञ्चारकर्मीसामु उम्मेदवारी घोषणा गरेका गुरुङले आफू गुटबाट नउठेको र गुटराजनीति अन्त्य गर्ने उद्देश्य बोकेको बताए। यसबाट देखिन्छ– उनको भौतिक शक्ति त कति देखिएला तर सैद्धान्तिक रुपमा यो अक्षम नेतृत्वविरुद्ध चुनौती हो।

देउवा खेमाबाट नयाँपुस्ताका नेताहरुमध्ये उपसभापति विमलेन्द्र निधीले सभापतिकै दाबी प्रस्तुत गरेका छन्। उनले सम्पर्क कार्यालय नै खोलेर तयारी अघि बढाएका छन् तर समयमा महाधिवेशनसमेत गर्न नसक्ने वर्तमान नेतृत्वको जिम्मेवार व्यक्ति उनी पनि हुन्। त्यसैले निधीलाई नयाँ नेतृत्व मान्न त्यति तयार छैन तेस्रो पुस्ता। तर निधीनिकटस्थ सञ्चारकर्मी पुरुषोत्तम दाहालले बिएल नेपाली सेवासँग भने, 'उहाँ गुटबिनाको एक्लो उम्मेद्वार हो। पार्टीभित्र गुटको अन्त्य गर्न निधीजीको उम्मेद्वारी हो। उहाँ पछि हट्नुहुन्न।'

संस्थापन समूहका नयाँ पुस्ताका नेताका रुपमा प्रवक्ता विश्वप्रकाश शर्मा महामन्त्रीका दाबेदार देखिएका छन्। उनले भित्रभित्रै महामन्त्रीको तयारी गरे पनि ‌औपचारिक रुपमा उम्मेद्वारी घोषणा गरिसकेका छैनन्। 

दुई महामन्त्रीमा प्रवक्ता शर्मा र प्रखर वक्ता गगन थापाबीच हुनसक्ने संभावनाले  कांग्रेस महाधिवेशनलाई रोचक बनाएको छ। देउवा खेमाबाट महामन्त्रीमा प्रकाशशरण महत, रमेश लेखक, एनपी सावदले पनि रुचि देखाएका छन्। 

विपक्षी खेमाबाट भने मीनेन्द्र रिजाल, चन्द्र भण्डारी पदाधिकारीका नयाँ उम्मेद्वार हुन्। रिजाल महामन्त्री नभए उपसभापति उठ्नसक्ने स्रोतको दाबी छ। त्यसबाहेक प्रदीप पौडेल, धनराज गुरुङ, गुरु घिमिरे पनि पदाधिकारीका नयाँ पुस्ताका आकांक्षी हुन्। 

'एक मात्र लोकतान्त्रिक दल' को दाबी गर्ने कांग्रेसमा पार्टी 'असंवैधानिक' भएको पनि तीन महिनापछि मंसीरमा महाधिवेशन गर्ने गरी तिथि अहिले मंसीर ९–१३ गतेका लागि सारिएको छ। यद्यपि आशंकाहरु बाँकी छन्।  कांग्रेसमा धमाधम उम्मेदवारी घोषणा हुन थालेको छन्।

भदौ १८ गतेदेखि देशैभरि वडा अधिवेशनहरू भइरहेका छन्। नयाँ पुस्ताका नेताहरूले धमाधम पदाधिकारीमा उम्मेदवारी घोषणा गर्न थालेपछि महाधिवेशनले सबैको ध्यान खिच्न थालेको छ जुन परिवर्तनको संकेत हो।

प्रकाशित मिति: : 2021-09-05 19:03:00

प्रतिकृया दिनुहोस्