संस्कृति जोगाउने भन्दाभन्दै हामी महिला सयौँ वर्ष पछाडि नै छाडिएका छौँ
हिन्दू समाजमा श्रावण र भाद्र महिनामा विभिन्न चाडपर्व पर्छन्। ती चाडपर्व विशेषतः महिलाकेन्द्रित हुन्छन्। त्यसमध्ये तिज पनि एक हो। तिजको कथासार यस्तो छ :
प्राचीनकालमा (अझ भन्नुपर्दा भगवान्हरूको पालामा) हिमालयका राजा पर्वतकी छोरी पार्वतीले संहार तथा संरचनाका देव मानिने महादेवलाई खुब मन पराइन्। पर्वतलाई आफ्नी छोरी ती फकिर जस्ता महादेवलाई विवाह गरिदिन मन भएन। पार्वतीले आफूले रोजेको वर पाउन संघर्ष नै गर्नुपर्ने भयो। पार्वतीले अनेक ध्यान, तप, व्रत गरेर उनले मन पराएका महादेवसँग विवाह गर्न सफल भइन्। पार्वतीको आफूप्रतिको ध्यान, तपस्याबाट प्रभावित भएका महादेवले पनि पार्वतीलाई वधूको रूपमा स्विकारेको खुसियालीमा यो तिज पर्व मनाउन थालिएको भन्ने कथन रहेछ।
कथाले मन परेका पति पाउन महिलालाई बडो अनुनय–विनय, ध्यान, तपस्या नै गर्नुपर्ने देखाएको छ। त्यो वेलाको समाज र महिला–पुरुषको सम्बन्ध पनि यस कथाबाट केही सोच्न सकिन्छ।
ऋषिपञ्चमी कथा
तिजकै दोस्रो या तेस्रो दिन मनाइने ऋषिपञ्चमीको कथासार पनि पाप र पुण्यमा नै अल्झेको छ। ऋषिपञ्चमी भन्नेबित्तिक्कै ऋषिहरूको पूजाआजा गर्ने भन्ने अर्थ लाग्छ। ती ऋषिहरूका नाम पनि यसप्रकार रहेछन्– कश्यप, अत्री, भारद्वाज, विश्वामित्र, गौतम, जमदाग्नि र वशिष्ठ।