हाम्रो पार्टीमा आए १ र बागमती प्रदेशका मुख्यमन्त्री जोगाउँछौं : रामकुमारी झाँक्री

File Photo
File Photo

नेकपा एकीकृत समाजवादी पार्टी (एस)की नेतृ रामकुमारी झाँक्रीले प्रदेश–१ र बागमती प्रदेशका मुख्यमन्त्रीले आफ्नो पार्टी रोजेको खण्डमा अहिलेकै सरकारले निरन्तरता पाउने बताएकी छिन्।

प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले नयाँ दल छान्न पाउने आगामी भदौ २३ गतेसम्मको समयसीमामा मुख्यमन्त्रीद्वय भीम आचार्य र अष्टलक्ष्मी शाक्यले नेकपा (एस)मा आबद्ध भएको खण्डमा सरकार टिकाउन विश्वासको मत जुटाउन मद्दत गर्ने बताइन्।

सुनसरीको इनरुवामा आयोजित कार्यक्रममा सहभागी हुन आउने क्रमममा आज (शनिबार) विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै झाँक्रीले यस्तो बताएकी हुन्।

‘भदौ २२ गतेसम्म दल छान्ने अधिकार छ,’ उनले भनिन्, ‘उहाँहरू आउनुभयो भने विश्वासको मत दिलाउन हामी आफैं खट्ने छौं, एमालेमै फर्किएको अवस्थामा उहाँहरुले विश्वासको मत लिर्नुपर्ने हुन्छ। सरकार अल्पमतमा पर्छ।’ त्यस अवस्थामा सरकार गठनको नयाँ बाटो सुरु हुने उनले बताइन्।

प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिहरुलाई भदौ २२ गतेसम्म दल रोज्ने अधिकार भएकोले त्यसपछि नै प्रदेश सरकार गठन र केन्द्र सरकार विस्तारको प्रक्रिया सुरु हुने झाँक्रीले बताइन्। उनले आफूहरुको दल अझै बन्ने क्रममा नै रहेकोले सरकारमा सहभागी हुन अझै निर्णय गरिनसकेको सुनाइन्।

प्रकाशित मिति: : 2021-09-04 15:13:00

प्रतिकृया दिनुहोस्