आफ्नै विधानकाे 'धज्जी' उडाउँदै माधव नेपालकाे पार्टी, पूर्व घोषणाविपरित शिक्षक नै नेतृत्वमा !

माधव नेपाल नेतृत्वको नयाँ पार्टी घोषणा भएलगत्तै शिक्षक कर्मचारीलाई सदस्यता नदिने बताए पनि सो पार्टीले केन्द्रीय सदस्यमा शिक्षकलाई समेटेको खुलेको छ।

पार्टीको प्रस्तावित अन्तरिम विधानमा पार्टीको साधारण सदस्य हुन ‘नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल नरहेको’ हुनुपर्ने उल्लेख छ।

यद्यपि, नेकपा एकीकृत समाजवादी मोरङकी नेतृ विद्या चाम्लिङ बहालवाला शिक्षक हुन्। उनी उर्लाबारीस्थित राधिका माविमा कार्यरत छिन्।

नेकपा एमाले विभाजित भई एकीकृत समाजवादी गठन भएपछि चाम्लिङलाई सो पार्टीले केन्द्रीय समितिमा समेटेको थियो। तर, निर्वाचन आयोगले एमालेमा रहँदाका केन्द्रीय सदस्यलाई मात्रै मान्यता दिएपछि उनको पद निष्कृय बनेको छ।

समाजवादीले उनलाई केन्द्रीय सदस्यमा पुनः निरन्तरता दिन्छ/दिदैन प्रतिक्षाकै विषय भए पनि उनी उक्त पार्टीकी सक्रिय नेतृ भने हुन्। जुन पार्टीको घोषणा विपरीत छ। उर्लाबारीका एक एमाले नेता भन्छन्, 'सक्रिय भएर लागेका मान्छेले सदस्यता त पक्कै लिएकै हुनुपर्छ।'

त्यसो त उनका पति मानबहादुर श्रेष्ठ घडेरी प्लटिङ गरेरै चर्चामा आएका व्यक्ति हुन्। एमालेमा रहँदा मोरङ जिल्ला सचिवालय सदस्य रहेका उनी नेकपा (एस)मा सक्रिय बनेका छन्। अब समाजवादी पार्टीको प्रदेश स्तरीय समितिमा रहेर आफूले जिम्मेवारी निर्वाह गर्ने उनले बताउँदै आएका छन्।

उनीप्रति लक्षित गर्दै ती एमाले कार्यकर्ताले भने, 'जुन गोरुको सिङ छैन उसकै नाम तिखे भनेजस्तो जग्गा प्लटिङ गर्नेपनि कहि समाजवादी हुन्छन्?'

उनले थपे, 'समाजवादले जग्गा खण्डीकरणको कल्पना गरेको छैन। पाखण्डीहरुको भीड रहेको पार्टीबाट के आश गर्नु ?'

'पार्टी गठन हुँदै त बोली र व्यवहारको तालमेल छैन। पछि के होला?',  उनले प्रतिप्रश्नसमेत गरे।
 

प्रकाशित मिति: : 2021-09-04 08:52:00

प्रतिकृया दिनुहोस्