'व्यवस्था खराब भयाे भने असल मान्छे पनि खराब हुन्छ': धर्मेन्द्र वास्ताेला

विप्लव नेकपाका केन्द्रीय सचिवालय सदस्य धमेन्द्र बास्तोलाले हालकाे दलाल पूँजीवादी संसदीय व्यवस्थाले जनताको सेवा नगर्ने बताएका छन्।

नेपालकाे राजनीतिक व्यवस्थाबारे टिप्पणी गर्दै उनले भने, 'व्यवस्था खराब भयाे भने असल मान्छे पनि खराब हुन्छन्।'

पार्टी कार्यकर्ता प्रशिक्षणका क्रममा जुम्ला पुगेका नेता बास्तोलाले पत्रकारसँगको भेटघाटकाे क्रममा आफ्नाे पार्टीको उद्देश्य नेपालमा वैज्ञानिक समाजवाद स्थापना गरि उन्नत समाजकाे निर्माण गर्नु रहेकाे बताए। 'हामी शान्तिपूर्ण रुपमा नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्न चाहन्छौं,' उनले भने, 'त्यसका लागि नेपालमा क्रियाशील असल राजनीतिक पार्टीबीच छलफल भइरहेको छ। जनमत संग्रहमार्फत जनतालाई समाजवाद या संसदीय व्यवस्था भन्दा जनताले वैज्ञानिक समाजवाद नै राेज्नेछन्।'

उनले दलाल संसदवादी दलकाे साहारामा अमेरिकाले एमसीसीमार्फत् नेपाललाई अफगानिस्तानकै मार्गमा लान खोजेको बताए। 'अहिले अफगानिस्तानमा जुन प्रकारको विद्रोह छ, हिंसा छ र आतंक फैलिएको छ। अमेरिका नेपाललाई एमसीसीका माध्यमबाट ठिक त्यसरी नै फन्दामा पार्न चाहन्छ,' उनले भने, 'बहुमत जनता एमसीसीकाे विराेधमा छन्। सबै मिलेर उसलाई लागू गर्न दिनु हुँदैन।'

उनले एमसीसीका पछाडि दूर्भाग्यका संकेतहरु देखिन थालेकोतर्फ आफूहरु सचेत रहेकाे थपे। 'नेपालमा विदेशीको प्रभुत्व छ। अमेरिकाको एमसीसी त्यसैकाे निरन्तरता हाे। भारत त्यसैको पछाडि दौडिएको छ,' उनले भने।

उनले सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन हुनु पर्नेमा जोड दिए। शान्ति प्रक्रियामा आउँदा भएका सहमति कार्यन्वयन गरेर आफ्ना कार्यकर्तालाई रिहाइ गर्न माग गरे। 'सरकारले सहमतिलाई कार्यान्वयन गर्नुपर्छ। यो सहमति गोप्य होइन,' उनले भने, 'सबैलाई साक्षी राखेर गरेको सहमति भएकोले कार्यान्वयन नगरी सुख हुँदैन।'

सत्ताले प्रतिबन्द लगाएकाे विप्लव नेकपालाई ओली सरकारले शान्ति प्रक्रियामा ल्याउने प्रयास स्वरुप तीन बुँदे सहमतिसहित आफूहरु शान्ति प्रक्रियामा आए पनि सत्ताले बेइमानी गरिरेहेकाे बताए।

'सरकारसँगकाे तीन बुँदे सहमतिको पहिलो बुँदामा नेपालको वर्तमान राजनीतिक समस्यालाई शान्तिपुर्ण आन्दोलन, वार्ता तथा संवादका माध्यबाट टुंगाउने थियाे,' उनले थपे, 'देशभर बिनाकसुर विप्लवका हजारौं नेता, कार्यकर्तालाई बन्दी बनाइएको र उनीहरुलाई बिनासर्त रिहाइ गनुपर्ने लगायतका छन्। तर हालसम्म केहि कार्यकर्ता छुटे पनि अधिकांश जेलमै छन्।'

उनले नेपालको राजनीतिक समस्या समधान नभई आफ्नाे पार्टी कुनै पनि सरकारमा सहभागी नहुने बताए। उनले भने, 'वर्तमान राजनीतिक समस्या दलाल संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना नगरी हामी सरकारकामा सहभागी हुँदैनाैं।'

उनले सत्तामा रहेका दलहरुले नेपालका प्राकृति स्रोतकाे बेचविखन गरि विदेशीकाे दलाली गरिरहेकाेतर्फ नेपाली जनता सचेत भई एक-एक हिसाब गर्नुपर्ने बताए।

उनका अनुसार नेपालमा चलिरहेको दलाल संसदीय व्यवस्थापले आम नागरिकको हित गर्न सक्दैन। जसले भोट दिएर जिताए उसैलाई लात हान्ने राजनीति संस्कारको विकास भयो। त्यसैले अबको विकल्प भनेकै वैज्ञानिक समाजवाद स्थापना हो। जुन विपन्न, गरिब नागरिकको एक मात्रै उन्नत व्यवस्था हाे।

दलाल संसदीय व्यवस्थाले धनीलाई झन् धनी र गरिबलाई झन् गरिब बनाएकाले पनि सबै असल कम्युनिष्ट पार्टीहरु वैज्ञानिक समाजवाद स्थापनाका लागि एक हुनै पर्ने उनकाे तर्क छ।

प्रकाशित मिति: : 2021-09-03 20:24:00

प्रतिकृया दिनुहोस्