आइडा आँधी: न्यूयोर्कमा तीन नेपालीको मृत्यु [भिडियाेसहित]

अमेरिकाको न्यूयोर्क शहरमा आएको 'आइडा' नामक आँधीमा परी तीन जना नेपालीको मृत्यु भएको छ।

अमेरिकाको न्यूयोर्क राज्यमा आएको पछिल्लो प्राकृतिक विपत्ति वर्षापछि घरभित्र पानी पसेर आङ गेलु शेर्पा, उनकी श्रीमती मिङ्मा यङ्जी शेर्पा लामा र उनीहरुका १९ महिने छोरा लोप्साङ लामाको मृत्यु भएको एनआरएनए अमेरिकाका अध्यक्ष सुनील शाहले सामाजिक सञ्जालमार्फत जनाएका छन्।

नेपालको सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं २ जुनवेशी स्थायी घर भएका उनीहरु हाल न्युयोर्कमा बसोबास गर्दै आएका थिए।

शाहले पछिल्लो समय अमेरिकाको न्यूयोर्क, न्यू जर्सी, लुजियाना लगायतका राज्यमा भारी बर्षा,आधीबेरी तथा बाढीका कारण धेरै धन जनको क्षति हुन पुगेको बताएका छन्। कयौं परिवार त्यसवाट प्रभावित भएको अवस्था छ।

यस प्राकृतिक विपत्तिले अमेरिकन नेपाली परिवारहरुलाई पनि प्रभावित पारेको बताउँदै शाहले कठिन परिस्थितिमा सुरक्षित रहन अनुरोध गर्दै विपत्तिमा परेकालाई सहयोगका लागि अपिलसमेत गरेका छन्।

अमेरिकामा हाल सम्म ६ वटा राज्यमा वर्षा, बाढी र घुम्रपात (टोरनाड़ो) को कारण ४५ जनाको मृत्यु भैसकेको छ भने न्यू जर्सीमा मात्र २३ जनाको निधन भएको जनाइएको छ।

प्रकाशित मिति: : 2021-09-03 07:28:00

प्रतिकृया दिनुहोस्