उमेरले ३७ वर्षका भए, डा. सञ्जयकुमार यादव। भारतको मेदान्त अस्पतालमा झण्डै ८ वर्षमा ५ सयभन्दा बढीको सिनियर कन्सल्ट्यान्ट सर्जन भएर कलेजो प्रत्यारोपणमा संलग्न भए। नाम थियो, दाम थियो, तर स्वाभिमान थिएन ।
मेदान्त अस्पतालमा कलेजो प्रत्यारोपण गराइरहँदा उनलाई केही घटनाहरूले सारै चिमोठ्थ्यो। ‘कहिलेकाहीं यस्तो संयोग पर्दथ्यो, प्रत्यारोपण गर्ने सर्जन, एनस्थेसिया डाक्टर, रेडियोलोजिष्ट, अप्रेशन टेबलमा सुताइरहेका बिरामी, कलेजो दिने सबै जना नेपाली,’ डा. यादव भन्छन्, ‘कलेजो प्रत्यारोपण गर्न नेपालीहरु भारत आउनुको बाध्यता देखेर चिन्ता पनि लाग्थ्यो। नेपाली टिमले नै नेतृत्व लिएर कयौं प्रत्यारोपण गराउँदा अहिल्यै नेपाल फर्किएर सेवा सुरु गरिहालौं जस्तो लाग्थ्यो ।’
पढाइ र अन्य सिक्ने अभ्यासका क्रममा भारत बसेको पनि वर्षौं भइसकेको थियो। पट्यारलाग्दो बन्दै थियो, समय। त्यसैले नेपाल फर्किने र उतै कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने वातावरणको खोजीमा थिए सन्जय। ‘नेपालमा यस्तो वातावरण तयार भैदिए, किन भारत बसिरहने ?’ डा. सञ्जय भन्छन्, ‘नेपालमै कलेजो प्रत्यारोपण गराउन सके भारतको भन्दा झण्डै दोब्बर सस्तो पनि हुन्थ्यो ।’
यसबारे मेरा नेपाली डाक्टर साथीहरूसँग सञ्जयले छलफल गरे। उनीसँग प्रत्यारोपणमा काम गर्ने केही डाक्टर भने सल्लाहमा नै गत वर्ष भारतबाट नेपाल फर्किए। सञ्जय भने नेपालमा उपयुक्त वातावरणको पर्खाइमा नै थप केही वर्ष मेदान्तमै बिताए ।