प्रदेशमा एमाले फुटाएलगत्तै राजेन्द्र राईले भने– बहुमत गुमाएका मुख्यमन्त्री आचार्यले राजीनामा दिनु उचित

तेजन खड्का

विराटनगर

नेकपा एकीकृत समाजवादीका प्रदेश नम्बर १ का प्रदेशसभा सदस्य राजेन्द्रकुमार राईले मुख्यमन्त्री भीम आचार्यको नेतृत्वमा बनेको प्रदेश सरकारले बहुमत पुष्टि गर्न नसक्ने बताएका छन्।

नवगठित पार्टीको सबैभन्दा वरिष्ठ नेता राईले बहुमत गुमाइसकेका कारण नैतिकताका आधारमा मुख्यमन्त्रीले राजीनामा गर्नु उपयुक्त हुने पनि बताए।

राई नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेताका प्रवल दाबेदार हुन्। उनलाई विपक्षी गठबन्धनका तर्फबाट भावी मुख्यमन्त्रीका रुपमा 'प्रोजेक्सन' गर्न थालिएको छ।

एमालेबाट १० जना प्रदेशसभा सदस्यसहित नयाँ संसदीय दल विभाजन गरेलगत्तै उनले यस्तो अभिव्यक्ति दिएका हुन्। विभाजित दलसहित विपक्षी पार्टीहरु गठबन्धनमा रहेका कारण गठबन्धनको तर्फबाट छिट्टै नयाँ सरकार बन्ने नेता राईले बताए।

'उहाँहरुको सरकारले बहुमत गुमाएको छ। त्यसैले आशा गरौं मुख्यमन्त्रीले पदबाट राजीनामा गर्नुहुनेछ,'नेता राईले भने ‘हामी केही दिन हेछौं र २३ गतेपछि पनि राजीनामा गर्नुभएन भने गठबन्धनमा सल्लाह गरेर आगामी प्रक्रियामा अघि बढ्छौं।'

सरकारले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने वाध्यकारी व्यवस्था भएको हुँदा त्यति समय पर्खन पनि गाह्रो नभएको राईले उल्लेख गरे।

मुख्यमन्त्रीमाथि एक सातामै संकट

नेकपा एमालेका १० सांसदले विभाजित बनेको नेकपा एकीकृत समाजवादी दल रोजेसँगै प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकार स्पष्ट अल्पमतमा परेको छ।

माधबकुमार नेपाल समूहमा रहेका सांसदहरुलाई रोक्न एमालेले नेपाल समूह छाडेर आएका भीमप्रसाद आचार्यलाई भदौ १० गते मुख्यमन्त्री बनाएको थियो। तर, उनी मुख्यमन्त्री भएपनि नेपाल समूहका १० सांसदले समाजवादी रोजेका कारण उनको सरकार बनेको एक महिना पनि नटिक्ने देखिएको छ।

आचार्यले मुख्यमन्त्री भएपनि नेपाल पक्षका सांसदलाई आफ्नो पक्षमा ल्याउन मन्त्री बनाउने, पार्टीमा जिम्मेवारी दिनेसहितका विभिन्न ‘अफर’ गरेका थिए। तर, उनको प्रभावमा सांसदहरु परेनन्।

१० सांसदले नेकपा समाजवादी रोज्दै सनाखत गरेपछि आचार्य नेतृत्वको सरकार एक हप्ता मै अल्पमतमा परेको छ। प्रदेशसभाको बहुमतको लागि ४७ सांसद आवश्यक पर्नेमा १० सांसद समाजवादीमा आबद्ध भएपछि एमालेमा ४१ सांसद रहनेछन् भने बिपक्षी गठबन्धनको बहुमत पुग्नेछ।

प्रदेशसभामा अहिले नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपाका १ सांसद छन्।

राप्रपाकी ईन्दिरा राईबाहेक सबै विपक्षी गठबन्धनमा आबद्ध रहेकोले समाजवादीमा १० सांसद आबद्ध भएसँगै गठबन्धनको पक्षमा ५० सांसद हुनेछन्।

संसदको यो जोडघटाउले पार्टीको लाइन परिवर्तन गरेर भएपनि मुख्यमन्त्री बन्न सफल बनेका आचार्यका लागि र विपक्षी गठबन्धनको सामू नेकपा एमालेका लागि अर्को झड्का लागेको छ।

प्रकाशित मिति: : 2021-09-01 16:58:00

प्रतिकृया दिनुहोस्