बैंकद्वारा ९९ किसानलाई १२ करोड ऋण

यहाँका पशुपालन क्षेत्रका ९९ किसानलाई विभिन्न बैंकद्वारा १२ करोड ११ लाख ७४ हजार रुपैयाँ ऋण प्रदान गरिएको छ। गत आर्थिक वर्ष जिल्लामा विभिन्न आठ सरकारी, निजी बैंक तथा वित्तीय संस्थाले किसानलाई उक्त रकम प्रदान गरेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले जनाएको छ।

सरकारले व्यावसायिक कृषि प्रवर्द्धनका लागि विशेष सहुलियत व्यवस्था गरेसँगै सरकारी स्वामित्वमा रहेका वित्तीय संस्थाले व्यावसायिक आधार मूल्याङ्कन गर्दै विशेष ऋण प्रवाह गरेको हो। कार्यालय प्रमुख डा. रुपेश श्रेष्ठका अनुसार यसरी ऋण प्रदान गर्नेमध्ये सबैभन्दा धेरै कृषि विकास बैंकले दिएको छ । यस बैंकले ४० पशुपालक किसानलाई तीन करोड ३३ लाख रुपैयाँ ऋण दिएको छ।

नेपाल बैंकले १० किसानका लागि एक करोड १२ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले चार किसानका लागि ५९ लाख रुपैयाँ ऋण प्रदान गरेको छ। यहाँ सो सरकारी बैंक बाहेक जिल्लाका निजी बैंकलेसमेत सहुलियत ब्याजमा ऋण दिने गरेको पाइएको छ। निजीमध्ये सबैभन्दा धेरै सिद्धार्थ बैंकले २० जना किसानका लागि तीन करोड ४६ लाख रुपैयाँ ऋण दिएको छ।

बैंकले किसानलाई पशुपंक्षी तथा मत्स्यपालनका लागि ऋण दिएको थियो। त्यस्तै, ग्लोबल आइएमईले सात किसानलाई ६८ लाख रुपैयाँ ऋण दिएको उक्त केन्द्रका प्रमुख श्रेष्ठको भनाइ छ। उनका अनुसार एभरेष्ट बैंकले १० किसानलाई एक करोड १८ लाख ७४ हजार सहुलियत ऋण दिएको छ भने प्राइमले ६ किसानलाई एक करोड ५३ लाख सहुलियत ब्याजमा ऋण दिएको छ।

त्यस्तै, सबै भन्दा कम एनएमबी बैंकले दुई किसानका लागि २५ लाख सहुलियत ऋण दिएको छ। पशुसेवा कार्यालय लमजुङका प्रमुख श्रेष्ठले भने, 'जिल्लामा रहेकामध्ये १५ बैक तथा वित्तीय संस्थासँग ऋणप्रवाहको तथ्याङ्क माग गरे पनि जम्मा आठ बैंकले मात्रै सहुलियत ऋण सेवा प्रवाह गरेको छ।'

प्रकाशित मिति: : 2021-09-01 13:12:00

प्रतिकृया दिनुहोस्