‘सभामुखले पदीय मर्यादा भुलेर दलीय प्रतिबद्धता देखाए’ [भिडियोसहित]

Breaknlinks
Breaknlinks

नेकपा एमाले लुम्बिनी प्रदेशसभाका मुख्य सचेतक भूमिश्वर ढकालले स्वतन्त्र भूमिकामा हुनुपर्ने सभामुखले पदीय मर्यादा भुलेर दलीय प्रतिबद्धता देखाएको आरोप लगाएका छन्।

पार्टी केन्द्रले पदबाट निस्कासन गर्न सिफारिस गरेका आफ्ना दुई सांसदलाई सभामुख पूर्णबहादुर घर्तीले कुनै वास्ता नगरेको उनको गुनासो छ। 

‘सूर्य चुनाव चिन्ह लिएर एमालेको तर्फबाट प्रतिनिधित्व गर्दै सदनभित्र छिरेकाहरूले पार्टी र संसदीय दललाई धोका दिएर अर्को मोर्चामा जाँदा कारबाही गर्ने कुरा स्वभाविक थियो,’ ‘मुख्य सचेतक ढकालले भने, ‘बिमला वली र अजय शाहीलाई दलको तर्फबाट कारबाहीका लागि सिफारिस ग-यौँ। तर सुनुवाई भएन।’ 

सभामुख घर्तीले एमालेको पक्षमा लागेका पूर्वमाओवादी सांसदहरूलाई तत्काल कारबाही गरेको स्मरण गर्दै बिगतको स्थापित नजिरलाई भत्काउने प्रयास भैरहेको बताए। 

‘हामीले उठाएको कुरा सरकारले बुझेन। नबुझेपछि हामीहरूले संसद अवरुद्ध गरेका हौँ र त्यो निरन्तर छ। सदन सुरू भएपछि हाम्रो आन्दोलन अघि बढिरहन्छ।’

एमालेमाथि सांसद अपहरण गरेको आरोप लाग्यो नि भन्ने बिएल नेपाली सेवाको प्रश्नमा ढकालले भने, ‘२१औँ शताब्दीमा माननीय जस्तो मान्छेलाई कसैले पनि अपहरण गर्न सक्दैन। स्रोत–साधनले सम्पन्न जनताका प्रतिनिधिहरू अपहरण हुन सक्दैनन्।’

एमालेका नेताहरूलाई पराजित गर्न नसकेपछि अपहरणको नाटक गरिएको उनको दाबी छ।

‘प्रदेशसभाभित्र दुईटा कानून हुन्छ? कोहि माननीयहरूले दल त्याग गर्दा कारबाही गर्ने, कोहि माननीयहरूले दल त्याग्दा उनीहरूलाई कारबाही नगर्ने,’ उनले सभामुखमाथि प्रश्न गरे। 

लुम्बिनीमा एमाले एकढिक्का भएको बताउँदै हजारौँ पार्टी सदस्यहरू मूल पार्टीकै साथमा रहेको बताए। प्रदेशमा एमालेको सङ्गठन बालियो रहेको र विभाजनले नछोएको उनकाे दाबी छ।


 

 

प्रकाशित मिति: : 2021-09-01 06:45:00

प्रतिकृया दिनुहोस्