‘एयर भल्भ’ नबनाउँदा मेलम्ची सुरुङमा पनि सुरक्षा खतरा

हेडवर्क्स र सुरुङको सुरक्षामाथि महालेखाको प्रश्न

अनलाइनखबर

रवीन्द्र घिमिरे

मेलम्चीमा भीषण बाढी मेलम्ची खानेपानी आयोजनाको सुरुङ अहिले बन्द छ। सुरुङ सुपरीवेक्षणका लागि पानी भर्न बन्द गरिएको दिन गत असार १ गते आएको बाढीले हेडवर्क्स पुरेपछि आयोजनाको भविष्य अनिश्चित छ। यही बेला महालेखा परीक्षकको कार्यालयले आफ्नो वाषिर्क प्रतिवेदनमा सुरुङको सुरक्षा अवस्थाबारे पनि प्रश्न उठाएको छ।

महालेखाको ५८औं वाषिर्क प्रतिवेदनले सुरुङभित्र आवश्यक ‘सेफ्टी एयर भल्भ’ नबनाइएको भन्दै पानी भरेको अवस्थामा सुरुङको सुरक्षामा असर पर्न सक्ने बताएको छ। यो पानी भर्दा र सुरुङ खाली गर्दा हावा निकासा हुने प्रयोजनका लागि आवश्यक हुन्छ।

आयोजनाको २७.५८ किलोमिटर लम्बाइको टनेलमा पानी पठाएपछिको आन्तरिक र बाहृय प्रेसर थेग्नको लागि सेफ्टी  भल्भको आवश्यकता पर्छ। यस्तो प्रेसर भल्भ नराख्दा कारणले अम्बाथान (३ हजार २०० मिटर)मा नै पानी भरिएको स्थितिमा गेटले प्रेसर थाम्न नसकी भत्किँदा २०७७ आसारमा २ जनाले ज्यान गुमाएका थिए।

‘आयोजनाले अल्पकालीन प्रेसर व्यवस्थापनका लागि गेटमुनि रहेको वासआउट चेनेजमा अस्थायी प्रेसर भल्भ राखी व्यवस्थापन गरेको र एयर प्रेसर मिलाउन अस्थायी रूपमा विछ्याई पाइप खुल्ला रूपमा राखेको देखियो,’ महालेखाले प्रतिवेदनमा भनेको छ,’यस्ता ठूला संरचनामा अस्थायी रूपमा गरिएको व्यवस्थामा सुधार नगरी टनेलमा पानी भर्ने कार्यले दीर्घकालीन समाधान हुने देखिँदैन।’

प्रकाशित मिति: : 2021-08-31 13:06:00

प्रतिकृया दिनुहोस्