चिनो नलगाइएका चिहानहरू

हिमाल खबर

काठमाडाैं

क्यानडामा विद्यालय परिसरमा भेटिइरहेका बालबालिकाहरूको चिहानले त्यहाँका आदिवासीको भाषा-संस्कृति नामेट पार्न १२० वर्षसम्म आवासीय विद्यालय प्रणालीले रचेको दुश्चक्रको दमनकारी इतिहास सम्झाइदिएको छ।

मानव विकास सूचकांकका हिसाबले क्यानडा विश्वका उत्कृष्ट देशहरूमा पर्छ। मानवअधिकार, सामाजिक न्याय, कामको उपलब्धता, अति न्यून भ्रष्टाचार आदिका कारण क्यानडा यो सूचीमा छ। तर, सन् १८६७ जुलाईमा अस्तित्वमा आएको यो देशको विगत खासगरी सन् १९७० अघिसम्म मानवअधिकारका दृष्टिले कहालीलाग्दो छ।

गत तीन महीनायता क्यानडामा बालबालिकाका चिनो नलगाइएका सयौं चिहान भेटिएकोबारे तपाईंले केही न केही सुन्नुभएकै होला। गत २८ मेमा ब्रिटिश कोलम्बिया प्रदेशमा २१५ बालबालिकाका चिहान फेला परेको समाचार सार्वजनिक भयो।

ती चिहान सन् १८९० देखि १९६९ सम्म सञ्चालित काम्लुप्स इन्डियन रेजिडेन्सियल स्कूलको परिसरमा थिए, जसमध्ये कतिपय बालबालिका तीन वर्षकै उमेरमा मरेका पाइए। ती को बालबालिका थिए? के कारणले मरे? त्यहाँ कहिले र कसले गाड्यो भन्नेबारे राज्यका निकायहरू बेखबर थिए।

समाचार सार्वजनिक भए लगत्तै प्रधानमन्त्री जस्टिन ट्रुडोले घटनालाई ‘क्यानडाको इतिहासको लाजमर्दो कालखण्ड’ भएको प्रतिक्रिया दिए। हरेक बच्चाको स्मरणमा एक घण्टाका दरले २१५ घण्टासम्म राष्ट्रिय झण्डा आधा झुकाइएको थियो। शोक व्यक्त गर्दै बालबालिकाका जुत्ता-चप्पल सरकारी भवन, क्याथोलिक चर्चका वरपर राखिएका थिए।

प्रकाशित मिति: : 2021-08-31 06:33:00

प्रतिकृया दिनुहोस्