म समय हुँ।
म समय समयमा जन्मिन्छु। म हरेक साल जन्मिन्छु। हरेक साल जन्मिने मलाई हेर्नुछ भने कृपया जुम्ला आउनुहाेस्, जम्मा २४ घण्टाकाे समय मिलाएर। त्यसपछि देख्नुहुनेछ म जन्मिएको, हुर्किएकाे र मैले कंश नास गरेकाे।
प्रश्न उठ्न सक्छ कलियुगमा कृष्ण? तपाईले कृष्ण सुनेकाे द्वापर युगमा हाे। सत्य र त्रेतापछिकाे युगमा। वा मार्क्सकै समाज विकासकाे नियम अनुसार भन्ने हाे भने 'आदिम साम्यवाद र दासयुगपछि सामन्तवादी वा पुँजीवादी युगमा।
यति पुरानाे कुरा आज कम्युनिस्टहरुले राज गरेकाे देशमा किन?
शासन सत्तामा कम्युनिस्ट नाम गरेका छन् भनेर फेरि समाजवादी वा साम्यवादी शासन छ भनिहाल्न हतार नगर्नु हाेला। नाम जे सुकै गरेका भए पनि सत्ता चरम पुँजीवादी छ। पुँजीवादकाे खाेलमा नव सामन्तहरुकाे उदय भइरहेकाे छ। त्यसैले याे समय मार्क्सकाे परिभाषा अनुरुपको सामन्तवाद र पुँजीवादकाे रिमिक्स हाे। मलाई अदृश्य शक्तिका रुपमा युगाैंदेखि पुज्दै आउने तपाईहरुका अनुसार याे समय कलियुग हाे। तपाई म जन्मिने बेला अरु थुप्रै रिमिक्स देख्नुहुनेछ। त्याे हाे सत्य, त्रेता र द्वापर युगमा देखिएका सबै पात्र एकै ठाउँमा।
हाे म कलियुगकाे कृष्ण। त्यसैले म जन्मिरहेकाे छु, हरेक साल। अनि भन्नुहाेला केपल २४ घण्टामै याे सब? हाे २४ घण्टामै हुन्छ, सब। त्यसैले त भनिरहेछु, म समय हुँ।
आउनुहाेस् म आज तपाईलाई मेराे जन्म कथा भन्छु। जुम्लामा हुने मेराे जन्मकथा। वि.सं. १९५३ सालमा कृष्णवीर श्रेष्ठ नाम गरेका एक नेवारले जात्रा चलाउने प्रस्ताव गर्दा जुम्ला खाल्डाेमा बसाेबास गर्ने सबैले माने। त्यसपछि हरेक साल मेराे जन्म कथा दाेहाेरिरहेछ। त्यसैले भन्छु 'मेराे याे राेचक कथा जान्नुछ भने जम्मा २४ घण्टा छुट्याए पुग्छ। २४ घण्टा नछुट्याउने भएपनि ठिक छ। २४ मिनेट लाग्ने यी मेरा गन्थन मन्थन पढिदिनुहाेस्।
तपाई मलाई पढिरहनुभएकाे छ भने मेरो कुरा सुनेर चकित नहुनुहाेला, कसरी बोल्न थाल्यो भनेर? प्रश्न पनि नगर्नुहाेला। जवाफ म आफै दिनेछु। कृपया धैर्य गर्नुहाेला। यस्तो पनि समय आउँछ, कालले लगिसकेको मान्छेले बोल्नुपर्छ भने म किन नबाेलाैं?
श्रावण कृष्ण चतुर्दशीका दिन गठामंगल(गाँठेमंगल)को रुपमा घण्टाकर्ण नामक राक्षेशको पुत्ला थपना गरि सोहि दिन साँझ नदीमा सेलाएबाट मेरा मामा कंशले दिनदिनै नाच देखाउन थालेका हुन। अझ भनाै मेरा मामाकाे आतंक त्यसै दिनबाट सुरु भएकाे हाे। समयले मेराे जन्मकाे आवश्यकता महशुस गरिरहेछ।
अहिले अस्पतालले बच्चा जन्मिने डेट दिन्छ। तर मेराे डेट क्यालेन्डरमै छ। ज्याेतिसहरुबाट मेराे जन्मदिन फिक्स गराइएकाे छ। जुम्लामा चारवटा जात्रा सकिसकेका छन्। बडिमालिका बढाई गर्ने काम पनि सकिसकेको छ। तर लाेखेका भेसमा बजार उत्रने मेरा कंश मामाकाे आतंक मच्चिरहेकै छ। अब थाेकै दिनमात्र बाँकी छन् भनेर मान्छेहरु धैर्य गरिरहका छन्। गाउँबाट बजार आउनेहरु याे देखेर मेराे जन्मकाे अपरिहार्यताबारे गाउँगाउँसम्म प्रचार गर्छन्। हरेक दिन आतंक मच्चाइरहेका मेरा लाखे(कंश) मामाकाे अन्त्यकाे दिन गनिएकाे छ। त्याे समय सदरमुकाम आउने गाउँलेहरु मेराे सन्देश बोकेर गाउँगाउँ पुग्दछन् र भन्दछन् 'यो वर्षपनि श्रीकृष्णकाे अवतार हुनेछ र कंशकाे नास हुनेछ।' समय नजिकिदै जाँदा मेराे व्यग्र प्रतीक्षा गरिरहेकाहरु गाउँगाउँबाट सदरमुकाम खलंगा झर्न थाल्दछन्।
त्यस्तै जाजरकोट, मुगु, कालिकोट र डोल्पाबाट पनि मान्छेहरु खलंगा झरिरहेका छन्। लामो समय कृषि पेशा र घरायसी कामकाजबाट थाकेकाहरु म जन्मिएपछि थकाइ कम भएकाे महसुस गर्छन्।
यी सबैकुरा मैले गर्भमै थाहा पाउछु। आफूलाई आधुनिक समयकाे अनुयायी सम्झिने तपाईहरु मेरा कुरा सुनेर बारम्बार प्रश्न गर्ने मुडमा हुनुहुन्छ, मलाई थाहा छ। तर तपाईहरु नै मेरा फ्यान(उहिलेकाे जमानाका मेरा भक्त) भएकाले मेरा कुरा पत्याउनु हुन्छ भन्ने मलाई विश्वास छ।
अर्जुनसँग बिहे गरेकी मेरी बहिनी सुभद्रा गर्भवती हुदाँ सुनाएकाे कथाकै आधरमा अभिमन्युले महाभारतमा तेत्राे पराक्रम देखाउन सके। सुभद्रा सुतेकै कारण उनले बाँकी कथा सुन्न पाउँदैनन्। फलस्वरूप उनी लक्ष्यमा नपुग्दै मारिन्छन्। अब तपाईहरु आफै भन्नुस् गर्भमा रहेकाे बेला तपाईहरुले मेराे जन्म दिन कुरेर बसेकाे। मबाट मेरा मामाकाे बध हुनुपर्छ भनी तपाईहरुले गरेकाे अपेक्षा म नसुनाैला र? अब चाहिँ पक्का पत्याउनु भएकाे छ।
तपाईहरु सबै सदरमुकाममा पुगिसकेको थाहा पाउँदा मेरी आमा देवकी ओैधि खुसी भएकी छिन्। म पनि अब त धर्तीमा पाइला टेक्ने दिन आयाे भनेर आमाभन्दा दाेब्बर खुसी छु।
घरमा जे उत्पादन भएकाे छ त्यही कुम्लाे, कुटिराे पारि बजार हिडेका तपाईसँग उसिनेका आलु, हरिया काँख्रा, स्याउ, नास्पाति, फापरका ढेस्सु छ। मगमग बसाइरहेछन्। थाेरैकाे मात्र आवासकाे व्यावस्था मिलाउन सक्ने सदरमुकामा कहाँ बसाैंला, कहाँ सुताैला? कुनै सुर्ता नगरि आउँदै हुनुहुन्छ भन्ने थाहा पाएपछि मैले रातकाे १२ बजेसम्म आमाकाे काेखमा बसिरहने धैर्यता गुमाएँ। म बाहिर आउन आतुर छु।
मेरी माताका छ वटा बच्चालाई मारिसकेका मामा बजारमै नाचिरहेका हुन्छन्। साताैं बच्चाकाे रुपमा जन्मिएका दाइ बलरामलाई बचाउन उनी सफल भएकी थिइन। आठाैं सन्तानकाे रुपमा जन्मिन आँटेकाे मलाई बचाउनु माता-पिता दुबैले अति आवश्यक ठानिरहेका थिए।
माताजी आठाैं पटक सुत्केरी हुनेबेलासम्म मेरा पिताजी वासुदेवले एउटा ठुलाे काम गरिसकेका थिए। उनी जेलमा रहँदा सेना, पुलिस, शसस्त्र प्रहरीका उच्च अधिकारी समेतलाई फकाउन भ्याइसक्छन्। उनीहरुसँग गहिराे मित्रता गाँस्न सफल हुन्छन्। उनले आफ्नाे सालाे कंशसँग मिल्नुपर्ने किन्चित आवश्यकता महसुस गर्दैनन्। उ कुनै पनि हालतमा मारिनुपर्छ भन्ने मानेर नै मलाई जन्माउने प्रण गरेका हुन्छन्। मामा बजारमा नाचिरहेकै बेला आमाकाे काेखबाट बाहिर आउन हतार गर्छु।
याे खबर भुसकाे आगाेसरि फैलिए पनि मामासम्म भने पुग्दैन। उनकाे गुप्तचर संयन्त्र पनि कमजाेर हुनेगरी पिताजीले प्रहार गरिसकेका हन्छन्। त्यहि बेला म भन्दा सात आठ वर्ष जेठि गाेपिनीहरु पनि मेराे प्रतिक्षा गरि बसिरेहेकी हुन्छन्। कसरी श्रीकृष्ण माेहित पार्न सकिन्छ भनेर। जतिसक्दो राम्री हुने काेसिस गरिरहेकी छन्। उनीहरुलाई राम्री हुन सिकाइएकाे हुन्छ।
नसिकेकै भए पनि राम्री हुनलाई उपाया सुझाइदिने अनेकथरि विज्ञापन छँदैछन्। बहुराष्ट्रिय कम्पनीले पनि राम्री हुन सघाउने माल उत्पादन गरेकै छन्। भर्खर सातआठ वर्षका बच्चीकाे कलिलाे छालामा क्रिम लगाउन उक्साइरहेका बहुराष्ट्रिय कम्पनीका बासनादार मालहरु यतिबेला खुब बिक्री भए। जन्मिने सुरसार मात्र गरिरहेकाे मलाई कस्मेटिक कम्पानीका मालिकहरुले 'थ्यांक्यु' भनेर मेल गरेका थिए। तपाई फलानाे ब्यांकमा खाता खाेल्नुहाेला कमिशन आउनेछ समेत लेखेकाे।
म याे सब प्रवाह नगरेर प्रसव पीडा खेपिरहेकी मेरि मातालाई जतिसक्यो सजिलाे गराउने धाउन्नमा थिए। भित्रबाट म हजार हात्ती बराबरको बल भएकाे भिमकाे जतिकै बल लगाइरहेकाे थिए। यसैबेला च्याँच्याँ गर्दै म जन्मिन्छु।
राति १२ बजेकाे हुनुपर्ने थियाे। मामाका सुरक्षाकर्मी सबै सुतेका हुने थिए। तर याे केही नभई उज्यालैमा म जन्मिए। आजभन्दा ५ हजार २ सय वर्ष अगाडि देखि जेलमा बसेका मेरा मातपिता सुरक्षाकर्मीसँग ओैधि घुलमिल भैसकेका थिए। माताकाे आँसुकाे चीत्कार र पिताकाे समन्वय क्षमताकाे कारण सुरक्षाकर्मी नसुतेकै अवस्थामा म निशंकाेज जन्मिएकाे हुँ। अझ भनाै माैका छाेपेकाे हुँ। किन भने मामालाई नाच्न भ्याइ नभ्याई थियाे। मामा मान्छे देखेर खुब फुर्किरहेका थिए।
अर्काेतिर म राति जन्मिएकाे भए मलाई हेर्न भनेर गाउँबाट आएका गाउँले आमाबुबा, दाजुभाइ दिदिबहिनीमध्ये धेरै सुतिसकेका हुने थिए। मलाई धेरैले देख्न पाउने थिएनन्। उनीरहरुलाई निराश बनाउने मेराे मनसाय थिएन। तर डर र संसय भयंकर थियाे। एक सेकेन्ड तलमाथि भयाे भने खेल खत्तम हुनेवाला थियाे। याे समय मेरा लागि एक निमेसमै फुटिजाने पानीकाे फाेकाजस्ताे हाे। फुट्याे त सकियाे। तर टाइमिङ चाहिँ गज्जबकाे मिल्याे। मामा बजारमा फुर्की फुर्की नाचिरहेकाे बेला हाे, मैले माैका छाेपेकाे। अनि मिलाइन त टाइमिङ? भन्नुुस् त!
पिताजीकाे युगयुगकाे अनुभवले काम गरिरहकाे थियाे। उनले सबै सुरक्षा कर्मीलाई म जन्मिएकाे खवर प्रसार गरे। तिब्र रुपमा सबैमा खबर प्रबाह भयाे। बाजागाजा, हतियार सहित आ-आफ्नाे आकर्षक पाेशाकमा सजिएर उनीहरु आए, सलामी दिनलाई। पिताजीले मलाई काेर्काेमा बाेके। शास्त्र अनुसार उनले बाेकेर यमुना नदि तरेर गाेकुल पुर्याउनुपर्थ्याे। त्यहाँ मलाई छाेडेर राति नै याेसाेधाकी छाेरी याेगमायालाई ल्याउनुपर्थ्याे। तर उनले यसाे केही गरेनन्। मात्र मामाले नदेख्ने गरि मलाई चन्दनाथ, भैरवनाथ मिन्दिर घुमाए। दरबार मालिकाकाे दर्शन गराएँ।
त्यसपछि म शक्तिशाली, बलशाली भए। शस्त्र, अस्त्रकाे सैद्धान्तिक ज्ञान भएकाे, तिनको संचालनमा निपुर्णता प्राप्ति गरेकाे तथा फाैजी र राजनीतिक मामिलाकाे पनि गहिराे ज्ञान भएकाे कहलिन थालिए। मामालाई लागिरहेकाे थियाे। यी सारा रैतीहरु मेराे पछि लागिरहेका छन्। त्यसैले उनी ओैधि खुसी भैरहन्छन्। यता म उनकाे काल पर्खदै बढ्दैछु।
'मामा २४ घण्टा छ। जतिसक्छाै नाच' मनमनै भन्छु 'त्यसपछि देखाजाएका।' उनी आफ्नै सुरमा थिए। सेना, प्रहरी, शसस्त्र प्रहरी सबैले सलामी दिएपछि मामा आफ्नाे दरबार लागे। म 'नन्द र यसोदा' रहेकाे ठाउँ गाेकुलतिर लागे।
बिस्तारै अँध्यारो हुन थाल्छ। रात पर्छ। गाउँगाउँबाट देउडा खेलाडीहरु बजार आइरहेकाे छन्। नामि खेलाडीहरु बजार पुगेपछि रातिकाे १२ बजे देउडा सुरु भयाे। पाेहरसम्म देउडामा पूर्ण धितालकाे साम्राज्य थियाे। यसपाली उनले छुटाए। प्रेम कामी उनकाे उत्तराधिकारीकाे रुपमा उदाए। सिंजा सभ्यताकाे सबैभन्दा पुरानाे साहित्यकाे रुपमा कहलिएकाे देउडा रातभरि घन्कियाे। देउडाका पारखीहरु कृष्ण मन्दिरनेर छन्। अरु मनलाग्दाे बजारभरी घुमे।
युवा युवतीले कुष्ण लिला भन्दै रातकाे चकमन्न अँध्यारोमा बजारलाई डेटिङ स्पट बनाए। मैले कुनै आपत्ति जनाइन। मैले केही भन्नेबित्तिकै उनीहरु मलाई १६ सय गाेपिनी खेलाएकाे के हाे? भनेर उल्टै प्रश्न गर्ने थिए। त्यसैले म चुपचाप रहें। फेरि मैले उनीहरुलाई राेक्नपनि हुँदैन थियाे। राेकेकाे भए म प्रेम विरोधी भनेर आराेपित हुने थिए। शनिबारको दिन अन्नपूर्ण पाेष्टकाे फुर्सदमा अनुपम पाेखरेलले प्रेम र युद्धमा कृष्णमात्र जायज हुन्छन् भनेर लेखेकै छन्। यतिबेला म किन नाजायज बन्दिउ? भन्नुस् त!
म एक रातमा बढेर ठुलाे भए। नवमीकाे मध्याह्न १२ बजे त म लक्का जवान भइसकेको छु। मामा नाचिरहेका छन्। मेराे बजार प्रवेश भयाे। मान्नुहाेस् मैले मथुरा प्रवेश गरे। एकाएक ठुलाे भएर मामालाई बध गर्न मथुरा प्रवेश गरेको मलाई देखेपछि मामा थाेरै झस्किए हाेलान, सायद। अब म पनि नाैरंगी नाच देखाउँछु। उसबेला मैले अमृत पान गरेकाे हुन्थे। तर याे त कलियुग हाे। त्यसैले म जलपान गर्छु। त्यसैकाे तालमा मात्र नाच्न सकिने रहेछ। नत्र जाेसै नआउने।
मामा र म दुबै नाच्छाैं। नाच्छाैं के भन्नू, युद्ध अभ्यास गर्छाैं। सबैकाे नजरमा म उनीभन्दा अब्बल कहलिन्छु। अलिअलि जलपानकाे ताल, अलिअलि बाजाकाे राग यी सबैकाे मात्रा मिलेकाेले म मामा भन्दा एक कदम अगाडि छु। अब म माैका कुर्छु। उनका बडिगार्डहरुलाई, सुण्डमुण्डहरुलाई, पहरेदारहरुलाई दाइ बलरामले एकएक गरि सुताए। मेराे पालाे आयाे। मामा सुरुवातमा त सिगाैरी खेल्छन्। पछि मेराे तागत देखेपछि उनी भाग्न हतारिए। यही माैकामा मैले उनकाे शिर छिनाले।
सबैले कृष्णले लाखे(कंस) मारे भने। याे खबर फाइबर नेट भन्दा द्रुतगतिमा फैलियाे। सेना आए, प्रहरी आए, प्रशासन अगाडिका शसस्त्र प्रहरी आए। सिडिओ साप पनि आइन। मेराे विजय रथयात्रा कृष्ण मन्दिरबाट सुरु भई चन्दननाथ, भैरवनाथ र दरबार मालिकाको मन्दिर परिक्रमा गरिकृष्ण मन्दिरमै आएर विधिवत् रुपमा समापन भयाे। यस वर्षकाे जात्रापनि सकियाे। मेराे जयजयकार भयाे।
मलाई जयजयकार गर्ने तमाम मानिसहरुका केही अप्ठ्याराहरु मेरा आँखाले देखे। आधुनिकिकरणकाे रुपमा जस्ता पाता हालिएपछि छतबाट हामीलाई हेर्नेहरु बजारमै झर्न बाध्य भए। जनसंख्या वृद्धिदरले पनि बजारमा रहने मान्छेहरुकाे संख्या थपियाे। उनीहरुकाे भिड थामीनसक्नु भयाे। अनी मेराे जयजयकार गर्नेलाई समेत पुलिसले लाठि चार्ज गर्याे। रातभरि मेरा लागि घर छाेडेर आखा चिम्लिएर बजार बसेकाले बिहान सार्वजनिक शाैचालय प्रयाेग गर्न पाएनन्। बजार फाेहाेर भयाे। किनभने सार्वजनिक शाैचालय नै थिएन। मेयरकाे स्मार्ट सिटीकाे उधाेगतिमा एउटा इट्टा घट्याे।
मैले तपाईलाई भनेकाे थिए नी मेराे २४ घण्टा! त्याे समय सकियाे। घडी हेर्नुस् त २४ मिनेट पनि पुग्याे हाेला। यदि छैन भने थप कुरा।
आज भन्दा ५ हजार दुई सय वर्ष अघि सकिएको मेराे कथा जुम्लाले हरेक वर्ष दाेहाेर्याइरहेछ। आज मैले आफ्नाे जन्मकथा सहित यहाँकाे परिपाटीबारे तपाईलाई बताए।
तर, महाभारतमा युगाैंदेखि मैमाथि समीक्षा भइरहेकाे छ। हुनत महाभारतमा पाण्डव र काैरव प्रमुख छन्। तर पर्दा पछाडिको निर्देशक मै हुँ भन्दा पनि फरक पर्दैन। त्यसैले एकथरी मेराे कित्तामा छन्। अर्काेथरी विपरित कित्तामा। विशेषगरि अर्जुन र मेराे मित्रताकाे विषय तथा सुतपत्रकाे रुपमा अपहेलित भएका कर्णकाे विषयलाई लिएर।
कर्णलाई दाेर्णाचार्यले सुतपुत्र भनेर शिक्षा दिन इन्कार गरे। पछि उनैले सुतपत्र र क्षत्रिय बराबर राख्नु हुँदैन भने। कृपाचार्य र भीष्म पितामह जस्ता पराक्रमी र विदुरजस्ता नीतिशास्त्रका ज्ञाताले पनि मुन्टाे हल्लाएर सहमति जानाइदिएँ।
उनी द्राैपतीकाे स्वयम्वरमा त सुतपुत्र भनेर अपहेलित समेत भए। यी सबैकाे साक्षी मैले जातीय रुपमा मान्छेलाई कुनै कामबाट बञ्चित गर्नु हुँदैन भनेर भन्न सकिन। यसैले उनी मदेखि खुब रिसाएका छन्। अहिले पनि मलाई नाचाैनाचाै पार्न बाजा बजाउनेहरु कर्णकै दर्जामा छन्। उनीहरु मेराे भूमिका निभाउनबाट बञ्चित छन्।
उसबेला कर्ण दुर्याेधनकाे पक्षमा थिए। म कृष्णकाे अनन्य मित्र। विराेधी कित्तामा उभिएकाे मैले उनलाई न्याय दिन सकिन, उनी रिसाए। अब म खुलेआम भन्छु कुनै मान्छेलाई जातकाे आधारमा कुनै पनि कामबाट बञ्चित नगराैं।
घडि हेर्नुस् त? सायद २४ मिनेटभन्दा बढी पाे भयाे कि! (याे लेख आर्काइभबाट तानिएकाे हाे)