म भखर्रै कक्षा नौ मा भर्ना भएको थिएँ। त्यो भन्दा पहिलाको पढाइ मेरो बाग्लुङमा भएको थियो। मेरो लागि पहिलो दिन थियो। नयाँ ठाउँ, साथीहरु पनि कोही थिएनन्।
पहिलो दिन क्लासको अन्तिम बेन्चमा एक्लै बसेको थिएँ। त्यो स्कुलको नियम रहेछ, क्लास सुरु भएको पहिलो दिन नै पहिला आएर जहाँ बस्यो त्यही बस्ने। बेन्च कब्जा गर्नुपर्ने रहेछ, मलाई थाहा थिएन त्यो बारेमा।
बाग्लुङमा पढ्दा त केटा-केटी मिलाएर राख्ने गरिन्थ्यो। शिक्षक-शिक्षिकाको मान्यता थियो कि, केटाकेटी मिलाएर राख्दा हल्ला कम हुन्छ र जान्ने/नजान्ने मिलाएर राख्दा सबै विद्यार्थी बराबरी हुन्छन्।
म अचम्म परेको थिएँ। एकतिर केटा नै केटा, अर्कोतर्फ केटी नै केटी। बिल्कुल नयाँ फरक देखिरहेको थिएँ। म स्कुलको पाेशाक लगाएर गएको थिएँ। तर, क्लासमा पाेशाक भने थोरैले मात्रै लगाएको थिए।
पहिलो दिन सबैले मलाई हेरेर हाँसिरहेका थिए। मेराे अगाडि पाका उमेर र ठूलाे उचाइका विद्यार्थीहरू थिए। मलाई अगाडि कालोपाटी हेर्न पनि उभिन पर्थ्यो।
पुराना विद्यार्थीहरू आएर मेरो टाउकोमा 'प्याट्प्याट्ट' हानिरहन्थे। केही दयालु स्वाभावका केटाहरु र केटीहरु आएर 'यस्तो नगर बिचरा नयाँ छ' भन्दै साथ दिन्थे। गाली गर्दथे उनिहरुलाई।
सवा एक बजे नास्ता खाने समय हुँदोरहेछ। सबै जना ग्रुपमा जान्थे। म एक्लै जान्थे र कुनामा एक्लै बसेर खान्थें। एक हप्ता यस्तै निरन्तर चलिरह्यो।
एक हप्तापछि एकजना मेरो उचाइकै केटो मसँगै पछाडि आएर बस्यो। सायद अगाडि हल्ला गर्न नपाएर होला, सुर्ति र पुकार पनि खान्थ्यो। र त्यही थुकिहाल्थ्याे !
सरलाई आँखा जुधाएर हेर्न पनि डर लाग्थ्यो। सरले चर्को आवाजमा बोलाउँदा पनि डराएर थररर काप्ने अवस्था आउँथ्यो। सायद हाम्रो त्यो डरभन्दा पनि गुरुहरूलाई दिने सम्मान थियो।
एकहप्तापछि म जस्तै त्याे केटा बीच-बीचमा आउथ्यो। बस्थ्यो। कुराकानी गर्थ्यो। नास्ता पनि सँगै खान थाल्यो। उचाइमा सानो भए पनि प्रायः त्यो केटाले भनेको सबैले मान्दथे। उसको घर त्यहि स्कुल वरिपरि थियो। उसका गाउँका केटाहरु धेरै थिए। र दादागिरी बढी चल्थ्यो उनीहरुको स्कुलमा।
एक हप्तापछि पाँच जना बसेको तेस्रो बेन्चमा मलाई लगेर राख्यो। तेसपछि हामी छ जना बस्न सुरु गर्याे। सानासाना थियौं तीन जना हामी। बाँकी तीन जना ठिकठाक थिए।
एकदिन मैले सोधेँ, पहिलो र दोस्रो बेन्चमा किन नबसेको तिमीहरु ? सबैले त भनेको मान्ने रहेछन्, तिमीहरुलाई त मनलाग्दी गर्दा रहेछौं, कसैलाई पनि उठाएर बस्न मन लागेको बेन्चमा बस्ने रहेछौ।
उनीहरुको जवाफ थियो, पहिलो र दोस्रो बेन्चमा कालोपाटी टल्किने गर्छ र सरले लेखेको स्पस्ट देखिदैन।
पछाडि बेन्चमा बस्नेले लात्ताले हान्थे मलाई। मैले त्यही साथीलाई भन्थे। उ लड्न जान्थ्यो। एकपटक सरले पठाउदै गर्दा जुरुक्क उठेर उसले मुखमा हानेको थियो। पिटाइ खानेकाे दाँतबाट रगत नै आएको थियो। सरले पनि उसलाई बाहिर निकालेका थिए।
एक महिनाभित्रमा कक्षाकोठाका सबै केटाहरु मेरो साथी बनिसकेका थिए। म उनीहरुसँगै हिँड्ने गर्थे। अब त कसैले चर्को स्वरमा बोल्ने हिम्मत पनि राख्दैन थिए।
केही केटीहरुले मलाई जिस्काउने गर्थे, 'सानो फुच्चे केटा काखमा बस्छौ आउ बस' भनेर। म लजाएर भुतुक्कै हुन्थेँ। बाँकी केटाहरुले 'हामीलाई बसाल न यति धेरै रहर लागेको भए' भन्थे। केटीहरु हपार्थे बाँकी केटाहरुलाई।
सरले पनि अलिक बढी माया र ध्यान दिन थाले। पढाइमा ध्यान नदिँदा, हल्ला गर्दा अगाडिबाट सरले सेतो चकले हान्ने गर्थे। र जुरुक्क उठाएर 'ल भन मैले भखर्रै के भने' भनेर सोध्ने गर्थे।
'यिनीहरु त हल्ला गर्ने टोली हुन्, तलाइ पनि बिगार्ने भए। आफूले त पढेनन् तलाइ पनि पढ्न नदिने भए। अर्को ठाउँमा गएर बस जा भन्थे।', सरहरूले मलाई भन्थे।
कहिलेकाहीँ चार/पाँच जनाको टोली भएर पढ्न मन नलाग्दा अन्तिम बेन्चमा गएर बसिन्थ्यो। हल्ला गरे नि भयो बालै भएन। जे गरे नि भयो। पछाडि बसेर कापी च्यातेर केटीहरूलाई अगाडि हान्ने गर्थ्यौँ। कसले हान्यो-हान्यो, थाहा नै हुन्थेन।
बदमाश केटाहरु काँटाले बाँधेको त्यो केटीको कपाल पनि बाहिर जादैगर्दा खोल्दिन्थे। केटीहरु रिसाउथे र साले गधा भनेर गालि गर्थे।
अगाडिको केटाहरुलाई चक चोर्न लगाएर ट्वाइलेटको भित्तामा ( ला + पु ) लेखेर आउथे भने केही केटाहरु केटीको नाम र आफ्नो नाम लेखेर आउँथे। केहिले भने कम्पासले टेबलमा आफ्नो नाम र केटिको नाम लेख्थे। जस्तै, ( K + R ) ।
केही केटाहरु भने हाजिर लगाउथे र पहिलो क्लास पढेर बाँकी सबै क्लास हाप्थे। बेलुका आउँदा मेरो किताब लिएर आइज है भनेर हिँड्थे।
अचेल ती पुराना दिनहरू सम्झदा म आज पनि मनदेखि भावह्विहल हुन्छु।