२०६० जेठ महीना । मूलपानी, काठमाडौं । साथीसँग काममा जान निस्किएका बुद्धिप्रसाद पोखरेल त्यस दिन पहिलो पटक घर फर्किएनन् । भोलिपल्ट पनि छोरा नआएपछि बाबु गुरुप्रसाद र आमा यशोदादेवीले सोधखोज गर्न थाले । त्यसक्रममा थाहा भयो, छोराका केही साथी पनि सम्पर्कविहीन बनेका रहेछन् । र, यो पनि थाहा भयो, उनीहरू माओवादी बनेर हिंडेका रहेछन् ।
गुरुप्रसाद र आमा यशोदादेवीले त्यसयताका १८ वर्ष बुद्धिप्रसाद खोज्दै र उनको बाटो हेर्दै विताए । जेठो सन्तान बुद्धिप्रसाद घर–परिवारलाई सुख दिन्छु भन्थे । भाइहरू ओमप्रसाद र टीकाप्रसादलाई धेरै पढाउने भन्थे ।
उनी बिहान कान्तिपुर कलेजमा पढ्थे, दिउँसो गोकर्ण गल्फ कोर्समा काम गर्न जान्थे । गल्फ खेल्न आउने युवराज दीपेन्द्रसँग उनले राम्रै चिनजान बनाएका थिए । पढाइमा तीक्ष्ण उनी बाबुआमालाई नयाँ–नयाँ काम गर्ने योजना पनि सुनाउँथे ।
१९ जेठ २०५८ मा दरबार हत्याकाण्ड भयो । १९ गते बुद्धिप्रसादले दीपेन्द्रको नाममा कपाल खौरिएर शोक मनाए । त्यसपछिका दिनमा उनी माओवादी विद्रोहतिर आकर्षित भए । ‘हामीलाई केही थाहा भएन, नत्र त खाँबोमा बाँधेर भए पनि त्यसमा लाग्न दिने थिएनौं’, गुरुप्रसाद पोखरेल भन्छन् ।