आठ करोडका योजना प्रयोगमा नआउँदै बन्द

हिमाल खबर

काठमाडाैं

किसानका नाममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कैलालीमा आठ करोड खर्च गरेर यन्त्र उपकरण केन्द्र, प्रयोगशाला, मिल, मल कारखाना स्थापना गरिए पनि सञ्चालनमा नआउँदै बन्द भएका छन्।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कैलालीमा आठ करोडभन्दा बढी खर्च गरिएका भौतिक संरचना र उपकरण प्रयोगविहीन बनेका छन्। कतिपय उपरकण त प्रयोगमा नआउँदै हराएका छन्।

यो परियोजना अन्तर्गत कैलालीमा पाँच वर्षअघि दुई वटा ‘कस्टम हायरिङ सेन्टर’ अर्थात् बालीको उत्पादनदेखि भण्डारणसम्म प्रयोग हुने यन्त्र उपकरण केन्द्र र एउटा ‘पोस्ट हार्भेस्ट सेन्टर’ अर्थात मैदा मिल, माटो परीक्षण प्रयोगशाला, मल उत्पादन कारखाना निर्माण थालिएको थियो। यसमा आठ करोड १७ लाख ३४ हजार खर्च भएको छ। यी काम सम्पन्न भएको प्रतिवेदनमा पनि देखाइएको छ, तर यो कागजमै सीमित बनेको छ।

यो परियोजना कैलालीका पहलमानपुर, मसुरिया, उदासीपुर र बसौटीमा लागू भएको थियो। स्थानीय कृषक, सहकारी पनि यसमा आबद्ध थिए। यस क्षेत्रमा विभिन्न कार्यक्रम पनि शुरुआत गरिएको थियो।

परियोजनाको सुपर जोन कार्यान्वयन एकाइले कैलालीमा एक हजार हेक्टरमा गहुँ बालीको ‘सुपर जोन’ कार्यक्रम लागू गरिएको थियो। यसका लागि साढे ६ करोड बजेट समेत विनियोजन गरिएको थियो। कृषक समूह, सहकारी संस्था र कृषि उद्यमी परिचालन तथा उन्नत बीउबिजन, मलखाद, सिंचाइ, कृषियन्त्र, माटो परीक्षण, प्रशोधन केन्द्र स्थापनामा खर्च गरिएको थियो।

प्रकाशित मिति: : 2021-08-28 06:49:00

प्रतिकृया दिनुहोस्