'विकासको तीव्र गतिमा अघि बढिरहेकाे एउटा देश अफगानिस्तान। अमेरिकाले अचानक अन्धकारमा धकेलिदियाे।'
अफगान युद्धपछि उक्त बहस विश्वव्यापी रूपमा चलिरहेकाे छ। भलै यसकाे अर्काे कारक र गृहयुद्ध मच्चाउने सशस्त्र विद्राेही तालिबान सङ्गठनसमेत उत्तिकै दाेषी छ।
तालिबान लडाकूहरू काबुल छिरेपछि अफगानिस्तानमा शान्ति बिथोलिएको छ। यहाँका हजाराैँ–हजार नागरिकहरू देश छाड्न बाध्य भएका छन्। उनीहरू आतङ्ककाे कुहिराेभित्र उकुसमुकुस बाँचिरहेका छन्।
सीमानाका पार गरी देश छाड्ने बाटाे तालिबानले कब्जामा गरेपछि उनीहरू समग्र रूपले बन्दी भएका छन्। अफगानी नागरिकहरू काबुलको हवाईअड्डामा तँछाड्–मछाड् गरिरहेका दृश्य दिनहुँ सञ्चारमाध्यममा भेटिन्छन्। विमानमार्फत् देशबाहिर भाग्न चाहे पनि यति बिघ्न मानिस विमानको झ्यालबाट कसरी भित्र छिरुन्– सम्भवै भएन।
विमानभित्र चढ्न प्रयास गरिरहेका तथा चक्कामा चढ़ेर देशबाट भाग्ने चेष्टा गरेका दृश्यबाट त्यहाँ चरम सङ्कटपूर्ण अवस्था रहेको सजिलै बुझ्न सकिन्छ।
लामाे सशस्त्र द्वन्द्व र शक्तिशाली मुलुकहरूकाे राजले अफगानकाे सांस्कृतिक चेतना, सामाजिक-आर्थिक विकास ध्वस्त भइसकेकाे छ।
सबैका आँखा अघिल्तिरबाटै उग्र कट्टरपन्थी समूहले देशको शासन व्यवस्था आफ्नो अधीनमा लिँदा समेत अन्य राष्ट्रहरू मौन बनेर हेरिरहे।
अफगानिस्तानको सैन्य शक्तिबाट प्रतिवादसम्म भएको देखिएन। फलस्वरूप सबैभन्दा बढ्ता हानी अफगानी नागरिककै भएको छ।
देश सञ्चालनमा धेरै भुल-त्रुटीहरू रहे पनि २० वर्षभित्र स्वतन्त्रता भने पूर्ण उपयाेग भएकाे थियाे। पछिल्लाेपल्ट तालिबान सत्तामा आएसँगै काबुल, कन्दहार, गजनी र हेरटमा खुला रूपमा देखिने महिला बुर्काले अनुहार ढाकी भित्र पसेर सपना देख्न थालेका छन्। उनीहरू सबैभन्दा बढी चिन्तित र त्राशमा छन्।
२० वर्षसम्म देशको सीमासहित भित्री सुरक्षाको अधिकांश दायित्व अमेरिकी सेनाले लिएकाे थियाे। अमेरिकी तथा नेटाे सेना अचानक देश फर्किनाले अफगानिस्तानमा आपतमा परेको हो।
दुई दशकसम्म तालिबान लडाकूहरू निष्क्रिय भएका मात्र थिए, शक्तिहीन चाहिँ भएका थिएनन्। अमेरिकी सेना देश छाड़ेर गएपछि तालिबान लडाकुहरूले एकपछि अर्काे गर्दै प्रदेशहरू कब्जामा लिन थाले। अन्ततः काबुललाई पनि आफ्नो कब्जामा लिइछाडे।
अमेरिकी गठबन्धनकाे हारसँगै शक्तिशाली मुलुकहरू मौन छन्। जङ्गी बलको ताण्डव हेरिरहेका छन्। यस्तो घटनाले तालिबान लडाकूहरू मात्रै हाेइन, विश्वभरिका अतिवादहरूसमेत उत्साहित भएका छन्।
एकाइसौँ शताब्दीमा पनि कट्टपन्थीको नियन्त्रणमा एउटा देश पर्न सक्छ। प्रजातन्त्र, स्वतन्त्रता र धर्म निरपेक्षतालाई पराजित गरेर उग्रपन्थी कायमै रहेकाे ठूलाे एउटा प्रमाण अफगानिस्तान बनेकाे छ।