नेकपा एमालेका युवा नेता विष्णु रिजाल पार्टीभित्रको विवादलाई इतिहास हुनेहरू र भविष्य हुनेहरूबीचको टकरावको रूपमा चित्रण गर्छन्। अझ गहिरोगरी नियाल्दा एमालेभित्रको पछिल्लो भागदौडमा तीनथरि प्रवृत्ति देखिन्छ- लामो इतिहास भएका, निकट भविष्यमै लाभ देखिरहेका र लामो भविष्य भएका।
लामो इतिहास भएका पहिलो पुस्ताका नेताहरूसँग भविष्यको कुनै मार्गचित्र छैन। त्यसैले उनीहरू प्रायः इतिहासको कुरा गरेर समय बिताउँछन्। यही पहिलो पुस्ताका नेताहरूको जुँगाको लडाईं र ‘इगो’ समस्याले नेकपासँगै नेकपा एमाले पनि विभाजित बनेको छ।
दोस्रो पुस्ताका नेताहरू निकट भविष्यमै लाभ देखिरहेका नेताहरू हुन्। उनीहरू पनि केपी ओली र माधव नेपाल समूहमा विभक्त छन्। उनीहरू पार्टी एकीकृत रहेमा निकट भविष्यमै लाभको पदमा पुग्न सक्ने हैसियत राख्ने नेताहरू हुन्। उनीहरूले आफ्नो सिंगो जीवन लगानी गरेर लाभ लिने बेला कुनै जोखिम उठाउने हिम्मत देखाउन सकेनन्।
यो पुस्ताले पहिलो पुस्ताबाट नेतृत्व खोसेर आफूमा ल्याउन सक्थे। नेपाल समूह निकट केही नेताले यो प्रयास गर्दै तेस्रो धारको बहस सुरु गरे। तर यो एक हप्ता पनि टिकेन। किनकी यो उनीहरूको चाहनामा मात्र निर्धारण हुँदैनथ्यो। ओली समूहमा रहेका दोस्रो पुस्ताका नेताहरू ओलीलाई चुनौती दिनसक्ने भूमिका र हैसियतमा देखिएनन्।