अमेरिकी 'सीआईए' निर्देशकले तालिबान उपनेतासँग गोप्य भेटवार्ता गरेको खुलासा

Breaknlinks
Breaknlinks

अमेरिकी गुप्तचर एजेन्सी (सीआईए)का निर्देशक विलियम बर्न्सले तालिबान सह–संस्थापक मुल्लाह अब्दुल घानी बरादरसँग गोप्य भेटवार्ता गरेकाे खुलासा भएकाे छ।

अमेरिकी एक अधिकारीलाई उद्धृत गर्दै वासिङ्टन पोस्टले निर्देशक बर्न्स र उपनेता बरादरबीच साेमबार काबुलमा गाेप्य वार्ता भएकाे दाबी गरेकाे छ। उपनेता बरादर तालिबानका सह–संस्थापक तथा राजनीतिक विभागका प्रमुख हुन्। 

उनीहरूबीच तालिबानले अफगानमा सत्ता कब्जापछि पहिलाे र विशेष संवाद भएकाे जनाइएकाे छ। जसलाई उच्चस्तरीय आमनेसामने वार्ता समेत भनिएकाे हाे।

तालिबान नेताहरूसँगकाे भेटवार्तामा अमेरिकी गुप्तचर एजेन्सीका निर्देशकसहित अन्य अधिकारी र अमेरिकी सेनाका प्रतिनिधिहरू सामेल भएकाे स्राेतले जनाएकाे छ। सीआईएले यसबारे आफूमाथि लागेको आरोपकाे कुनै जवाफ दिएको छैन।

काबुलस्थित एक अधिकारीका अनुसार निर्देशक बर्न्स अफगानिस्तानकाे पछिल्लाे संकट समाधान गर्न पूर्ण रूपमा लागिपरेका छन्। उनी इजिप्ट, लेबनान, इजरायल हुँदै प्यालेस्टाइनको भ्रमणपछि काबुल पुगेका हुन्।

यता तालिबानले भने अमेरिकी सेनाले तोकिएको सीमाभित्र अफगान छाडेर नगए कडा परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले भने तोकिएको समय सीमाभित्रै अफगानिस्तान छाड्न नसक्ने संकेत गरेका छन्। यसबारे बाइडेन प्रशासनको निर्णय छिट्टै नै आउने अपेक्षा गरिएको छ।  

व्हाइट हाउसका अनुसार अफगानमा तालिबानले सत्ता कब्जा गरेपछि ४८ हजार बढी मानिसलाई उद्धार गरिएको छ। 

प्रकाशित मिति: : 2021-08-24 21:59:00

प्रतिकृया दिनुहोस्