१० बुँदे लागू भएन भने पार्टी विभाजन अपरिहार्य बन्छ

'कमरेड ओलीको कर्मले एमालेको घरमा मेलम्ची पस्यो'

अनलाइनखबर

काठमाडौं

आठ महिना लामो मतभेद र अन्तरसंघर्षपछि २ भदौदेखि नेकपा एमाले विभाजन वैधानिक प्रक्रियामा गएको छ । पूर्वप्रधानमन्त्री एवम् वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताको प्रक्रियामा छ ।

तर नयाँ दल दर्ता गराइरहँदा माधव नेपालले आफ्नै समूहका प्रभावशाली नेताहरुको साथ पाउन सकेनन् । नवौं महाधिवेशनबाट निर्वाचित सात पदाधिकारी सहित ९ स्थायी कमिटीका नेताहरू फेरि पनि पार्टी एकता जोगाउन अभियानमै लागेका छन् । तिनै मध्येका एक नेता हुन्, उपमहासचि घनश्याम भुसाल ।

मुलुकको भू-राजनीतिक अवस्थाका कारण प्रमुख राजनीतिक शक्तिहरु एकताबद्ध हुनुपर्ने आवश्यकता रहेकाले एमाले एकताकै पक्षमा अन्तिमसम्म प्रयत्न गर्ने उनी बताउँछन् । भन्छन्, ‘हामी जस्तो भू-राजनीतिमा छौं, आफ्नो मामिलामा आफैंले निर्णय गर्न सक्ने सामर्थ्य आर्जिनु धेरै ठूलो हो । त्यसका निम्ति पनि प्रमुख राजनीतिक शक्तिहरु एकताबद्ध हुनुपर्छ, बलिया हुनुपर्छ ।’

एमालेको एकता अझै पनि ओलीकै निर्णयमा भर पर्ने बताउने भुसाल १० बुँदे कार्यान्वयन नभए विभाजन अपरिहार्य देख्छन् । ‘सँगै बस्ने वातावरण बनाउन, १० बुँदे सहमति गरेका थियौं । त्यो सहमति लागू हुँदै भएन भने विभाजन अपरिहार्य बनिदिन्छ’, उनी भन्छन् । तर पार्टी विभाजन गर्न व्यवस्थित रुपमा लागेको अध्यक्ष ओली र एमाले एउटै नभएको भुसालको तर्क छ ।

माधव नेपालले पनि पार्टी विभाजन गर्न अलिक हतार गरेको बताउने उनी एकता जोगाउने चिन्तामा एमालेभित्र पक्ष र विपक्ष नरहेको पनि बताउँछन् ।

प्रकाशित मिति: : 2021-08-22 11:35:00

प्रतिकृया दिनुहोस्