‘रसिला तामाङ!’
मञ्चबाट अंग्रेजी बोलिरहेका उद्घोषकले दुई पटकसम्म यो नाम उच्चारण गरे। भीडमा अलमल्ल परेकी रसिला नाम सुन्नेबित्तिकै चनाखो भइन्। यताउति हेरिन्। त्यो नाम गरेको अर्को कुनै व्यक्ति मञ्चमा उक्लिएन।
पक्का भइन्– नाम त मेरै हो!
उनीसँगै ख्यातिप्राप्त अल्ट्राधाविका मीरा राईको नाम बोलाइयो। रसिला मीरासँगै मञ्चमा उक्लिइन्। उनलाई सम्मानका साथ कास्य पदक दिइयो। दर्शकदीर्घाबाट तालीको फोहोरा छुट्यो। ‘यो के हुँदैछ?’ सपनामा पनि कहिल्यै नचिताएको दृश्य देख्दा उनी विश्वास गर्न सकिरहेकी थिइनन्।
स्टेजबाट तल ओर्लिइन्। अलि पर एकजना दिदी उनैतर्फ हेर्दै हाँसिरहेकी थिइन्।
‘देख्यौ, तिमी त आउँदिनँ भन्दैथ्यौ। मैले जबर्जस्ती नल्याएको भए..,’ नजिक पुगेपछि दिदीले रसिलालाई भनिन्। केही नबुझेपछि उनी पदक ओल्टाइपल्टाइ हेर्न थालिन्।
‘म सेकेन्ड पो भएछु,’ उनको अनुहारमा पहिलो पटक खुसीको लेपन लाग्यो।
सन् २०१५ तिर, धादिङको गाउँकै चर्चमार्फत् उनी जाउलाखेलस्थित एउटा तालिममा सहभागी भएकी थिइन्। अन्तिम दिन अन्तर्राष्ट्रिय नारी दिवस थियो। उनीहरूलाई त्यस दिन एउटा फारम भराइयो।