निवर्तमान एमाले वरिष्ठ नेता माधवकुमार नेपालले ६९ वर्षको बयोबृद्ध उमेरमा समाजवादी पार्टी खोल्न निर्वाचन आयोगमा निवेदन दर्ता गराए।
उनले पार्टीको नाम राखे - नेकपा एमाले (समाजवादी)। यो त छोटकरी नाम मात्र हो। लम्करी नाम त लम्बेतान छ। नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी-लेनिनवादी (समाजवादी)।
यो नाममा एमाले शब्दले कता के अफ्ट्यारो पारेछ, उनले फेरि आज नाम फेरे-नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)।
लामो समयको ङ्गारङ्गार-ङ्गुरङ्गुरपछि एमालेबाट एउटा टुकुडी लिएर नेता नेपालले आफ्नै कप्तानीमा यो दल खोल्न लागेका हुन्। उनको दलको अर्थ पर्गेल्न बडो गाह्रो छ। कम्युनिष्टको नेपाली अर्थ साम्यवादी हुन्छ। साम्यवाद समाजवादभन्दा माथिल्लो खुड्किलो हो, अर्थात् जनवादको विकासबाट समाजवादमा, र समाजवादको पूर्ण विकास भइसकेपछि साम्यवादमा पुगिन्छ। साम्यवाद कम्युनिष्टहरुको अन्तिम लक्ष हो।
दलको नाममा कम्युनिष्ट शब्द आइसकेपछि उनले फेरि किन समाजवादी फुर्को जोडेका होलान्, नबुझेर चिप्लिएको हो कि बुझी-बुझी गरेका होलान्!
पार्टीको नामले बोक्ने अर्थ चाहिं चाकाचुली जस्तो भो। कुनै व्यक्तिको शैक्षिक योग्यतासहित नाम लेख्नु पर्यो भने यस्तो चलन छ। जस्तै- माधवकुमार नेपाल, विकम। यसको अर्थ, उनको शैक्षिक योग्यता विकम हो। यो वाक्यबाट उनले शिशु कक्षादेखि स्नातक तहसम्मका सबै कक्षाहरु पास गरे भन्ने स्वतः बुझिन्छ। अब यस्तो लेख्यो भने कस्तो हुन्छ होला- माधवकुमार नेपाल, विकम (कक्षा १०)। यो त ठ्याक्कै, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जस्तै।
उनको पार्टीको नाममा प्रयोग भएको 'समाजवादी' शब्द नेपाली राजनीतिमा अधिक प्रयोग भएर थोत्रिएको शब्द हो। २०१४ सालमा भएको नेपाल कम्युनिष्ट पार्टीको दोस्रो महाधिवेशनबाट महासचिव भएका केशरजंग रायमाझी २०१७ सालमा पंचायतमा पसे।
पंचायत ढलेर दलीय व्यवस्था आएपछि २०४७ सालमा उनले जनता दल (समाजवादी प्रजातान्त्रिक) नामको पार्टी खोले। यो नै नेपालमा पार्टीको नाममा समाजवादी शब्द प्रयोग गर्ने पहिलो राजनीतिक दल हो। यो पार्टीले २०४८ को आमनिर्वाचनमा एक सिट पनि जितेन, जम्मा ५७६० मत ल्यायो। २०५१ को मध्यावधि निर्वाचनमा जित्नु त परै जाओस, जम्माजम्मी मत नै ४०४ मात्र ल्यायो। पछि यो पार्टी नै हरायो।
२०५६ को निर्वाचनमा समाजवादी गरिब पार्टी आयो। एक सिट पनि नजितेपछि यो पनि बिलायो। २०६४ को पहिलो संविधानसभा निर्वाचनमा दुई वटा समाजवादी नामका पार्टीहरु देखा परे, नेपाल लोकतान्त्रिक समाजवादी दल र समाजवादी प्रजातान्त्रिक जनता पार्टी। समानुपातिक प्रणालीका कारण यिनीहरुले एक-एक सिट हात पारे।
तत्कालीन एमाले उपाध्यक्ष अशोक राईले एमाले छोडेर २०७० सालमा संघिय समाजवादी पार्टी नेपाल गठन गरे। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा समाजवादी नामका ८ वटा दलहरु चुनाव लडे। अशोक राईको पार्टीले एक सिट पनि जितेन, तर समानुपातिकबाट ५ सभासद पायो। राष्ट्रिय मधेश समाजवादी पार्टीले पनि समानुपातिकबाट ३ सभासद भेट्यो।
संघीय गणतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल लोकतान्त्रिक समाजवादी दल, संघिय समावेशी समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माले-समाजवादी), नेपाल समाजवादी पार्टी (लोहियावादी) र नेपाल मधेशी जनता दल (समाजवादी) ले संविधानसभामा प्रवेश नै पाएनन्।
२०७४ मा उपेन्द्र यादवको मधेशी जनअधिकार फोरम नेपाल, अशोक राईको संघिय समाजवादी पार्टी नेपाल र युवराज कार्कीको खस समावेशी पार्टी मिलेर संघिय समाजवादी फोरम बन्यो।
यहीँ नामबाट यो पार्टीले २०७४ को चुनाव लड्यो। नेपाल संघीय समाजवादी पार्टी र राष्ट्रिय समाजवादी पार्टी नेपाल पनि चुनाव भिडे। २०७० को चुनावमा काबु भएका ७ वटा समाजवादी नामका दलहरु २०७४ को चुनावमा देखा परेनन्।
२०७४ को निर्वाचनपछि संघीय समाजवादी फोरम र बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी नेपाल मिसिएर समाजवादी पार्टी नेपाल बन्यो। यो पार्टीले फेरि महन्त ठाकुरको राष्ट्रिय जनता पार्टीसंग एकता गर्यो र जनता समाजवादी पार्टी (जसपा) बन्यो। अहिले ठाकुर छुट्टिएर गए पनि जसपा कायमै छ।
यसरी २०४७ सालदेखि अहिलेसम्म १७ वटा समाजवादी नामका दल देखापरिसकेका छन्। माधव नेपालले बनाउन लागेको नेकपा (एकीकृत समाजवादी) अब १८ औं समाजवादी नामको दल हुनेछ। स्यालको बुद्धि बिग्रियो भने शहर पस्छ भन्थे, कम्युनिष्टको बुद्धि बिग्रियो भने 'समाजवादी' हुँदोरैछ कि क्या हाे !
केशरजंग रायमाझीदेखि अशोक राई, विजय शुब्बा, अजम्बर काम्वाङ्गसम्मको इतिहास हेर्दा त्यस्तै लाग्छ।
पूनारुत्थानवादी, विसर्जनवादी, जातिवादी, नश्लवादी, क्षेत्रीयतावादी, विखण्डनवादीलगायतका अनेकवादीहरुले उडाएको थोत्रो 'समाजवादी' जहाजमा अब बयोबृद्द नेता नेपालले उडान भर्ने नै भए। उडान सुरक्षित अवतरण होस्।
ह्याभ अ सेफ जर्नी, कमरेड !