सत्ताकब्जाविरूद्ध काबुलसहितका शहरमा प्रदर्शन, तालिबानद्वारा कर्फ्यू घोषणा

Photo - EPA
Photo - EPA

तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि पहिलोपटक काबुल शहरमा कर्फ्यू घोषणा गरेको छ।

अफगान राजधानी काबुलसहित देशका ठूला शहरहरुमा तालिबान सत्ताकब्जाविरुद्ध बिहिवार प्रदर्शन भएपछि तालिबानले कर्फ्यू घोषणा गरेको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार तालिबानले सत्ताकब्जा गरेपछि बिहिबार पहिलो ठूलो विरोध प्रदर्शन भएको छ। तालिबानले स्वतन्त्र दिवसको र्‍यालीमा राष्ट्रिय झण्डा फहराइरहेका स्थानीय नागरिकमाथि गोली चलाएपछि, काबुलकाे पछिल्लो अवस्था बिग्रिएको छ।

कर्फ्यू लगाएपछि तालिबान लडाकूहरूले राति ९ बजेपछि घर बाहिर निस्कन अनुमति दिएका छैनन्। काबुल महानगर देशको सबैभन्दा व्यस्त र धेरै जनसंख्या भएको शहर हो। 

हप्ता दिनदेखि यहाँको जनजीवन त्राशै–त्राशमा बितिरहेको छ। अफगानिस्तान इस्लामिक इमिरेट्सका सदस्यहरूले काबुलको हरेक मस्जिदमा समेत कर्फ्यूको घोषणा गरेका छन्। उनीहरूले प्रतिबन्धित समयपछि मानिसहरूलाई सहयोग चाहिएमा सम्पर्क आउन आग्रह गरेका छन्। 

काबुलमा अर्को आदेश नआएसम्म कर्फ्यू कायमै रहने बताइएको छ। बिहिबार तालिबान लडाकूहरूले अन्धाधुन्ध गोली चलाउँदा कयौँ प्रदर्शनकारी हाताहाती थिए।

प्रकाशित मिति: : 2021-08-20 13:02:00

प्रतिकृया दिनुहोस्