महामारीबाट पाठ नसिकेको प्रदेश सरकार

चैत १५, २०७६ मा बाग्लुङकी १९ वर्षीया किशोरीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भयो । विश्वका थुप्रै देशमा भयावह अवस्था ल्याएको महामारी नेपालमा भर्खर देखिएको थियो र उनी देशकै पाँचौं संक्रमित थिइन् ।

पीसीआर परीक्षण गर्नसमेत काठमाडौं लैजानुपर्ने त्यो बेला संक्रमितको उपचारका लागि अस्पतालहरु तयार भएनन्, पोखरा लैजान एम्बुलेन्स चालकले मानेनन् । एम्बुलेन्स चालक ‘गायब’ भएपछि जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङ प्रमुख सुरज गुरौ आफैंले ड्राइभिङ गरेर धौलागिरि अस्पतालमा ल्याउनुपर्‍यो ।

त्यसयता आज ३ भदौ २७८ सम्म गण्डकी प्रदेशमा ७७ हजार जनाभन्दा बढी संक्रमित भइसकेका छन्, उनीहरुमध्ये १२२१ जनाले ज्यान गुमाएका छन् । देशका अरु भागमा जस्तै गण्डकीमा पनि पहिलोभन्दा दोस्रो लहरमा संक्रमण र मृृत्यु बढ्यो ।

दोस्रो लहर पूर्ण नियन्त्रणमा नआउँदै फेरि संक्रमण बढ्न थालेको छ । अस्पतालका बेडहरु संक्रमितले भरिएका छन्, जसमध्ये धेरैलाई हाइफ्लोमा अक्सिजन दिनुपर्ने बाध्यता छ ।

तर महामारीबाट न प्रदेश सरकारले पाठ सिकेको देखिन्छ, न सर्वसाधारण सचेत भएका छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड वार्डमा कार्यरत एक चिकित्सक भन्छन्, ‘डेल्टा र डेल्टा प्लस भेरियन्ट आफैंमा संक्रामक छ, त्यसमाथि हेलचेक्र्याइँ त्यस्तै छ । निषेधाज्ञामा कडाइ छैन, फुक्काफाल छन् ।’

प्रकाशित मिति: : 2021-08-19 21:50:00

प्रतिकृया दिनुहोस्