अस्ट्रेलिया सरकारले मे २६ तारिखलाई राष्ट्रिय क्षमा दिवसको रुपमा मनाउँदै आएकाे छ। त्यसको मुख्य कारण भनेको आदिवासी समुदायमाथि गरिएको दमन विभेदप्रति आत्मालाेचना हाे।
त्यस्तै अमेरिकामा पनि जर्ज फाेल्याेइडकाे हत्यापछि सेता समुदायले काला समुदायसँगै रङ्ग विभेद विरुद्धको आन्दोलनमा काँध काँधमा मिलाएर सहभागी भएका थिए। त्यहाँको प्रहरी प्रशासनले पनि आम काला समुदायसमक्ष आफ्नाे सहकर्मीले गरेको अपराधकाे निम्ति सार्वजनिक स्थानमा घुँडा टेकेर माफी मागेको थियो।
नेपालमा पनि सदियाैंदेखि जातको आधारमा दलितमाथि गैरदलितले जातीय दमन र ज्यादती गरेका कयौं घटना छन्। समाजको कुनाकुनामम दलितले विभेद सहनु परेको चित्र हाम्रो वरिपरि दिनहुँ देखिएको छ। यस्तो अवस्थामा नेपालका गैरदलितले आफ्नाे तथा पुर्खाले गरेको अपराध पापप्रति संयम भएर माफी माग्ने छन् त?
नेपाली समाजको सांस्कृतिक र धार्मिक पक्ष हेर्दा, उच्च जातीय अहंकारी रवैया देख्दा, दलित समुदायसँग माफी माग्ने सवालमा गैरदलितबाट भिन्नभिन्न काेणबाट विभिन्न अभिव्यक्ति अवश्य आउनेछन्। काेहि किन माग्ने माफी, याे त चलि आएकाे चलन हाे। हामीले हिजोआज स्थापना गरेको हाेइन क्यारे! विस्तारै परिवर्तन हुँदैछ भन्ने प्रश्न उत्तर गर्नेछन्। कति प्रगतिशीलले हामीले माफी माग्नुपर्छ भन्लान्। धेरै हिन्दु अतिवादीले किन माफी माग्ने, के भएको छ र, जे छ ठिक छ, जातको नाममा सद्भाव विगार्ने काम नगराैं, जस्ता गैरजिम्मेवारी तर्क देलान्। केहीले जबसम्म दलित समुदायलाई प्रदान गरिएको आरक्षण हट्दैन तबसम्म जातीय विभेद मान्छु भनेका छन्। कसैले माफी माग्नुकाे कारण के भनी प्रतिप्रश्न गर्लान्।
वास्तवमा व्यक्तिले दिने अभिव्यक्तिमा उसको चेतना संस्कार समाजिक आचरण झल्किएकाे हुन्छ। व्यक्ति कस्तो समाजमा हुर्केको हाे, कस्तो समाजिक संस्कारमा बाँचेको छ। त्यो थाहा पाउन उसले प्रस्तुत गर्ने बिचार विमर्श र तर्कबाट धेरै कुराकाे पत्तो पाइन्छ । व्यक्तिकाे आनिबानि चालचलनमा पनि उसले पाएकाे राजनीतिक र समाजिक चेतनाले ठुलो भुमिका खेलेको हुन्छ।
उदाहरणकाे लागि नेपाली युवाको साेच विचार हेरे धेरै कुरा थाहा पाइन्छ। पहिला र अझैसम्म विकट ग्रामीण भेगका गैरदलित युवाले दलित समुदायका वृद्धलाई तिमी भनेर सम्बाेधन गरिन्थ्यो र गर्नछन् पनि। धेरैले दाइ भनेर सम्बाेधन गर्थे र गर्छन् पनि। पहिला दलित जेष्ठ नागरिक वा आफूभन्दा अग्रजलाई गैरदलितले नमस्कार गर्दैन थिए। यस्ता धेरै गतिविधि छन्, जसबाट हामीले पाएकाे समाजिक संस्कार कस्तो थियो, भन्ने कुरा सजिलैसँग अनुमान गर्न सकिन्छ। जसको झलक आजसम्म पनि हाम्रा गतिविधिमा देखिएका छन्।
पश्चिमा देशको तुलना नेपाली समाजका धेरै संस्कार रुडिवादी परम्पराबाट संचालित छन्। हाम्रो गतिविधिबाट हामी कतिसम्म कथित जातवादी संस्कारले संकुचित बनाएको छ, त्यो हाम्रो बाेलाइ, चालचलन, आचरणबाट पुष्टि हुन्छ। भलै माथिल्लो अनुच्छेदमा समावेश गरिएका प्रश्न हाइपाथेटकल हुन् तर नेपाली समाजको धार्मिक सांस्कृतिक र जातवादी संरचना अध्ययन गर्दा उक्त प्रश्न यथार्थमा हुने सम्भावना प्रवल रहेको छ।
सदियाैंबाट संरचनात्मक लाभांशमा हुर्केको जमातले प्रगतिशील अवधारणा अपनाउन त्यति सजिलो देखिँदैन। उसले कथित उच्च जात पाएकै कारणले प्राप्त संरचनात्मक लाभांश त्याग्न असहज अवस्य मान्ने छ। तर, एउटा गम्भीर प्रश्न, आजकाे युवाले, नागरिक समाजले सदियाैंदेखिकाे आफ्नाे गल्तीप्रति आत्मलाेचना गर्ने कि नगर्ने? दलित समुदायसमक्ष माफी माग्ने कि नमाग्ने?
निश्चितरूपमा पिडक समुदायले दलित समुदायसँग सप्रेम ससम्मान माफी माग्नुपर्छ। प्रत्येक गैरदलित तथा स्वयम् दलितभित्रकाे बाहुनवादी प्रवृत्ति अङ्गगालेकाे समुदायले माफी माग्ने अवधारणालाई अगाडि सार्नुपर्ने देखिएको छ। कमसेकम यस्ता नवीन साेचबाट केही परिवर्तन आउने र सकारात्मक सन्देश जाने सम्भावना धेरै हुन्छ।
गल्ती गरेपछि माफी माग्नु सभ्य मानिसको परिचय पनि हाे। जातीय विभेदको सवालमा नेपाली समाजमा दलितमाथि गैरदलितकाे जातीय विभेद, ज्यादती र गालीगलाेजकाे कुनै लेखाजोखा छैन। सामान्य कलहमा पनि गैरदलितले दलितप्रति लक्षित निकृष्ट शब्द प्रयोग गरि सम्पूर्ण दलित समुदायलाई समेत गालीगलाेज गरेको देखिन्छ। त्यस्तै अन्तरजातीय विवाहमा हुने अवरोध, हत्या हिंसा र धार्मिक बहिष्करणलाई पनि नेपाली मिडियाले हाम्रो समाज कस्तो छ भनेर बेलाबेला हाम्रो असली चरित्र चित्रण गरेका छन्। स्वदेशी तथा विदेशी गैरसरकारी संस्थाले दलितमाथि गैरदलितकाे जातीय ज्यादती बारे गहन तरिकाले अध्ययन गरेका छन्।
यी यावत घटनाक्रम हेर्दा माफी निश्चितरुपमा कम हुन्छ तर उदाहरणीय भने पक्का हुनेछ। देशमा घटेका जातीय विभेदका घटना र सबै तथ्य र दस्तावेजकाे मुल्यांकन गर्दा दलितमाथिकाे भएका अन्याय अत्याचार र ज्यादतीको जति भत्सर्ना गरे पनि अपुग हुन्छ। तिताे सत्य के हाे भने गैरदलित माफी अपुग हुन्छ तर सकारात्मक साेच र सन्देशलाई तमाम दलित समुदायले स्वागत गर्नुपर्छ। माफी माग्नु आफैमा सकारात्मक सन्देश हाे, परिवर्तनको सेतु हाे। विडम्बना, किन आजसम्म गैरदलितले माफी मागेनन्? कम्युनिस्ट किन सक्रिय भएनन्? यसको एकमात्र कारण भनेको ढाेंगी प्रवृत्ति हाे।
राजनीतिक तहमा दलित समुदायले सबैभन्दा धेरै आशा कम्युनिस्ट पार्टीहरुलाई गरेकाे थियो। उनीहरू प्रगतिशील अवधारणाले धेरै दलितलाई परिवर्तनको सपना देखाएको थियो। तर विडम्बना नेपाली समाजमा कम्युनिस्टको खाेल ओडेर वर्षाैंदेखि माक्र्सवाद लेलिनवाद रटान गरेका प्रगतिशीलले बाहिरी आवरणमा जति ज्ञानगुणका कुरा गरे पनि, समानताका तर्क राखे पनि, जब दलित र गैरदलितबीच पारिवारिक सम्बन्ध तथा नातागोता गाँस्ने अवस्था आउँछ तब उ भित्रकाे बाहुनवादले सबै प्रगतिशील अवधारणालाई पराजित गरेका कयौं उदाहरण हाम्रै अगाडि छन्।
जस्तै कथित प्रगतिशील ग्रामीण भेगका नेताको राेहभरमा अन्तर जातीय प्रेम विवाहलाई छुट्टाउने काम भएका छन्। जातीय विभेदका घटनाका आराेपतिलाई सजिलै उन्मुक्ति दिने काम गरेका छन्। कानुनी उपचारको साटो स्थानीय स्तरमा मेलमिलाप गराउने डरलाग्दो जातवादी अभ्यासकाे खुलेआम थालनी गरेका छन्। कसरी हुन्छ विद्रोही मनलाई रुडिवादकाे अगाडि झुकाउने प्रपञ्च रचेका छन्।
धेरै गैरदलित शिक्षित वर्ग पनि जातीय विभेदका घटनामा बेलाबखत नाङ्गिएका छन्। उनीहरू भित्रकाे संक्रिण साेच, जातवादी संस्कार, अहंकार र विभेदकारी स्कुलिङ अक्सर जातीय विभेदका घटना पश्चात्, उनीहरुका तर्क र गतिविधिले पुष्टि गरेको छ। उक्त जमातले दलित र गैरदलित बीचकाे प्रेम विवाहलाई स्विकार्न सक्दैन। सामाजिक र धार्मिक एकतामा उ बाेले पनि कार्यन्वयनतिर लाग्दैन।
वास्तवमा ढाेगीं मानिसले जति सकरात्मक अभिव्यक्त दिए पनि, जतिसुकै अध्ययन गरे पनि उसको ढाेगं कहिकतैबाट उसको निजी मुल्यमान्यतमा अवश्य देखिन्छ। नेपाली समाजमा यस्ता ढाेंगीकाे बिगबिगी रहेको छ। खैर दलितसँग माफी पाउँ कार्यक्रम आयाेजना गर्दा कति गैरदलित उपस्थिति हाेलान्? याे हाइपाेथेसिसले कत्तिको सार्थकता पाउँला? प्रश्न जति सरल देखिए पनि उत्तर निकै जटिल छ। अझ व्यवहारमा उतार्न धेरै अफ्ठेरो हुनेछ।
सामाजिक सांस्कृतिक मुल्य मान्यताअनुसार व्यक्तिले गल्ती गरेपछि माफी माग्नुपर्छ। सहरिया जीवनमा अन्जानमै कसैलाई बाधा पुग्ने काम गरे 'सरि' शब्द प्रयोगमा आइरहेकाे छ। 'हाछिउँ' गर्दा सरि, 'एक्सकिउँज मि' जस्ता अङ्ग्रेजी शब्द प्रयोग गर्ने धेरै छन्। तर जातीय विभेद लाद्ने समुदायबाट पिडित समुदायलाई अहिलेसम्म माफी माग्ने प्रयास भएको छैन।
गैरदलितले माफी नमाग्नुकाे मुख्य कारण भनेको जातवादी अहंकार हाे। उच्च जातीय अहंकारी रवैयाले जतिसक्यो दलितलाई दमन गर्नुपर्छ भनेर सिकाएको छ। जसकारण हाम्रो आधुनिक युवाले, दलित समुदायमाथि आफू र पुर्खाकाे अमानवीय गतिविधि र अपराधप्रति हिनताबाेध नभएको माैन बसेर जात व्यवस्थाकाे समर्थन गरेको देखिएको छ।
कानूनी राजमा माफी कम सजाय बढी हुन्छ। तथापि माफी माग्ने परिपाटी संसारको जुनसुकै कुनामा अभ्यास भएको देख्न सकिन्छ। शक्तिशाली प्रधानमन्त्रीदेखि, सेलिब्रेटिले आफ्ना अभिव्यक्तिकाे कारण आम जनसमुदायसँग माफी मागेका छन्।
रामायण महाभारत, बाइबल त्रिपिटक जस्ता धार्मिक ग्रन्थमा पनि भगवानले गल्ती गरेपछि माफि मागेका थिए। केही साताअघि जापानका नागरिक उड्डयनमन्त्रीले जनतासमक्ष माफी मागेका थिए। त्यस्तै डेनमार्कका सामाजिक सुरक्षा मन्त्रीले काेराेनाले उत्पन्न गरेको विषम परिस्थितिमा, उनको मातहतमा रहेको मन्त्रालयले जनतालाई उचित सेवा दिन नसकेकाे कारण देखाउँदै जनतासमक्ष माफी मागेर राजिनामा दिएका थिए।
यस्ता कयौं घटना छन् जहाँ शक्तिसाली व्यक्तिले माफी मागेका हुन्छन्। माफी एउटा संस्कार पनि हाे। तर नेपाली समाजको सन्दर्भमा, जातीय छुवाछूतको सवालमा माफी माग्ने परिपाटी स्वविवेकबाट आजकाे मितिसम्म अभ्यास भएको देखिँदैन। कारण के हाे त?
दलित समुदायलाई कथित उपल्लो जात भनिएकाले सदियाैंदेखि कैयौं पाप अपराध र अपहेलना गर्दै आइरहेका छन्। सामुहिक हत्यादेखि समाजिक बहिष्कारसमेत गरेका छन्। तर उनीहरूभित्र त्यो पाप अपराध र अमानवीय गतिविधि सहजै अस्विकार गरेको देखिन्छ।
दलितमाथि जातीय विभेद गर्नु हाम्रो अधिकार हाे जस्ताे छनक दिने गतिविधि धेरै गैरदलितका अभिव्यक्ति र गतिविधिमा देखिएका छन्। यस्तो परिपाटीमा गैरदलित समुदायका परिवर्तनकारी मनहरुले समाजमा सकारात्मक सन्देश जाने कार्य गर्नुपर्छ। जातीय अहंकार त्यागेर समानताको लागि जुट्नुपर्छ।
गैरदलितले दलितमाथि गरेरका धेरै अपराध पाप अर्थात (जातीय विभेद) पखाल्ने उत्तम माध्यम भनेको सार्वजनिक रुपमा दलित समुदायसमक्ष माफ माग्नुपर्छ। गैरदलितले आफ्नाे स्विवेकले आफू र आफ्ना पुस्ताले सदियाैंदेखि गर्दै आएकाे समाजिक र धार्मिक दमनलाई स्विकार्दै आत्मलाेचना गर्नुपर्छ।
विभेदकारी संक्रिण साेच पखाल्ने याे भन्दा सहज उपाय अरु के हुनसक्छ र? यसमा न कुनै लगानीको आवश्यकता पर्छ न कुनै तामझामकाे। तमाम गैरदलिताई नैतिकता र मानवतावादी सिद्धान्तलाई अङ्गाल्न माफीको संस्कारभन्दा अरु तरिका उत्तम हुँदैन।
माफी माग्ने अर्को तरिका भनेको राज्यबाट दलित समुदायलाई क्षतिपूर्ति स्वरुप प्रदान गरिएको आरक्षणकाे प्रतिशतलाई कतिसम्म हुन्छ वृद्धि गर्ने, निश्चित अवधिभर विभिन्न रणनीति कार्य याेजना तयार गरेर आरक्षण पद्धतिलाई स्थानान्तरण गर्ने दुर्गामी परियोजना रच्नुपर्छ।
तेस्रो तरिका भनेको दलित र गैरदलित मिलेर सामाजिक स्वतन्त्रता समता र समानतालाई कसरी हुन्छ समाजमा स्थापना गर्ने, जातीय विभेद गर्ने अपराधीलाई जतिसक्दो कडा कानुनी कार्वाही गर्ने मिसन राख्नुपर्छ। चाैथाे तरिका भनेको राज्यको सबै संयन्त्रमा दलित समुदायको उपस्थितिलाई मजबुत बनाउने अभियानमा सहभागी हुनुपर्छ।
हेक्का रहाेस्, दलितमाथि भएका तमाम अपराध पापकाे अगाडि गैरदलितले गर्ने यी प्रयास केही हाेइनन् तर अवमूल्यन गर्नु पनि न्यायचिच हुँदैन। गैरदलितकाे साथलाई तमाम दलित समुदायले खुला हृदयले स्वागत गर्नुपर्छ। अनि मात्र गैरदलितका तमाम पाप अपराधले उन्मुक्ति पाउनेछ। देशमा दलित समुदायले साथ पाउने छ।