नेपाली साहित्यका अमर साधक माधव घिमिरे (१९७६–२०७७) को प्रथम वार्षिकीमा छौँ हामी । एक जना महान् साधक भौतिक शरीरले बिदा लिएको समय र उहाँले दिएको योगदानलाई सँगै राखेर क्षतिपूर्तिको प्रयत्नमा यी केही श्रद्धाञ्जलिका शब्द कोरिरहँदा केही दार्शनिक विचारहरू मनमा उब्जिएका छन् । गतसाल भदौ २ गते एक सय एक वर्ष पुरानो, पाको, विशाल वृक्ष ढल्दा नेपाली साहित्यले अपूरणीय क्षति बेहोर्नु परिरहेको छ ।
जीवन कालको उर्वर अवधि नेपाली साहित्यको श्रीवृद्धिमा समर्पण गर्नुभएका घिमिरेले पाञ्चभौतिक देह बिसाउँदा सिर्जनात्मक जीवन निष्क्रिय रहेको धेरै भइसकेको थियो । उहाँ आफैँले निर्माण गरेको इतिहासमा बाँचिरहनुभएको थियो पनि शारीरिक सक्रियता भने उहाँको कायमै थियो । हामी उहाँले प्रदान गर्ने भनिएको ‘ऋतम्भरा’ महाकाव्यको प्रतीक्षामा थियौँ ।
यद्यपि, समयले हामीलाई त्यो अवसर दिएन । त्यति महान् काव्यशिल्पीबाट बाहिर ल्याउन खोजिएको महाकाव्य अद्वितीय नै हुने थियो भन्ने हाम्रो अपेक्षा थियो । जेहोस्, एउटै कविता किन नलेखियोस् युग जित्ने रचना भयो भने धेरै लेख्न पर्दैन । त्यसमाथि घिमिरेले त नेपाली साहित्यको एउटा युग नै एकछत्र लिएर लामो समय हिँड्नुभएको थियो । शास्त्रीय छन्द, लय र स्वच्छन्द भावचेतनामा देशको विविधतामय शब्दचित्र उतार्नुभएका उहाँका कृतिहरू प्रत्येकले मनमुटुलाई स्पर्श गर्ने सामथ्र्य राख्छन् । ‘गौरी’ शोककाव्यबाट सुरु भएको उहाँको पाठकीय मन जित्ने लेखन ‘अस्वत्थामा’ सम्म नै कायम रह्यो ।