रतुवामाई नगरपालिकाको नगर–प्रमुख हुन्– रविन राई। साविकका इटहरा, सिजुवा,महादेवा, झुर्किया, बरडङ्गा (१,४ ५ र ७) र गोविन्दपुर गाविसका १,३,४ र ७) नं. वडा मिलेर बनेको रतुवामाई नगरपालिकाको जनसङ्ख्या (२०६८ अनुसार ) ५५,३८० रहेको छ।
विराटनगर–रंगेली–आमबारी सडकसँग जोडिएको यो नगरपालिका कृषि, पशुपालन र माछापालनका लागि जिल्लाकै अब्बल मानिन्छ। नगरपालिका बन्नुपूर्व भौगोलिक रुपमा विकट मानिने साविकका गाउँहरूमा नगरपालिका बनेसँगै विकासको जग पनि बसेको छ।
नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा प्रवेश गरेका राई नेपाली कांग्रेसबाट उम्मेद्वार भएर मेयरमा निर्वाचित भएका हुन्। ४३ वर्षीय नगर–प्रमुख रविन राईसँग बिएल नेपाली सेवाले गरेको कुराकानीः
अचेल केमा ब्यस्त हुनुहुन्छ ?
कोरोना भाइरस कोभिड १९ नगरका गाउँ–गाउँमा छिरेको छ। त्यसको असर कम गर्न र क्षति न्यूनीकरणका लागि सचेतनासहित घर–घरमा पुगिरहेको छु। रतुवामाई अलि अप्ठ्यारो भूगोल भित्र पर्छ। वर्षायाम लागेपछि पूर्वमा रहेको रतुवा खोला र पश्चिममा रहेको बक्राहा खोलाले दुख दिन्छ। स्थायी तटबन्ध हाम्रो नगरको पहुँच बाहिर छ। अस्थायी समाधानको उपाय निकालेर नागरिक र नागरिकको घर जग्गालाई बचाउनु पर्छ। निर्वाचित भएर आएको पहिलो र दोस्रो वर्ष विकास, निर्माणका लागि शिलान्यासका कामहरू धेरै भए।
अहिले साना र ठूला आयोजनाहरू क्रमश: निर्माण सम्पन्न भइरहेका छन्। कतिपय ठूला आयोजनाका लागि बजेट जुटाउन संघीय र प्रदेश सरकारसँग सम्वाद गर्ने, सम्पन्न भएका आयोजनाहरूको उद्घाटन गर्ने, नियमित बैठक , सभा सम्मेलन यस्तै काममा दिनचर्या चलिरहेको छ।
चार वर्षको अवधिभित्र नगरमा भएका उल्लेखनीय विकास निर्माणका कामहरू के–के हुन् ?
विगतमा नगरभित्र उर्लाबारी–बरडङ्गा सडक र रङ्गेली–आमबारी सडक मात्र कालोपत्रे थियो। हामी आएपछि त्यसबाहेक ३० किलोमिटर सडक कालोपत्रे भएको छ। चार वटा पुल बनेका छन्। एक हजार किलोमिटर भन्दा बढी सडकस्तरीय ग्राभेल भएको छ।
अहिले नगरका १० वटै वडाका प्रमुख सडकहरूमा धुलो र हिलो टेक्नुपर्दैन्। भित्री सडकहरू पनि ग्राभेल भएका छन्। सबै वडा कार्यलय सम्म पुग्ने सडकको स्तरोन्नति गरिएको छ। विद्युत पुग्न कुनै गाउँ बाँकी छैन्। किसानको खेत खेतमा सिंचाई पुर्याउन बोरिङ र कुलोको ब्यवस्था मिलाएका छौं। सडकहरूलाई न्यूनतम २० फिट चौडाई हुनुपर्ने मापदण्ड तय गरेका छौं।
ठाउँ हेरेर सडकको चौडाई अधिकतम ४० फिट हुनुपर्ने मापदण्ड बनाइएको छ। बिगतमा हिउँदमा मात्र गाडी पुग्ने गाउँमा बाह्रै महिना गाडी पुग्ने बनाइएको छ। नगरवासीको स्वास्थ्यमा पहुँच पुगोस भनेर ५ वटा वडामा स्वास्थ्य केन्द्र र ५ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापित गरिएको छ।
१० वटा वडा मध्ये वडा नं. ८ र १० को वडा कार्यलय मात्र निर्माण हुन बाँकी छन्। नगरको प्रशासनिक भवन पनि निर्माणधीन अवस्थामा छ।
नगरवासीले प्रत्यक्ष अनुभूत हुने गरी के–के काम गर्नुभयो ?
नगरमा केही नयाँ काम गर्नुपर्छ भनेर मैले अति विपन्न परिवारमा कुनै सदस्यको मृत्यु भएमा किरिया खर्चबापत १० हजार रुपियाँ घरमै पुर्याइदिने व्यवस्था गरेका छौं। सुत्केरी आमालाई पोषणको कार्यक्रम सञ्चालन भएको छ। अति विपन्न परिवारलाई उपचार गर्न अस्पतालसम्म पुग्न नगरपालिकाले खर्चको प्रबन्ध मिलाएको छ। नगरले क्यान्सर, मुटु, मिर्गौला, स्पाइनल कड इन्ज्योरीलगायतका रोगको उपचार गर्न ५० हजार रुपियाँसम्म सहयोग गर्दैआएको छ।
रतुवामाई नगरपालिकालाई समृद्ध नगर बनाउने आधारहरु के–के हुन् ?
रतुवामाई नगरपालिका मोरङ कै सबैभन्दा बढी खेतीयोग्य जमीन भएको नगरपालिका हो। यस नगरलाई समृद्ध बनाउने मूख्य आधार पशुपालन र कृषिमा आधारित व्यावसायिक उद्यम हो। त्यसैले कम खर्चमा बढी उत्पादन गर्नका लागि नगरले कृषि र पशुपालनमा आधारित धेरै कार्यक्रम सञ्चालन गरिरहेको छ।
नगरमा चार सयभन्दा बढी कृषि समूह दर्ता भएका छन्। बीउ , बीजन, कृषिमा यान्त्रिकरण,बिदेशबाट फर्केका युवालाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण जस्ता कार्यक्रम सञ्चालन भएका छन्। १५० जना युवा कृषि उद्यमीलाई नगरपालिकाले ५०–५० हजार रुपियाँ अनुदान उपलब्ध गराएको छ।
नगरका विभिन्न वडामा व्यावसायिक केरा खेती, ड्रागन फ्रुट खेती , तरकारी खेती धान बीउ विजन स्रोत केन्द्र भवन निर्माण लगायत धेरै कार्यक्रम कृषिमा आधारित छन्। पशुपालन गर्ने युवालाई छ्ट्टै कार्यक्रम सञ्चालन भएका छन्। कृषिबाट उत्पादन वृद्धिका लागि गुरूयोजना तयार भयो तर योजना अनुसार खर्च व्यवस्थापन चुनौतीको विषय बनेको छ।
कोभिड–१९ महामारीबाट विकासनिर्माण क्षेत्र कतिको प्रभावमा पर्यो ?
कोभिडका कारण विश्वनै प्रभावित हुँदा हामीलाई अछुतो राखेन। देशका अन्य क्षेत्रमा जसरी राहत वितरण भयो हामीले पनि त्यसरी नै राहत वितरण गर्यौँ। भारतसँग सीमाना जोडिएको नगरपालिका हो। यहाँका धेरै मानिस रोजगारका लागि भारत जान्छन् भने उताबाट पनि उत्तिकै मानिस आउँछन्।
भारतबाट फर्केका नेपालीलाई क्वारेन्टिनमा राख्न , पीसीआर टेष्ट गर्न हम्मे हम्मे भयो। सिमित स्रोतका वावजुद पनि स्वास्थ्य प्राविधिक परिचालन गरेर हामीले नागरिकको स्वास्थ्यमा सर्तकता अपनायौं। सुरुमा केही विकास खर्च कटौति गरेर ति नियमित कार्यक्रम सञ्चालन गर्यौँ। पछिल्लो आर्थिक वर्षमा संघीय सांसद डा. मीनेन्द्र रिजालले निर्वाचन क्षेत्र विकास कोषबाट ७५ लाख रुपियाँ उपलब्ध गराउनुभएपछि झुर्कियाको नगर अस्पताललाई व्यवस्थित ढङ्गले सञ्चालन गरिरहेका छौँ।
नगरको विकासमा देखिएका समस्या र अप्ठ्याराहरु के–के हुन् ?
रतुवामाई नगरपालिका दुईवटा ठूला खोलाको बीचमा अवस्थित छ। यि दुई खोलाले हरेक वर्ष ठूलो क्षति पुर्याउँदै आएका छन्। खोलामा स्थायी तटबन्ध छैन्। नगरको बजेटले खोला तटबन्ध सम्भव छैन।
रतुवा र बक्राहा खोला रतुवामाई नगरको ३०/३० किलो मिटर क्षेत्र हुँदै बग्छन्। यी खोला नगरको दुखका रुपमा रहेका छन्। सङ्घीय र प्रदेश सरकार मार्फत ठूला आयोजनाका लागि बजेट प्राप्त भएको छैन्।
सीमित स्रोत र साधनका भरमा नागरिकले अपेक्षा गरेका धेरै काम गर्नु पर्ने अवस्था छ। देश सङ्घीयतामा गयो। हामी निर्वाचित भएर आएको ४ वर्ष पूरा भइसकेको छ। यो अवधिमा प्रदेश र सङ्घीय सरकारले कर्मचारीको समायोजन गरिसकेको छैन।
तपाईंले कल्पना गर्नुभएको रतुवामाई नगरको स्वरुप बताइदिनुस् न ?
रतुवामाई नगर मोरङको प्रमुख कृषि क्षेत्र हो। त्यसो भन्दैमा यहाँ अरु केही गर्न सकिन्न भन्ने होइन्। हामीले वृद्ध–वृद्धाका लागि ठाउँ ठाउँमा ज्येष्ठ नागरिक चौतारी निर्माण गरेका छौं। नगरका मूख्य मुख्य स्थानमा कृषि बजारको ब्यवस्था गरिएको छ। शीत भण्डार निर्माण अन्तिम चरणमा पुगेको छ।
नगरका १३ स्थानमा साप्ताहिक हाट बजार लाग्छन्। ति बजारहरूलाई भौतिक रुपमा ब्यवस्थित बनाउने काम अन्तिम चरणमा पुगेको छ। नगरमा एउटा सुबिधा सम्पन्न रङ्गशाला चाहिन्छ भन्ने अवधारणा अनुसार गढीमहाराज खेल मैदानलाई रङ्गशालाको रुपमा बिकसित गर्ने काम सुरु भएको छ।
नगरपालिकाका क्षेत्रका शैक्षिक प्रतिष्ठानहरूलाई पूर्वाधारका हिसावले होस या जनशक्तिका हिसावले सुबिधा सम्पन्न बनाउने कामको थालनी भएको छ। वडा नं.१ को भल्कुवाको जङ्गलमा रमणीय पार्क निर्माण भइरहेको छ। १६ करोडको डिपीआर निर्माण भएको थियो। हाल सात करोड रुपियाँको काम भइरहेको छ।
नगरपालिकाका महत्वकांक्षी आयोजनाहरू कुन–कुन हुन् जो नगरको स्रोत–साधनले भ्याउँदैन ?
झुर्किया देखि सातमेडी सम्मको मदन भण्डारी मार्ग र लारिकट्टाबाट गोविन्दपुर–इटहरा–धाद्रा हुँदै उर्लाबारी क्याम्पस जोड्ने गिरिजाप्रसाद कोइराला मार्ग यो नगरको प्रमुख सडक आयोजना हुन्। कतिपय सडक सङ्घीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेर पनि निर्माण सम्पन्न हुन सकेका छैनन्।
सङ्घीय र प्रदेश सरकारले काम नगर्ने अनि त्यसको अपजस स्थानीय पालिकाले लिनु पर्ने अवस्था छ। झण्डै ६० किलो मिटर लामो नगर चक्रपथ निर्माण गर्नु पर्ने छ। यो आयोजना सम्पन्न गर्न पनि नगरको बजेटले भ्याउँदैन। सबैभन्दा ठूलो र गरिहाल्नु पर्ने काम चाँहि रतुवा र बक्राहा खोलाको तटबन्ध हो। हरेक वर्ष सयौं विगाहा खेतीयोग्य जमीन कटान भइरहेको छ। धेरै नगरवासीलाई उठीबास लगाएको छ।
उर्लाबारी– आमबारी हुँदै बिराटनगर जोड्ने सडकको उर्लाबारी आमबारी सडक खण्ड फराकिलो बनाउनु पर्नेछ। मेची अञ्चलसँग प्रदेश १ को राजधानी जोड्ने सबैभन्दा छोटो मार्ग यही हो। नगर भित्रको सडक सञ्जालको गुरु योजना बनाइसकेका छौं। अहिले गुरु योजना अनुसार काम गर्न सकेका छैनौं। आवश्यकता जहाँ हुन्छ, त्यही काम भएको छ।
नगरको आन्तरिक स्रोतका विषयमा जानकारी गराइदिनुस् न ?
नगरको आन्तरिक स्रोत भनेको कर नै हो। तर, त्यसलाई पनि हामीले ब्यवस्थित गर्दै लगेका छौं। विगतमा ५ गाविसले वार्षिक ७० लाख रुपियाँ राजश्व उठाउँथे। हामी आएपछि १ करोड २५ लाख आन्तरिक आम्दानी पुर्याएका छौं।
ग्रामीण क्षेत्र भएकोले हरेक क्षेत्रमा कर लगाउँदा पनि सन्देश राम्रो जाँदैन। त्यसैले कर वैज्ञानिक ढंगबाट लगाउनुपर्छ भन्ने मान्यतामा हामी छौँ। बक्राहा र रतुवा खोलाको खेर गएको बालुवा पनि ठेक्का लगाउनु पर्छ भन्ने सुझाव आएको छ। भरौटमा प्रयोग हुने बालुवा ठेक्का लगाउन सक्यौं भने नगरको आन्तरिक स्रोत ५ करोड पुग्न सक्छ।
चुनावमा गर्नु भएका प्रतिबद्धताहरू के–कति पूरा गर्नुभयो ?
खासगरी रतुवामाई नगरपालिका पूर्वाधार भएर नगरपालिका बनेको होइन। नयाँ राजनीतिक ब्यवस्थामा नगरपालिका र गाउँपालिकाको धारणा आयो। सोही अनुसार राजनीतिक सहमतिमा गाउँहरू मिलाएर नगरपालिका बनाइएको हो।
नगरपालिका त बन्यो। तर, कानून अभाव , नीतिगत समस्या , नयाँ संरचनालाई ब्यवस्थित गर्नु पर्ने चुनौति। सङ्घीय सरकारले ५–६ महिनामा कर्मचारी फेरबदल गरिदिने परिपाटीले गएका दुई वर्ष देखिने गरी काम हुन सकेनन्। जब सबै कुराको जग बस्दै गएको थियो। त्यसबेला कोभिडले काम गर्न दिएन। यद्यपि धेरै काम भएका छन्।
नगरलाई विकासको जग बसेको छ। सडक बनेका छन्। पुल बनेका छन्। विपन्न दलित र सुकुम्बासीका लागि कार्यक्रम बनेका छन् र कार्यान्वयन पनि भएका छन्।
विषम परिस्थितिका बाबजुद पनि काम भएका छन् तर अझै धेरै गर्न बाँकी छ। हाम्रो कार्यकालको यो अन्तिम वर्ष हो। नगरवासीले देख्न र उपयोग गर्नेगरी केही योजनाहरू यसै वर्ष सम्पन्न हुँदै छन्।
अघिल्लो सरकारले सुकुम्बासी भूमिहीन र अव्यवस्थित बसोवासका लागि काम थालेको थियो नगरमा के कति प्रगति भयो ?
नगरमा छ हजार अव्यवस्थित सुकुम्बासी, भूमिहीन दलितको लगत सङ्कलन गर्ने काम भएको छ। पूर्ववर्ती सरकारले तोकेअनुसार काम भएका छन् तर त्यो आयोग नै खारेज भएपछि अब नयाँ ढाँचाबाट काम अघि बढ्ने छ।