पशुपतिनाथ मन्दिर हाम्रो राष्ट्रिय धरोहर हो। पशुपतिनाथ मन्दिर नेपालीहरुको शान पनि हो।
वर्षेनी पशुपतिनाथ मन्दिर घुमफिर र दर्शन गर्नको लागि लाखौँ आन्तरिक र बाह्य पर्यटनहरुको आवतजावत हुन्छ। हिन्दुहरुलाई सबैभन्दा आनन्द आउने भनेकै पशुपतिनाथ मन्दिरको दर्शन गर्दा हो। आफूले मागेको भाकलहरु पशुपतिनाथले पुरा गर्छन् भन्ने जनविश्वास नेपलीहरुमा छ।
अहिले कोभिडको कारण पशुपतिनाथ मन्दिर बन्द छ। सरकारको निर्णय अनुसार पशुपति कोष समितिले कोरोना नफैलियोस् भनेर हाल कोरोना नियन्त्रणको लागि बन्द गरेको हो। तर बन्द गरिएको मन्दिरमा अहिले पनि भक्तजनहरुको भीड लाग्ने गरेको छ। पशुपतिनाथ मन्दिरको परिसरभित्र घुम्न आउने, दर्शन गर्न आउने मान्छेहरुको घुइँचो उत्तिकै छ।
पशुपतिनाथ मन्दिरको परिसरभित्र घुमफिर गर्न र पुजाअर्चना गर्न आउनू भक्तजनहरुको मुखमा मास्क छैन। कृनै पनि स्वास्थ्य मापदण्डको पालना भएको जस्तो देखिदैंन। पशुपतिनाथ मन्दिरभित्र मागेर खाने आमाबुबा, भाइवहिनीहरुको मुखमा मास्क छैन। कोरोना त उनीहरुलाई पनि लाग्छ होला।
पशुपतिनाथ मन्दिरमा फूलमाला अर्थात पुजाको साम्रगी बेच्ने व्यापारीहरुले पनि कुनै स्वास्थ्य मापदण्ड पालना गरेको देखिदैन। पशुपतिनाथ मन्दिरको परिसरभित्र विभिन्न सामग्री बेच्ने व्यापारीहरुले पशुपति कोषलाई भाँडा तिरेको पनि छैनन्। पशुपतिनाथको क्षेत्रमा बसेर दैनिक हजारौँको व्यापार गर्ने व्यापारीले पशुपतिको सम्पत्तिको प्रयोग गरेर पैसा कमाउँछन्। तर सटर र जग्गाको बहाल तिर्दैनन्।
पशुपति क्षेत्रभित्र व्यापार गरेको ४ दशक भयो भन्ने पनि धेरै छन्। ४ दशकमा उसले कति कमायो होला ? राज्यले उसको कमाइबापत कति राजस्व पायो ? आखिर जग्गा र सटर त राज्यको हो। यातायातमा सिन्डिकेट भएझैँ पशुपति कोष परिसरमा पनि वर्षौदेखि सिन्डिकेट छ।
एकलौटी व्यापार गरेर त्यहा व्यापार गर्ने व्यापारीहरुले घरजग्गा जोडेको होलान्। तर सरकारी सम्पत्तिको कत्ति राम्ररी दुरुपयोग भयो। एउटै मान्छे करोडपति बन्यो अरु त हेरेको हेप्यै। टाठाबाठा मान्छेले जसले राजनीतिक दलहरुलाई गाल्न सकेको छ, उसले मात्र सरकारी सम्पत्ति ओगटेर व्यापार गर्न पाएको छ।
पशुपति क्षेत्रभित्र विभिन्न थरीको स्टल देख्न सकिन्छ। कसैले फूल, पुजासाम्रगी, भाँडाकूडा, मूर्तिहरुको स्टल राखेका छन्। आफू व्यापार गरेर कमाउँछन्। आफू धनी बन्छन्। राज्यलाई राजस्व छल्छन्। अनि सरकारी सम्पत्तिको दोहन गर्छन्- सरकारी सम्पत्ति जथाभावी रुपमा प्रयोग गर्ने, खाली जगामा आफ्नो मर्जीले टहरा बनाउने, पशुपति कोषको इजाजत बिना सटर हाल्ने।
पशुपति कोषभित्र सञ्चालनमा रहेको पसलहरु दर्ता भएका छैनन्। राज्यबाट स्वीकृत नलिईकन बिना दर्ता यी पसलहरु सञ्चालनमा आएका छन्। यी पसलहरुले सरकारको कुनै पनि मापदण्ड पालना गरेको छैनन्। सरकारले एउटा पसल सञ्चालन गर्नको लागि बनाएको नियमकानून पशुपति कोषभित्र रहेको पसलहरुले लागू गरेका छैनन्।
पशुपति कोषको नाममा भएको जग्गा कब्जा गरेर, दादागिरी देखाएर, राजनीतिक पार्टीको झोला बोकेर सरकारको नियमकानूनको उलंघन गरेका छन्। १०० रुपियाँमा आउने सामानको मुल्य ५०० राखेर विदेशी र स्वदेशीलाई ठगेका छन्। सामानमा आफूखुसी मुल्य राखेर जनता ठगेका छन्। राज्यलाई राजस्व तिरेका छैनन्।
पशुपति क्षेत्रभित्र जथाभावी रुपमा स्टल सञ्चालन गर्न दिदाँ पशुपति परिसर निकै नै दुर्गन्धित र कूरुप बन्दै गएको छ। पशुपति क्षेत्रजस्तै गौरीघाट, गुहेश्वरी भित्र सञ्चालनमा रहेको पसलहरु विस्थापन गर्नुपर्छ।
पशुपति नेपालीहरुको गहना हो। नेपाललाई पशुपतिनाथ मन्दिरले विश्वभर परिचित गराएको छ। पशुपतिनाथ मन्दिर कै कारण हामी नेपालीहरु शिर ठाँडो पारेर हिँड्न सफल भएका छाैँ। पशुपति क्षेत्रलाई सफा र संरक्षण गर्नु हाम्रो जिम्मेवारी हो।
पशुपति कोष आफनो जिम्मेवारीबाट पछि हट्दा नेपालको शानमाथि आच आएको छ। पशुपति क्षेत्रभित्र रहेको पसलहरुले दैनिक हजारौं जनता ठग्छन्। तिनीहरुलाई अनुगमन गरि सरकारले कानूनको दायरामा ल्याउन चुकेको छ।
पशुपति कोषको नाममा भएको गुठीको जग्गाहरुको पनि खोजतलास भएको छैन। पशुपति कोषको नाममा भएको जग्गा उपत्यकामा मात्र नभई देशको ७७ वटै जिल्लामा छन्। पशुपति कोषको नाममा भएको अधिकांश जग्गा व्यक्तिको नाममा पास भएको छ।
पशुपतिनाथ मन्दिरमा दैनिक लाखौं रुपियाँ भेटी उठ्छ। त्यो पैसा कहाँ जान्छ। राज्यको ढुकुटीमा कि व्यक्तिको खल्तीमा जान्छ। यसबारे पनि अख्तियारले छानबिन गरेको छैन।
हरेक नेपालीको मनमा पशुपतिनाथ मन्दिरको दर्शन गर्ने इच्छा हृन्छ। तर पशुपति परिसरभित्र रहेको फोहोर, अस्तव्यस्तता र कोचाकोचले हरेक नागरिकको त्यो चाहनालाई मारिदिएको छ। नेपाली मात्र नभएर विदेशीहरु पनि पशुपति दर्शन गर्नको लागि उत्सुकता भएका हुन्छन्।
पैसा तिर्न सक्नेहरु पशुपति दर्शन गर्न लाइनमा बस्नु पर्दैन भन्ने पनि धेरै जनगुनासोहरु सुन्नमा आएको थियो। त्सो हो भने त पैसा नहुने, गरिब जनताहरुले भगवानको दर्शन् गर्नमा पनि बन्देज लगाउनुपर्ने दिन आएको छ। यसमा पशुपति कोषको ठूलो हात छ। पशुपति कोष कै मिलोमतोमा सरकारी सम्पत्ति दुरुपयोग भएको छ।
हामी जन्मिछौं, ढिलोचाँडो त सबैलाई मर्नैपर्छ। बाँचुन्जेल त हामीले देशको लागि केही न केही त अवश्य गर्याै होला। पैसाले नसके पनि आफ्नो हातपाखुरा बजाएर देश विकासमा योगदान त पुर्याएका थियौँ। राज्यलाई आफूले सक्दो कर तिर्याैँ। तर राज्यले हामीलाई के दियो, एउटा नागरिकता बाहेक।
हामीले बाँचुन्जेल सकी-नसकी राज्यलाई कर तिर्याैँ। तर, मरेपछि पनि राज्यले हामीबाट कर लिन छाडेन। कस्तो हिनताबोध नागरिक भएर बाँच्नुपर्ने बाध्यता।
नेपाली नागरिकले सरकारलाई देश विकासमा आफ्नो स्तरबाट सक्दो सहयोग गरे। पाइला-पाइलामा राज्यले हामीसँग कर असुलेको छ। तर मरेपछि पनि लास जलाउनलाई पैसा तिर्नुपर्छ। अहिले एउटा लास जलाउदा २५/३० हजार खर्च हुन्छ। पैसा हुनेले त सजिलै दाहसंस्कार गर्लान्, आर्थिक स्थिति कमजोर हुने त लास जलाउन पनि नपाउने भए।
पैसा नहुने मान्छेहरुको आफन्तको लास त बेसहारा हुने भए। उपचार गर्दा-गर्दै पैसा सकिसकेको हृन्छ। मरिसकेपछि लास जलाउने पैसा कहाँबाट ल्याउने। २५/३० हजार रकम भनेको हुनेलाई त ठूलो हृन्छ भने नहुने त कँहाबाट ल्याउने। सरकारले बिना शुल्क लास जलाउने व्यवस्था मिलाउने हो भने गरिब जनताहरुले राहतको सास फेर्ने पाउथे।
२५/३० हजारले उसको परिवारको पेट दुई-तीन महिनाको लागि पाल्न पुग्छ। पशुपति कोषमा बस्ने कार्यसमितिले पशुपतिको सम्पत्ति दुरुपयोग गरेर धेरै सम्पत्ति जोडेको छन्। तर उनीहरुको सम्पत्ति किन छानबिन भएन? कतै सरकार पनि उनीहरू कै पक्षमा बोलिरहेको त छैन?
अर्थ मन्त्रालयले वर्षेनी अर्बौ रुपियाँ पशुपति क्षेत्र मर्मतको लागि छुट्याएको हृन्छ। जनताले तिरेको करबाट पशुपतिनाथ क्षेत्रभित्र रहेको पाटीपौवा, मठमन्दिर, चौतारा, धारा निर्माणको लागि अर्बौ रुपियाँ छुट्याइन्छ। तर मठमन्दिर मर्मत नै भएको हुँदैन। मन्दिरकै परिसरभित्र सरसफाई पनि गरिएको हुँदैन।अनि त्यत्रो अर्बौ रुपैयाँ बजेट कहाँ जान्छ?
जनताले जन्मेदेखि मरिसकेपछि पनि राज्यलाई कर तिरेका हुन्छन्। अनि त्यो करबाट आएको अर्बौ रुपैयाँबाट मोजमस्ती चाही पशुपति कोषका सञ्चालक र कर्मचारीहरुले गरेका छन्।
हाम्रो राष्ट्र्को पवित्र स्थल भनेकै पशुपतिनाथ मन्दिर हो। पशुपतिनाथको परिसरभित्र ठगी गरेर पशुपति कोषका कर्मचारीले पशुपतिनाथ मन्दिरलाई ठगी गर्ने स्थल बनाइदिएका छन्।