सानो छँदा म ठूलाले भनेको खुरुखुरु मान्ने ‘ज्ञानी’ बालक थिइनँ। ठुल्दाइको त मलाई ‘तँलाई उपद्र्याहा’ भन्ने थेगो नै थियो। म उपद्र्याहा हुनुमा केही कारण थिए। आमाबाका पाँचमध्ये म चौथो छोरो। पाँचौँ छोरो त के जन्मेला भनेर होला, मलाई कान्छो भने। कान्छा छोरालाई यसै पनि पुल्पुल्याइन्छ। उसका सानातिना बदमासीले माफ पाउँछन्। अरू जे कुरामा पिटिन्छन्, ऊ पिटिँदैन। खानमा पनि उसको मानमनितो हुन्छ। हो, यसरी पुलपुलिएँ म। सात वर्षपछि अर्को कान्छो जन्मियो। जिब्रामा लागेको बानी किन छुट्थ्यो, म कान्छो भनिइनै रहेँ।
पढाइमा तिखो थिएँ म। कक्षामा सधैँ पहिलो हुन्थेँ। विशेष प्रतिभा भएर म पहिलो भएको होइन। मेरो मातृभाषा नेपाली। अंग्रेजीबाहेक सबै पाठ्यपुस्तक नेपालीमा थिए। गोर्खा राजको सरकारी भाषा पनि नेपाली नै थियो। त्यसबाट मलाई फाइदा भयो। बाउ ज्योतिषी थिए। बाउलाई शिक्षाको महिमा थाहा थियो। बाउले मलाई पढाइमा जोते। त्यसैले म पहिलो भएँ। पहिलो हुनुका अनेक फाइदा थिए। म पहिलोलाई ‘पञ्च खत’ माफ हुन्थ्यो। सानातिना कसुरका त के कुरा, रेस्टिकेटै हुने कसुरमा पनि म माफ पाउँथेँ। एउटा स्कुलमा रेस्टिकेट भए मलाई अर्को स्कुलले भर्ना गरिदिन्थ्यो। यसरी विद्यालयमा पनि म पुल्पुलिएँ। नतिजा के भो ? म जोकोहीलाई नटेर्ने भएँ। तँ ठूलो त म किन सानो ? तँ हेप्ने त म किन दब्ने ? हो, म यस्तो भएँ।