बादल छोडेका कुलप्रसादः तेस्रो प्रयासमा मुख्यमन्त्रीको कुर्सीमा

नेपाल खबर

काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपाका नेताहरूले आआफ्नो कित्ता छुट्याइसक्दा पनि सचिवालय सदस्य रामबहादुर थापा (बादल) भने अन्याेलग्रस्त थिए। 

त्यसैले उनले परामर्शका लागि आफ्ना निकटस्थहरूलाई लगातार मन्त्री क्वार्टर पुल्चोकमा बोलाइरहे। 

पुस ८ गते साँझ बादलले ती सहयात्रीहरूसँग भने, ‘कमरेडहरू म ओलीतिर लाग्नुपर्ने परिस्थिति बन्यो, तपाईंहरूलाई कुनै दबाब दिन्न, निर्णय गर्दा आफ्नो विवेक प्रयोग गर्नुहोला, राजनीतिक भविष्य हेर्नुहोला।’ 

बादलको त्यो अभिव्यक्तिले उद्वेलित भएका कुलप्रसाद केसीले तप्प आँशु झारे र अरू साथीहरूसँगै मन्त्री क्वार्टरबाट बाहिरिए। फेरि फर्किएनन्।  

पुस ८ गते नै त्यस्तो एउटा निर्णायक दिन बन्यो,बादल र उनको साथमा रहेका अरू नेताहरूको सम्बन्ध फाट्यो।

पुस ९ गते बादल नेकपा ‌ओली समूहकाे बैठकमा सहभागी हुन बालुवाटार पुगे, केसी सहितका अरू नेता  प्रचण्ड र माधव नेपालले नेतृत्व गरेकाे नेकपाकाे केन्द्रीय कमिटी बैठकमा भाग लिन थापाथली। 

राजनीतिक शक्ति र भूमिकाका हिसाबले बादल अहिले किनारामा पुग्दा त्यसबेला बादलसँग मन दु:खाएर निस्किनेमध्येका एक केसी झण्डै साढे ७ महिनापछि लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको कुर्सीमा उक्लिएका छन्। 

प्रकाशित मिति: : 2021-08-12 20:23:00

प्रतिकृया दिनुहोस्