मृत्यु शैय्याबाट बौरिदै फेवाताल(फोटो/भिडियो)

फेवातालमा डुङ्गा चलाउँदै आएका तिलक बहादुर नेपालीलाई किनारमा डुङ्गा एकैछिन अड्याउने फुर्सद हुन्थेन। अरु बेला जस्तो सामान्य समय हुन्थ्यो भने। घुमफिरमा आउनेहरुलाई तालबिचको मन्दीरमा पुर्याउने बित्तिकै फेरि मन्दिर पुर्याउनुपर्ने चटारो हुन्थ्यो उनलाई। अहिले फुर्सदीला छन् तिलक। ‘पहिला मान्छे पुर्याउन भ्याईनभ्याई हुन्थ्यो। अहिले मान्छे कुरेर बस्नुपर्छ,’ तिलकले भने।

तिलक जस्तै अरु डुङ्गा चालकको हाल पनि उही छ। दुई महिना घरभित्रै थुनिएर बसेका चालकहरु यही असार २८ गतेदेखि फेरि तालमै फर्किएका छन्। निषेधाज्ञा खुकुलो भएसँगै फेवाताल किनारमा घुम्न आउनेको चहलपहल पनि बढेको छ। तर, अरु ठाउँबाट ताल घुम्न आउनेहरु अहिले छैनन्। आउनेहरु पोखरेलीहरु नै हुन्। फाट्टफुट्ट बाहेक डुङ्गा सयर गर्ने रहर गर्दैनन्।

अहिले डुङ्गा चढ्न छुट दिए पनि मन्दिर छिर्न भने रोकेको छ। डुङ्गामा मन बहलाउन चाहनेहरु बाहेकका यात्री अहिले छैनन्।

फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीले डुङ्गा चल्ने ८ वटै घाट खुला गरे पनि यात्रु नै नआएको बताए। छिटपुट आउने यात्रुहरुलाई १, डेढ घण्टा घुमाएर वारी ल्याइन्छ। समय सामान्य हुन्थ्यो भने यात्रुहरु मनलाग्दी डुङ्गा सयर गर्न पाउथे। अहिले मन्दिर जान पनि रोकेकाले कम मान्छे मात्रै डुङ्गा चढ्ने गरेको उनले बताए।

सवारी चालक, सहचालक, शिक्षकशिक्षिकादेखि उमेर समूह छुट्याएर अहिले खोप कार्यक्रम चलि रहेको छ। बढी जोखिमयुक्त क्षेत्रका मान्छेलाई खोप दिने निर्णयअनुसार सरकारले खोप अभियान चलाई रहेको छ। फेवातालमा चल्ने डुङ्गाामा २५ सय बढी चालक छन्। कुल २५ सय चालकका लागि २५ डोज खोप छुट्याइएको अध्यक्ष नेपालीले सुनाए। 

‘यो त हात्तीका मुखमा जिरा भने जस्तो हो। २५ सय चालक छन्। २५ खोप छुट्याइएको छ,’ उनले व्यंग्य गरे।

प्रकाशित मिति: : 2021-08-11 19:31:00

प्रतिकृया दिनुहोस्