दलहरूको कलह, जनतालाई सास्ती

हिमाल खबर

काठमाडौं

प्रमुख दलभित्रको आन्तरिक किचलो झट्ट हेर्दा सम्बन्धित दलको मात्रै सरोकारको विषय जस्तो देखिए पनि यसले देश र जनतालाई नकारात्मक प्रभाव पारिरहेको छ।

आन्तरिक विवादका कारण संघीय संसद्को सबैभन्दा ठूलो दल नेकपा (एमाले) प्रतिपक्षमा पुगेको छ। अब कुनै चमत्कार भएन भने एमाले एउटै पार्टी रहन सक्दैन।

त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) पनि लगभग फुटिसकेको छ। प्राविधिक रूपमा महन्थ ठाकुर र राजेन्द्र महतो लगायतका नेताहरू जसपामै भए पनि साधारण सदस्य मात्रै छन्। ठाकुरको अध्यक्ष र महतोको वरिष्ठ नेताको पद खोसिएको छ भने उनीहरूसँगै १६ जना केन्द्रीय कार्यकारिणी समिति सदस्य पनि साधारण सदस्यमा झरेका छन्।

नेपाली कांग्रेसभित्र पनि किचलो कम छैन। क्रियाशील सदस्यताको नाममा आन्तरिक विवादका कारण १४औं महाधिवेशनका कार्यक्रम सञ्चालन हुन सकेका छैनन्। वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेताहरूले छुट्टाछुट्टै भेला र छलफल चलाइरहेका छन्। एमाले र जसपा जस्तो फुटकै अवस्थामा त पुगेको छैन, तैपनि आन्तरिक विवादको प्रभाव सत्ता सञ्चालनमा देखिएको छ।

नेकपा (माओवादी केन्द्र)मा तत्काल विभाजन तहको विवाद देखिएको छैन। तर, शान्ति प्रक्रियामा आएयता माओवादी पनि पटक-पटक विभाजित भइसकेको छ।

राजनीतिक दलहरूका आन्तरिक विवाद तथा टुटफुटका विषय नौलो होइनन्। तर, प्रमुख दलहरू विभाजन हुँदा त्यसको मूल्य सम्बन्धित दलले मात्र होइन, सिंगो देशले चुकाउनुपर्छ। दल विभाजनले मुलुकको राजनीतिलाई अवरुद्ध त पार्छ नै, भताभुङ्ग समेत बनाउने गरेको राजनीतिशास्त्रीहरू बताउँछन्। “दलहरूमा विभाजन आयो भने त्यसले समग्र मुलुकको राजनीतिमा नकारात्मक असर गर्छ,” राजनीतिशास्त्री प्रा. कृष्ण पोखरेल भन्छन्।

प्रकाशित मिति: : 2021-08-10 15:32:00

प्रतिकृया दिनुहोस्