डा. चुन्दा बज्राचार्य
नेपाल संवत्का १२ महिनामध्ये श्रावण शुक्ल परेवाबाट सुरु हुने एक महिना बौद्धमार्गीहरू गुंला बाजा बजाई नामसंगीति पाठ गर्दै चैत्य दर्शन गर्ने गर्छन्। यही पूरा एक महिनालाई ‘गुंला’ भनिन्छ। काठमाडौंका नेवार गुंला बाजा बजाउँदै एक महिनासम्म स्वयम्भू महाचैत्य दर्शन गर्न जाने धार्मिक कार्यलाई नै ‘गुंला धर्म’ भन्ने गरिन्छ।
गुंला स्वयम्भू पुराण अनुसार, नेपाल खाल्डो पहिले पानीले भरिएको एउटा पोखरी थियो। यस्तो ठाउँमा विपस्वी बुद्ध आई कमल रोपे। त्यही रोपिएको कमलमा फूल फूलेर त्यसमाथि धर्मधातु ज्योतिरूप स्वयम्भू उत्पत्ति भए। उक्त ज्योति रूपको दर्शन गर्न महाचीनबाट महामञ्जुश्री र उहाँका दुई पत्नी वरदा र मोक्षदा यहाँ आए। मञ्जुश्रीले चोभारको दायाँ र बायाँको पहाडलाई छेदन गरी यहाँ जमेको पानीलाई निकास दिए। र, यहाँ मञ्जुपत्तन नामको सहर बनाए। मञ्जुश्रीले आफ्नी पत्नी वरदालाई राखेको पहाड ‘फूच्व’ र मोक्षदालाई राखेको पहाड ‘धिलाच्व’ नामले प्रसिद्ध भए। यही ज्योतिरूप स्वयम्भूमा महायान धर्मका गुरु शान्तिकराचार्यले महाचैत्य बनाए। शान्तिकराचार्यले स्वयम्भू महाचैत्य निर्माण गर्नुअघि नै यहाँ चैत्य सेवा गर्ने परम्परा रहेको बौद्ध विद्वान बताउँछन्। उहिलेको त्यही चैत्य सेवालाई नै अहिले गुंलाधर्म भनिएको हो।
गुंलालाई पहिलेपहिले गुर्णिला (गुनी महिना) पनि भनिन्थ्यो। गुंला धर्म कसरी आरम्भ भयो भन्नेबारे ‘श्रृंगभेरी अवदान’मा एउटा कथा उल्लेख छ।