गत असार ३० गते पोखराको बगर–१ बस्ने अर्जुनकुमार गुरुङलाई कास्की प्रहरीले पक्राउ गर्यो। गुरुङले लामो समयदेखि लागूऔषध कारोबार तथा बेचबिखन गर्दै आएको प्रहरीलाई सूचना मिल्यो र त्यही सूचनाको आधारमा प्रहरीले उनको पिछा गरेको थियो।
जिल्ला प्रहरी कार्यालय र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले लागू औषध डाईजेपाम ६७०, फेनरागन ६७० र ब्रपिनर्फिन ६७४ एम्पुल सहित उनलाई पक्रेको थियो।
प्रहरीले उनीबाट ठूलो परिमाणमा लागूऔषध बरामद त गरेन तर लागू औषध नियन्त्रणमा ठूलै सफलता हासिल गरेको जनाएको छ । हिरासतमा रहेका गुरुङलाई शोधखोज गर्ने क्रममा प्रहरीलाई अर्को सफलता मिलेको हो।
अनुसन्धानका क्रममा लामो समयदेखि भैरहवा बस्ने ‘रमेश गुप्ता’ नाम गरेका व्यक्तिमार्फत् लागू औषध खरिद गर्ने गरेको पोल खुल्यो। भैरहवा तथा बुटवलबाट विभिन्न व्यक्तिको प्रयोग गरी कास्की र आसपासका जिल्लामा लागूऔषध बिक्री वितरण तथा ओसारपसार भइरहेको प्रहरीले पत्तो पायो।
लागूऔषध कारोबारीको ‘कनेक्सन’ थाहा लागेपछि प्रहरीले ‘रमेश गुप्ता’ लाई पक्राउ गर्नका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले, जिल्ला प्रहरी कार्यालय रूपन्देही तथा रुपन्देहीका ईलाका प्रहरी कार्यालयलाई समेत पत्र पठायो।
कास्की प्रहरीले हुलिया सहितको विवरण रुपन्देही प्रहरी र त्यहाँको इलाका प्रहरी कार्यालयलाई उपलब्ध गराएको थियो।
कास्की प्रहरीको पत्रको आधारमा प्रहरीले लागूऔषध कारोबारी रमेश गुप्ता भनेर चिनिने प्रकाश बानियाँ, सानदेवी पुन र सभादेवी हरिजनलाई पक्राउ गरेको छ।
प्रहरीले बुटवल उपमहानगरपालिका वडा नम्बर २ मैनावगरबाट केही दिन अघि तीनै जनालाई थियो।
गुप्ता रूपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ खजना बस्दैआएका थिए। वास्तविक नाम प्रकाश बानियाँ भए पनि लागूऔषध साम्राज्यमा उनी रमेश गुप्ताको नामले चिनिन्थे। उनीसहित पक्राउ परेकी ४५ वर्षीय सानदेवी पुन बुटवल उपमहानगरपालिका वडा नम्बर २, मैनावगर बस्दै आएकी थिइन्।
नवलपरासी सरवाल गाउँपालिका वडा नम्बर ४ बस्ने ३४ वर्षीया सुभादेवी हरिजन हुन्। लुकाएर ल्याउँदै गरेको लागू औषध फेनरागन ४५७, नुफिन ४६२, सेरीजेट ४७६, नाईट्रोसन ६७५ चक्की र नाईट्रोभ्याट ७० चक्की सहित ३ जनालाई प्रहरीले भेटेको थियो।
यसरी हुन्छ लागूऔषध आपूर्ति
कडा सुरक्षा जाँचबीच पनि लागूऔषध कारोबारीले विभिन्न जुक्ति लगाएर लागूऔषध भारतबाट नेपाल भित्र्याउनेगरेका छन्।
लागूऔषध नेपाल भित्र्याउनकै लागि उनीहरुले अनेक उपाय लगाएका हुन्छन्। सीमा नाकादेखि लागूऔषध नेपाल भित्र्याउन कारोबारीले अपरिचित व्यक्तिलाई समेत प्रयोग गर्नेगरेको खुल्नमा आएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले लागूऔषध कारोबारीले आफूले ल्याएको सामान अन्य व्यक्ति तथा महिलाको प्रयोग गरी प्रहरीको आँखा छल्ने गरेको खुलासा भएको बताए।
‘चिनेको हुँदैन। अपरिचितलाई भेट्यो। ल, मेरो यस्तो ‘इमर्जेन्सी’ आइलाग्यो। यो ब्याग त्यो पसलमा पुर्याइदिनुस् भनेर पनि झुक्याउने गरेको देखिन्छ,’ उनले भने, ‘नपत्याउदो मान्छेलाई प्रयोग गरिन्छ।’
कारोबारीहरु धेरैजसो प्रहरीको चेकपोष्ट छलेर हिँड्ने गर्छन्। नेपाल भित्रिसकेपछि पनि सामान्य महिलाको प्रयोग गरेर ओसारपसार गर्ने गरेको अनुसन्धानको क्रममा खुल्नमा आएको उनले बताए।
सीमा नाकामा खरिद गर्दा दुई सय ५० रुपैयाँ देखि दुई सय ७० सम्ममा पाइए पनि पोखरासम्म आइपुग्दा त्यसको रेट बढेर पाँच सय रुपैयाँसम्म पुग्नेगरेको प्रहरी अनुसन्धानको क्रममा खुलेको छ।
लागूऔषधको एक सेटको मूल्य १५ सय रुपैयाँभन्दा माथि पर्न जान्छ। सुरुआतमा लागूऔषध प्रयोग गर्नेका लागि एक सेटले दुई जनालाई पनि नशा लिन पुग्छ । यसको लत बस्दै गएपछि एम सेट पनि कम हुन्छ।
असार ३० गते पक्राउ परेका लागूऔषध कारोबारी गुरुङले पक्राउ पर्नुअघि २ पटक लागूऔषध झिकाएको प्रहरीलाई बयान दिएका छन्। तीन् पटकमा ५०, ७५ र १०० सेट मगाएको उनले प्रहरी बयानमा भनेका छन्।
लकडाउनको समयमा कम बिक्री हुने डरले उनले थोरै लागूऔषध मगाएको बताएका छन्। उनले लागूऔषध खरिदबापतको तीन लाख ५० हजार रुपैयाँ बुझाइसकेका थिए । अझैं एक लाख ५० हजार रुपैयाँ बुझाउन बाँकी रहेको उनले प्रहरीलाई बयान दिएका छन्।
कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले साथीभाइको लह–लहैमा लाग्दा युवाहरु लागूऔषधको लतमा फस्नेगरेको बताए। देखासिकीबाट नै लागूऔषधको फस्ने उनको भनाइ छ।
बच्चाहरुलाई दुव्र्यसनीबाट बचाउन कास्की प्रहरीले छिट्टै अभियान थाल्ने उनको भनाइ छ। घरघरमै पुगेर परिवारसँगै राखेर सचेतना फैलाउने सोच बनाए पनि लकडाउनका कारण सम्भव नभएको उनले बताए।
लागूऔषधको लतबाट बच्न पहिला परिवारकै हात रहने उनको भनाइ छ।
कारोबारीले रिटेलर मार्फत लागूऔषध बिक्रि गर्ने गर्छन्। उनीहरु सुरक्षित हुनका लागि यस्तो काममा अरुलाई नै प्रयोग गर्ने गर्छन्। यसअघि पनि थुप्रो लागूऔषध कारोबारी पक्राउ परे पनि यसको कनेक्सन बाह्य मुलुकसम्म जोडिएकाले मुद्दामा पर्याप्त प्रमाण पुर्याउन कठिन हुँदैआएको छ।