तेह्रथुमको आठराई गाउँपालिकामा गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बू र लेखापाल सुजन थापाबीच आइतबार दिउँसो मुक्का हानाहान भएको छ। गाउँपालिकाबाट आर्थिक वर्ष २०७७/०७८ को बाँकी रहेको योजनाहरुको भुक्तानीको विषयमा अध्यक्ष लिम्बू र लेखापाल थापा बीच भनाभन चुलिएपछि मुक्का हानहान सम्मको स्थिती भएको बताइएको छ। गाउँपालिकाको कार्यालय परिसरमा भनाभन हुदै गर्दा सुरुमा कस्ले हात हालेको भन्ने खुलेको छैन।
अध्यक्ष र लेखापालबीच भनाभन हुँदैगर्दा हात हालाहालको स्थिती भएको गाउँपालिकाका एक कर्मचारीले बताएका छन्। मुक्का हानाहान सकिएपछि अध्यक्ष र लेखापालले छुट्टाछुट्टै निवेदन ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारमा दिएका छन। दुवैजनाको प्रहरीमा परेको निवेदनमा एकले अर्कोलाई आरोप लगाएको बताइएको छ।
अध्यक्षको निवेदनमा लेखापालले आफुमाथि हातपात गरेको र लेखापालको निवेदनमा अध्यक्षले आफुमाथि हातपात गरेको उल्लेख भएको निवेदन प्रहरीमा आएको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेषकराम थान्दारले जानकारी दिए।
दुवै निवेदनमाथी सोमबार प्रहरीले छलफल गर्ने भएको छ। गाउँपालिकामा अध्यक्ष र लेखापाल बीचको विवाद बढ्दै गएपछि गाउँपालिकाको काम प्रभावित बन्दै गएको छ। गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को करिव २०० योजनाहरुको भुक्तानी हालसम्म गरेको छैन।