‘प्रश्नै प्रश्न छन् यहाँ तर जवाफ छैन’

बुबाआमाको एकै बोली अब के गर्छस्?
दाजुबहिनीको एकै बोली अब के गर्छस्?
साथि भाईको पनि एकै बोली अब के गर्छस्?
आफन्त इष्टमित्रको पनि एकै बोली अब के गर्छस्?
देख्ने चिन्ने समाज भित्रको पनि एकै बोली अब के गर्छस्?

प्रश्नै प्रश्नले आज म थला परेको छु
प्रश्नै प्रश्नले आज म प्रश्नवाचक भई सबैको गला परेको छु।

दिल दिमागको पनि एकै बोली अब के गर्छस्?
हरेक इन्द्रिय इन्द्रियका पनि  एकै बोली अब के गर्छस्?

विद्वान् सन्त-अगस्तीका पनि एकै  बोली, केही गरीस्  या यत्तिकै मरीस्?
सफल हस्तीका पनि एकै बोली, केही गरीस् तँ शिखर नै चढिस् 

प्रश्नै प्रश्न छन् यहाँ तर जवाफ छैन
चारैतिर चकमन्न रात , कङ्काल मात्र देख्छु तर कवाब छैन।

के गर्न सक्छस् , यो ठाऊँको लागि?
के गर्न सक्छस, त्यो गरिबीले हिलोमा भाँसिएको गाउँको लागि?
के  नै गर्न सक्छस् , त्यो उपचार नपाएर धामी झाँक्रीले समेत हार खाई जनता मासिएका क्षेत्रको लागि?
के नै गर्न सक्छस् र ,त्यो परिवर्तनको नाममा जनआन्दोलनमा होमिएर नासिएका नेत्रको लागि?

के गर्न सक्छस्, भोलिका लागि?
के नै गर्न सक्छस्, निमुखाहरुको बोलीका लागि? 

के गर्न सक्छस्, भ्रष्ट्रचारी मौलाएको देशमा?
के नै गर्न सक्छस् , वेरोजगार युवा अवसर नपाएर बौलाएको देशमा ?

के गर्न सक्छस्, माफियाहरुले जरो गाडेको देशमा?
के नै गर्न सक्छस्, योग्य युवाहरुले पाईला छाडेको देशमा?

कस्तो समय यो...
जताततै प्रश्नै प्रश्न मात्र आउने
तर जवाफ कतैबाट नआउने...

के गर्न सक्छस्, कोभिडले गुमाएका आत्माहरुको शान्तिका लागि?
के नै गर्न सक्छस्,  खोप नपाएका मनहरुमा सल्किएको क्रान्तिका लागि?

के गर्न सक्छस्, बलात्कृत चेलीहरुले न्याय नपाएको देशमा? 
के नै गर्न सक्छस्, नातावाद र कृपावादले प्रशासन नै चपाएको देशमा? 

के गर्न सक्छस्, श्रमको उचित कदर नभएको देशमा?
के नै गर्न सक्छस्, जनताको भोट समेत बदर भएको देशमा?

के गर्न सक्छस्, परिवर्तनको निमित्त विपी र मदन नै सदाका लागि लाश भएको देशको? 
के नै गर्न सक्छस् , महिनौं पिच्छे काण्डै काण्ड दुनियाँसामु पर्दाफास भएको देशमा?
के नै गर्न सक्छस् र,  काण्डै काण्डहरु गुपचुपमा मिलाउने निकायहरु नै दास भएको देशमा? 

के गर्न सक्छस् ,सत्ता प्राप्तिका लागि खिच्चातानी चलेको देशमा?
के नै गर्न सक्छस्,  प्रजाप्रति अथाह माया राख्ने श्रीपेच नै ढलेको देशमा?

के गर्न सक्छस् शान्तिको दियोलाई अशान्तिले धोएको देशमा? 
के नै गर्न सक्छस् र , प्राकृतिक विपत्तीले हरपल नेपाल आमा नै रोएको देशमा?

हो...
प्रश्नै प्रश्नले आज म थला परेको छु
प्रश्नै प्रश्नले आज म प्रश्नवाचक भई सबैको गला परेको छु।

प्रकाशित मिति: : 2021-08-07 17:16:00

प्रतिकृया दिनुहोस्