चियामा विषादीको प्रयोगले मानव स्वास्थ्य जोखिममा

थाहा खबर

काठमाडौँ

 चिया क्षेत्रमा प्रतिबन्धित मानव स्वास्थ्यको लागि घातक औषधिको प्रयोग बढ्दै गएपछि राष्ट्रिय चिया तथा कफी विकास बोर्डले अनुगमन थालेको छ।

सूर्योदय नगरपालिका–७ मा रहेको कन्याम चिया बगान क्षेत्रमा हरेक वर्ष विषादीको प्रयोग बढी हुँदा खानेपानीका मुहानमा पुग्ने र मानव स्वास्थ्यमा असर भएको गुनासो हुँदै आएपछि बोर्डले अनुगमन थालेको हो।

बोर्डका कार्यकारी निर्देशक डा. बिष्णु भट्टराईको नेतृत्वमा जनप्रनिधिसहितको टोलीले कन्याम चिया बगानमा अनुगमन गरेको जानकारी दिए। चिया बगानमा विभिन्न रोग र संक्रमण घटाउने बहानामा मानव स्वास्थ्यका दृष्टिले निकै घातक मानिएका विषादीहरू किसान र व्यवसायीले खुलेआम प्रयोग भएपछि बोर्डले चासोका साथ हेरेको छ।

विश्व स्वास्थ्य संगठनले सन् २००४ मा मानव स्वास्थ्यका लागि हानिकारक मानिने इथियन, मोनोक्रोटोफस, सुफोसजस्ता विषादी पूर्णरूपमा प्रतिबन्ध लगाए पनि तिनै विषादीको बगानमा प्रयोग हुने गरेको भटराईले बताए।

यस्ता विषादी नेपाल सरकारले नेपालमा रोक लगाए पनि भारतसँगको खुल्ला नाकाको फाइदा उठाउँदै अवैध बाटोबाट भित्रिने गरेका छन्। अव्यवस्थित रुपमा विषादीको प्रयोगले काम गर्ने मजदूरको स्वास्थ्यमा पनि गम्भीर असर देखिन थालेको गुनासो बढेको छ।

प्रकाशित मिति: : 2021-08-07 17:09:00

प्रतिकृया दिनुहोस्