तरे संसार घुमिआम्ला, झरे माछा भइजाम्ला

साउन १५ गते एउटा समाचार आयो, ‘वैदेशिक रोजगारीका लागि काठमाडौं आउने क्रममा महाकाली तर्दातर्दै भारतीय एसएसबीले तुइन काटिदिएपछि दार्चुलास्थित व्यास–२ का ३३ वर्षीय जयसिंह धामी महाकालीमा बेपत्ता।’ घटनास्थलमै नभए पनि त्यो समाचार पढेपछि मन–मस्तिष्कमा थुप्रै दृश्यहरूले एकसाथ प्रहार गर्‍यो– नेपालको भौगोलिक विकटता, रोजगारीका लागि बिदेसिनुपर्ने बाध्यता, भारतीय एसएसबीको क्रूरता, चुच्चे नक्सा अनि नेपाली राष्ट्रवाद। मन–मस्तिष्क खलबलाइदिने त्यो समाचारबाट आक्रोशित भइरहेकै वेला कवि श्रवण मुकारुङको गीत सामाजिक सञ्जालमा पढेँ। उनको गीतले भन्छ :

‘तुइन समाई गइजाम्ला
तरे संसार घुमिआम्ला
झरे माछा भइजाम्ला’

यो गीत सुनेपछि झन् मन थाम्नै सकिनँ। घटनाका प्रत्यक्षदर्शी र बयान दिइरहेका कल्याणसिंह धामीका भनाइहरूले पनि झस्काइरह्यो। २१ वर्षदेखि तुइन सञ्चालन गर्दै आएका कल्याणसिंह धामी त्यस दिन जयसिंह धामीलाई तुइन तार्दै थिए। भारतीय एसएसबीको समूहले तुइनको डोरी काट्न थाले। कल्याणसिंह धामीले मान्छे तर्दै छ भनेर कराए– इसारा गरे। तर, सुने पनि नसुने झैँ गरी जयसिंह धामीले नदी तरिनसक्दै, एसएसबीले तुइनको डोरी काटिदिए। कल्याणसिंहका अनुसार नेपालले चुच्चे नक्सा निकालेपछि भारतीय सुरक्षाफौजले घरिघरि तुइन काटिदिने गथ्र्यो। तर, मान्छे भएकै वेला काटिदेला भनेर उनले सोचेका पनि थिएनन्। 

प्रकाशित मिति: : 2021-08-07 15:11:00

प्रतिकृया दिनुहोस्