नागरिकमा आशा र उत्साह जगाउनु कुनै पनि सरकारको सबैभन्दा महìवपूर्ण काम हो। जनता नै राष्ट्रका सबैभन्दा अमूल्य साधन हुन्। आशा र उत्साहले स्वयं नागरिकको अपेक्षा पूरा गर्ने मार्ग प्रशस्त हुन्छ। राज्य सञ्चालनको वैधता पुष्टि गर्न र समृद्धिको यात्रा तय गर्न नागरिक आशाले ऊर्जाको आधार दिने गर्छ। सन् साठीको दशकमा अभाव र अस्थिरतामा रुमलिएको सिङ्गापुरका जनतामा राष्ट्रपति लीले आशा जगाएका थिए। त्यसैको जगमा सिङ्गापुर आजको अवस्थामा आपुगेको छ। कोरियाली युद्धको परिणामपछि विभाजित दक्षिण कोरियाली जनतामा व्याप्त निराशालाई राष्ट्रपति पार्कले यही दशकमा आशामा परिणत गरेका थिए।
अमेरिकामाथि कसले प्रभुत्व कायम गर्ने भन्नेमा युरोपीयनहरू अमेरिकी भूमिमै युद्ध गर्थे। तत्कालीन तेह्र राज्यका तर्फबाट थोमस जेफर्सन, बेञ्जामिन फ्रेङ्कलिन, जोहन आदम्सको समूहबाट १७७६ को जुलाईमा ‘जीवन, स्वतन्त्रता र खुसी’ को घोषणा गरियो। इतिहासको कालखण्डमा विपत्ति, पीडा र शोषण सहेका अमेरिकीहरूको यस घोषणामार्फत ‘संयुक्त राज्य’ को साझा शक्ति बन्यो। उदाहरणमा लिइएका यी मुलुकहरूले इतिहासको कालखण्डमा भोगिएको पीडा र अभावविरुद्धमा अदम्य साहस देखाए, जुन आशाको जगमा अहिले पनि समृद्धिको अनवरत उत्साहमा छन्। नागरिकलाई त्यहाँको राज्य प्रणालीप्रति औधी गर्व छ। यी मुलुकले अरू मुलुकलाई पनि उत्पीडन र अभावबाट आशा जगाई नागरिक गर्व कसरी स्थापित गर्न सकिन्छ भन्ने शिक्षा दिइरहेका छन्।